भर्खरै :

शोषणमा आधारित पुँजीवादी व्यवस्था बदल्नु आवश्यक

शोषणमा आधारित पुँजीवादी व्यवस्था बदल्नु आवश्यक

समय गतिशील छ । परिवर्तन अवश्यम्भावी छ । समयको गतिसँगै हुने परिवर्तनलाई कसैले रोक्न सक्दैन । तर, आमूल परिवर्तन सजिलो छैन । आमूल परिवर्तन गर्न समय लाग्छ; त्यो कसैले चाहेर या हतारिएर हुने होइन । माओवादीको ‘जनयुद्ध’ असफल हुनुको कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति तयार नहुनु हो । त्यो आन्दोलन बलिदानमा टुङ्गियो; माओवादी सरकारसामु झुक्नुप¥यो । अन्ततः ‘जनयुद्ध’ छेडेको माओवादीले क्रान्तिकारी बाटो नै छोड्यो । शोषणमा आधारित पुँजीवादी व्यवस्था श्रमजीवी जनता या बहुमत जनताको निम्ति उपयुक्त नभएको कुरा जनता बुझ्दै छन्; यो व्यवस्थाले मजदुर–किसान वर्गको हित हुँदैन भन्ने कुरा थाहा पाउँदै छन् । लोकतान्त्रिक पँुजीवादले बहुमत जनताको अहितमा काम गर्छ भन्ने कुरा छर्लङ्ग छ । समाजवादउन्मुख अवधारणाअनुसार काम नहुनु यसको दृष्टान्त हो ।
पुँजीवादी व्यवस्थाका हिमायतीहरू, लेखक तथा बुद्धिजीवीहरू नेपालमा समाजवाद असम्भव ठान्छन् । समाजवादउन्मुख आर्थिक संरचना देखावटी मात्र भयो; कार्यान्वयन भएन भन्ने पक्ष पनि छ । सरकारको नेतृत्व गर्ने दलहरू पुँजीपतिवर्गको पक्षपोषणमा लागेको हुँदा समाजवादउन्मुखको अवधारणालाई व्यवहारमा लागु गर्न सरकारी नीति तथा कार्यक्रम नल्याएको अर्कोथरीको मत छ । स्पष्ट छ, पुँजीवादी गणतन्त्रप्रति बहुमत जनताको विश्वास छैन । चुनावमा मत प्राप्त गरेको आधार नै आफ्नो दलप्रति जनताको विश्वास होइन । पुँजीवादी निर्वाचनमा शासकहरूले जनताको मत लिन पैसा बाँडेका हुन्छन्; जागिरको लोभ देखाएका हुन्छन्; आश्वासन बाँडेका हुन्छन्; धाकधम्की दिएका हुन्छन् । निर्वाचनमा दलले प्राप्त गरेको मत सबै सैद्धान्तिक हुँदैन । तर, कति दलले सिद्धान्त र विचारको आधारमा मत लिएको हुन्छ; त्यस्तो दलले कुनै लोभलालच देखाउँदैन । यो सकारात्मक पक्ष हो ।
कम्युनिस्ट भनिने ठुला दलहरू सिद्धान्त र विचार छोडेर सरकारमा गए; उनीहरूले पुँजीवादी बाटो लिए भनेर निरास हुनु हुँदैन । ठुला भनिने कम्युनिस्ट पार्टीहरू पुँजीवादी बाटोमा लागेपछि देशमा समाजवाद असम्भव छ; त्यो दिवास्वप्नमात्र हो; समाजवादी व्यवस्था ‘मृगमरीचिकाको व्यापार’ भनेर झूट फलाकेर हिँड्नु कुनै पनि लेखक, बुद्धिजीवी र राजनीतिज्ञहरूलाई सुहाउँदैन । साँच्चै कम्युनिस्ट भन्ने सबै दलहरू कम्युनिस्टको सिद्धान्त र विचारअनुसार अघि बढे, समाजवादी गणतन्त्र स्थापना गर्न गााउँबस्तीमा जनजागरण अभियान पु¥याएको भए समाजमा परिवर्तन ल्याउन लामो समय लाग्दैन । कम्युनिस्ट दलहरू सत्तामा भुल्नु हुँदैन; सरकारको नेतृत्व गर्न पाउँदैमा माक्र्सवाद र लेनिनवाद भुल्नु हुँदैन । सत्तासीन कम्युनिस्टहरूको यही सत्तामुखी र भागबन्डाको राजनीतिले कम्युनिस्ट पार्टीको आन्दोलन अघि नबढेको हो; कम्युनिस्ट पार्टी कमजोर भएको हो ।
अस्थिर राजनीति, बढ्दो भ्रष्टाचार, भनसुनको प्रवृत्ति, विदेश पलायन, रोजगारीको कमी, राजनीतिक अदूरदर्शिता, सेवा प्रवाहमा झन्झट, प्रतिबद्धता कार्यान्वयन नगर्ने प्रवृत्तिले गर्दा नेपालमा राजनीतिले गति लिन नसकेको हो । देश विकास र जनताको जीवनस्तर उठाउने जिम्मेवारी बोकेको सरकार या सत्तासीन दलहरू किंकर्तव्यविमूढ भए । सत्तासीन दलका नेताहरू जिम्मेवार हुनुपर्ने हो; असल नेतृत्वको विकास गरेर सुशासन दिनुपर्ने हो; विधिको शासन आत्मसात गर्नुपर्ने हो । सत्ता र सरकारी संयन्त्रमा बसेका प्रत्येक जिम्मेवार व्यक्तिले पदअनुसार इमानदारीपूर्वक काम गर्नुपर्ने हो; जिम्मेवारबोध भएर अघि बढ्नुपर्ने हो । सरकार बदलियो । सरकारको नेतृत्व फेरियो । तर, आचरण बदलिएन या सिद्धान्त तथा विचारमा खिया लाग्यो । निरङ्कुश पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था हुँदै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि शासकहरूको विचार बदलिएन; देश र जनताप्रति जिम्मेवार भएन; बहुमत जनताको निम्ति सेवा गर्नुपर्छ भन्ने भावना भएन ।
राज्यले स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यकताअनुसार उद्योग तथा कलकारखाना खोल्नुपर्छ । यसले बढ्दै गएको विदेशी मोह घट्छ । स्वदेशमै व्यवसाय र रोजगारी गर्न सक्ने अनुकूल वातावरण तयार भए, ज्यानको बाजी राखेर युवाहरू किन विदेश पलायन हुन्छन् ? राज्यले दक्ष जनशक्ति उत्पादन गर्न, गरिखाने वर्गको जनशक्ति उत्पादन गर्न शिक्षालाई श्रम उत्पादनसँग जोड्नुपर्छ; व्यावसायिक सीप र उच्च शिक्षा समय सापेक्ष बनाउनुपर्छ । सन्तुलित विकास गर्नुपर्छ । जनताको नजिक रहेर सेवा प्रवाह गर्नुपर्छ । योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त भए; स्वदेशमै कामको सुनिश्चित भए युवाहरूलाई विदेश जानुपर्ने बाध्यता हुँदैन; विदेश मोहको हावाले छुँदैन । विदेश विदेश भनेर मातृभूमि भुल्ने, नेपाल आमाको छातीमा लात मार्ने काम कुनै नेपालीबाट हुनुहुँदैन । आफ्नो श्रम, समय र सीप आफ्नै भूमिमा खन्याउनुपर्छ । आफूले आयआर्जन गरेको बुद्धि र विवेक विदेशमा पोखेर नेपालको कसरी विकास हुन्छ ? नेपालको लागि आवश्यक जनशक्ति कसरी तयार हुन्छ ? नेपाल कसरी समृद्ध र नेपाली कसरी सुखी हुन्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *