भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको तीन वर्ष कार्यकाल पूरा
- जेष्ठ ७, २०८२
तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार । यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाइका परिकार खुवाउने गरिन्छ । यस पर्वको महत्व नै भाइपूजा हो । भाइपूजामा टीका लगाउने, पूजा गर्ने एकदमै राम्रो चलन जोगाउनुपर्छ ।
तर, यो पर्व मनाउँदै गर्दा अहिले आएका विकृतिलाई भने कम गर्नुपर्छ । भाइमसलासँग दिइने मिठाइहरू अस्वस्थकर हुन सक्छन् । मिठाइहरू कस्तो तरिकाले बनाइएको हुन्छ, थाहा हुँदैन । कस्तो तेल प्रयोग गरिएको हुन्छ, थाहा हुँदैन ।
बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ, जसले शरीरलाई हानि पु¥याउँछ । त्यसले मुटुमा एकदमै धेरै समस्या उत्पन्न गर्छ । मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरूमा झन् समस्या थपिन सक्छ ।
त्यसकारण, यस किसिमका मिठाइजन्य पदार्थले दाजुभाइको स्वास्थ्यमा नै असर पर्ने गर्छ ।
सबैलाई स्वास्थकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरौँ, दाजुभाइलाई माया गर्ने हो भने साधारण मिठाइहरू त घरमा नै बनाउन सकिन्छ । सेलरोटी सेल, पुरी, हलुवा, मखनाजस्ता घरमा नै बनाउन सकिने खानेकुरा प्रयोग गर्नुपर्छ ।
तिहारको ड्राइफुड्सका विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गर्न सकिन्छ । यिनीहरू स्वास्थवद्र्धक खानेकुरा हुन् । तर, यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन । थोरैथोरै हरेक दिन खाने गरेमा धेरै राम्रो हुन्छ ।
यिनीहरूमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ । यस्तो खानेकुराको प्रयोग हामीले हलुवा, खिरमा मिसाएर पनि खान सकिन्छ । यसको प्रयोगले खानेकुरा मिठो र स्वास्थ्यवद्र्धक हुन्छ ।
बाहिरबाट ल्याइएका प्याकेटका खानेकुराले दाजुभाइलाई माया दर्साएको हुँदैन ।
यसले दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ । यस्ता खानेकुरा ल्याएर दाजुभाइलाई माया गरेको नभन्नुस् । हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको लागि मनाउँछौँ । त्यसैले उनीहरूको स्वास्थ्यको ख्याल राख्नु दिदीबहिनीको कर्तव्य हो ।
बट्टाका जुसहरूमा एकदमै धेरै चिनीको मात्रा हुन्छ । अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरूलाई विभिन्न किसिमका समस्या आइपरेका छन् । त्यसमाथि मधुमेहका बिरामीलाई त झनै समस्या हुन्छ ।
चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रुपमा खानुहुँदैन । खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो । हरेक खानेकुरा समयमा खानाले स्वस्थ भई चाड मनाउन सकिन्छ ।
चाडपर्वमा आफन्तजनसँगको भेटघाटलगायत विभिन्न कारण हाम्रो खाने समयको रुटिन बिग्रिन्छ । केही दिन रुटिन बिग्रिँदा स्वस्थ युवाको स्वास्थ्यमा केही असर पर्दैन ।
तर रोगी, वृद्ध र बालबालिकाको स्वास्थ्यमा यसले प्रतिकूल असर पार्न सक्ने हुँदा यसमा सचेत हुनुपर्छ ।
यस्तै चाडबाडमा हामी बाहिरको मिठाइ कोसेली लिने र दिने गर्छौँ । सकभर बाहिरको मिठाइ खानु हुँदैन । बिरामीलाई त यसले असर गर्छ नै स्वस्थ व्यक्तिलाई पनि यसले अस्वस्थताको बाटोमा लैजान्छ । हामी घरमै चिनी कम हालेर मिठाइ बनाएर खान सक्छौँ ।
अलिकति चिल्लो पदार्थ त हाम्रो शरीरलाई चाहिन्छ नै । तर बढी चिल्लो खानुहुँदैन । सेल, पुरी कम खानुपर्छ । विवेकपूर्ण तरिकाले तिहार मनाउन सकिन्छ, जसले गर्दा पछि शारीरिक कठिनाइहरूको सामना गर्नुपर्दैन र चाडपर्वपछि पनि स्वस्थ भई रमाउन सकिन्छ ।
Leave a Reply