भर्खरै :

‘आर्थिक नाटो’ को एसियामा कुनै बजार छैन

‘आर्थिक नाटो’ को एसियामा कुनै बजार छैन

वाल स्ट्रीट जर्नलमा प्रकाशित भर्खरैको लेखमा, जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले अब ‘पेइचिङको आर्थिक रणनीतिको सामना गरेर चीनलाई अझ एक्लो पार्ने’ समय आएको बताए । उनले अमेरिका र उसका सहयोगीहरूले चीनको ‘आर्थिक जबरजस्ती’ विरुद्ध संयुक्त मोर्चा प्रस्तुत गर्न आर्थिकरूपमा नाटोको बराबरको गठबन्धन बनाउनुपर्छ भन्ने प्रस्ताव गरे । संयोगवश, इमानुएलको प्रस्ताव यस्तो समयमा आयो जब जापानका नयाँ प्रधानमन्त्री शिगेरु इसिबाले एसियामा सामूहिक आत्मरक्षा प्रणालीको निर्माणको लागि गरेको आह्वानले ‘एसियाली नाटो’ पहिले नै हेडलाइन बनाइसकेको थियो ।
के त्यहाँ इमानुएलको प्रस्तावित आर्थिक गठबन्धन र इशिबाको सुरक्षाकेन्द्रित ‘एसियाली नाटो’ साकार हुने कुनै सम्भावना छ ? मेरो विचारमा, ती दुई विचारहरूमध्ये कुनै एकलाई पनि साकार पार्ने सम्भावना अत्यन्त कम छ । अझ स्पष्टरूपमा भन्नुपर्दा, सुरक्षाकेन्द्रित ‘एसियाली नाटो’ स्थापना गर्नु पहिले नै गा¥हो छ, विशेषगरी एसियामा ‘आर्थिक नाटो’ स्थापना गर्नु अझ कम सम्भव छ ।
‘आर्थिक नाटो’ को विचार न त आर्थिक भूमण्डलीकरणको समग्र प्रवृतिसँग मेल खान्छ, न आर्थिक विकासका सिद्धान्तहरूसँग मेल खान्छ । यसबाहेक, यसले एसियाको आर्थिक र सामाजिक विकासको वर्तमान वास्तविकतालाई बेवास्ता गर्दछ । यो केही अमेरिकी राजनीतिज्ञहरूले राजनीतिक ध्यान खिच्न र राजनीतिक फाइदा उठाउनको लागि अगाडि सारेको आकर्षक नाराबाहेक अरू केही होइन । यो निम्न प्रमुख क्षेत्रहरूमा देख्न सकिन्छ :
पहिलो, हालको विश्वव्यापी अवस्था विशेषगरी सुरक्षाको सन्दर्भमा, महत्वपूर्ण परिवर्तनहरू भए तापनि आर्थिक भूमण्डलीकरणको आधारभूत प्रवृत्ति अपरिवर्तित छ । संरा अमेरिका र जापानलगायत लगभग सबै देशका लागि आर्थिक वृद्धि कायम राख्नु र जनताको जीवनस्तरमा सुधार सुनिश्चित गर्नु अझै पनि सबैभन्दा महत्वपूर्ण विषय र कार्यहरू हुन् । विश्व व्यापारमा विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनको भूमिका निर्विवाद छ । धेरै देशहरूका लागि, विशेषगरी एसियामा, चीन उनीहरूको सबैभन्दा ठुलो व्यापार साझेदार हो । चीनको विकास र स्थिरतालाई खतराको रूपमा नभई सहयोग र पारस्परिक लाभको बहुमूल्य अवसरको रूपमा हेरिएको छ ।
दोस्रो, एसियाको समग्र अवस्था अमेरिका र युरोपमा दोस्रो विश्वयुद्धपछिको गठबन्धन प्रणालीभन्दा निकै फरक छ । सुरक्षा र अर्थतन्त्रको हिसाबले युरोप अमेरिकामाथि धेरै निर्भर भएको छ, जसले यसको स्वायत्तता घटाएको छ । यसको विपरीत, एसियामा आर्थिक विकासका स्तरहरू क्षेत्रभरि व्यापकरूपमा भिन्न छन्, जबकि नाटोसित स्वायत्तताको बलियो भावना छ र नाटोले कुनै पनि अन्य देशले निर्धारण गरेको व्यवस्थालाई पालन गर्दैन । उदाहरणको लागि, इन्डोनेसियाका केही सञ्चारमाध्यमहरूले ‘एसियाली नाटो’ को लागि इशिबाको प्रस्तावको विरुद्धमा खुलारूपमा आफ्नो विरोधको आवाज उठाएका छन्, जसले एसियाली राष्ट्रहरूबिचको स्वायत्तताको लागि बलियो आग्रहलाई जोड दिन्छ ।
तेस्रो, संरा अमेरिका र जापानजस्ता देशको आर्थिक विकास चीनसँग जोडिएको छ । नाटोको आर्थिक संस्करण सिर्जना गर्नु आत्म–पराजय हुनेछ, आफैलाई थप हानि पु¥याउनेछ । तथ्याङ्कअनुसार सन् २०२३ मा संरा अमेरिकासँग चीनको वैदेशिक व्यापार ६६४.५ अर्ब डलर थियो । यसैबिच, २०२३ मा चीन–जापान द्विपक्षीय व्यापार कुल ३१८ अर्ब अमेरिकी डलर थियो, जापान चीनको दोस्रो ठुलो व्यापारिक साझेदार हो । यसले स्पष्टरूपमा देखाउँछ कि ‘आर्थिक नाटो’ को अवधारणा यसको सम्भाव्यताभन्दा राजनीतिक शुद्धतामा बढी छ ।
अन्तमा, आफ्नो आर्थिक विकासले केही चुनौतीहरूको सामना गरेको भए पनि चीनले यी समस्याहरूबारे पूर्णरूपमा सचेतमात्र नभएर अर्थतन्त्रलाई प्रवद्र्धन गर्न विभिन्न उपायहरू अपनाउँदै तिनलाई सम्बोधन पनि गरिरहेको छ । चीनले उल्लेखनीयरूपमा आफ्नो सुधार र खुलापनलाई अझ गहिरो बनाउँदै, बजार जीवन शक्ति र कानुनको शासनलाई सुदृढ गर्दै र व्यापार वातावरण सुधार गर्न प्रयास गरिरहेको छ । जबसम्म चीन विकासको सही दिशामा अघि बढिरहन्छ, कुनै पनि देश वा गठबन्धनले यसको प्रगतिलाई रोक्न वा छेक्न सक्दैन ।
सहयोगले पारस्परिक लाभतिर डो¥याउँछ, जबकि टकरावले हार–हारको अवस्था निम्त्याउँछ । नाटोले युरोपमा शान्ति ल्याएको छैन† बरु यसले द्वन्द्व, भिडन्त र युद्ध निम्त्याएको छ । एसिया युरोप होइन, एसियाली देशहरूले शान्ति र विकास खोजेका छन्, टकराव र द्वन्द्व होइन । तसर्थ, नाटोको आर्थिक संस्करण स्थापना गर्ने विचारले तरङ्ग सिर्जना गर्न सक्छ, तर यो वास्तविकता बन्न असम्भव छ, निश्चितरूपमा एसियामा होइन ।
(लेखक साङ्घाई विश्वविद्यालय फर साइन्स एन्ड टेक्नोलोजीको कलेज अफ फरेन ल्याङ्ग्वेजमा अन्तर्राष्ट्रिय राजनीति र चीन–जापान सम्बन्धका विद्वान् हुनुहुन्छ ।)

– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *