भर्खरै :

गणेश माविको ‘सी’ ब्लकको भवन शिलान्यास

भक्तपुर, ८ माघ । बसन्त पञ्चमी अर्थात् अक्षर शुभारम्भका दिन गणेश माविको ‘सी’ ब्लकको भवन शिलान्यास कार्यक्रम सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका सल्लाहकार एवं संस्थापक सदस्य लक्ष्मीभक्त खत्रीज्यूबाट जग पूजा गरी शिलान्यास गरियो ।
पूजाआजापछि भएको औपचारिक कार्यक्रममा विद्यालयका स्थापना गर्दाको औचित्यता र अनुभव सुनाउनुभयो । कार्यक्रम नेमकिपा भक्तपुर नगर समितिका पूर्व अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति सदस्य रविन्द्र खर्बुजाले शिक्षाले समाज परिवर्तन गर्न सहयोग हुने भएकोले नेमकिपाले शिक्षामा जोड दिई विद्यालय स्थापना गर्न अग्रसर रहँदै आएको बताउनुभयो । शिक्षा क्षेत्रमा पछि परेको भक्तपुरको उत्थानको लागि टोलटोलका पाटी, सत्तल, द्योछेंमा कठिन संघर्ष गरी विद्यालय स्थापना स्वीकृति लिन सफल भएको खर्बुजाले बताउनुभयो ।
त्यसैको जगको आधारमा आज ख्वप कलेजलगायत नयाँ कलेज स्थापना गर्न सफल भएको उहाँको तर्क थियो । भक्तपुर नगरपालिका ख्वप विश्व विद्यालय सञ्चालन गर्न सक्षम हुँदा पनि सरकारले स्वीकृति नदिएको र त्यसको लागि पार्टीले निरन्तर संघर्ष गरिरहने उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर दुगुजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा वडा नं १ का प्रतिनिधि श्याम सुन्दर बाटी, बासु माविका प्राचार्य अम्बिका न्याईच्याई र गणेशराम थुसाले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद याकामीले स्वागत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *