भर्खरै :

ब्याज खाई पल्टेको फ्रान्स

ब्याज खाई पल्टेको फ्रान्स

१९ औँ शताब्दीको सातौँ दशकमा औद्योगिक उत्पादनको आकारमा फ्रान्स बेलायतपछि दोस्रो स्थानमा थियो । त्यतिबेला फ्रान्ससँग पूर्वी सीमा जोडिएको जर्मनीलाई प्रसिया भनिन्थ्यो । फ्रान्स–प्रसिया युद्धपछि फ्रान्सको औद्योगिक विकासको गति मन्द भयो । त्यसका निम्न कारण थिए :
१) जर्मनीसँगको लडाइँमा फ्रान्स हार्नु र लोरेन (Lorraine) प्रान्तको काँचो फलामको ठुलो खनिज सम्पदा जर्मनीको हातमा पर्नु;
२) क्षतिपूर्ति वा युद्धको हर्जानाको रूपमा फ्रान्स जर्मनीलाई छोटो समयमै ५ अर्ब तिर्न बाध्य हुनु;
३) कोइलाको कमी हुनु;
४) औद्योगिक सामान किन्ने स–साना र मध्यम किसानहरू सा¥है गरिब हुँदा सामान किन्न नसक्ने हुनु अर्थात् क्रयशक्ति घट्नु र
५) फ्रान्सको बजार साँघुरिंँदै जानु ।
उद्योगमा आएको ह्रासका कारण फ्रान्सेली पुँजीपतिवर्ग फ्रान्सकै औद्योगिक व्यवसायहरूमा पुँजी लगानी गर्न अनिच्छुक देखियो । त्यसको सट्टा चर्को नाफा आउने अन्य देशमा लगानी गर्दै गयो । त्यसकारण, २० औँ शताब्दीको सुरूमा कच्चा फलामको उत्पादनमा फ्रान्स जर्मनीको तुलनामा एकतिहाइ र संरा अमेरिकाको तुलनामा ६ भागको १ भागमा मात्रै केन्द्रित रह्यो । २० औँ शताब्दीको प्रारम्भमा भारी उद्योगको विकासमा अलि तीव्रता आयो ।

ब्याज खाने चरित्र
१९ औँ शताब्दीको अन्त्यमा अन्य युरोपेली देशजस्तै फ्रान्स पनि साम्राज्यवादी चरणमा प्रवेश गर्यो । जर्मनी र बेलायतमा जस्तै फ्रान्सेली पुँजीवादले पुनः एक–एक पाइला गर्दै एकाधिकारवादी चरित्र ग्रहण गर्यो । पहिलो एकाधिकार भारी उद्योगमा देखापर्यो । सबभन्दा ठुलो उद्योग श्नाइडर क्रुजो (Schneider Creusot) कम्पनी थियो । यो कम्पनीले फलाम, इस्पात र हातहतियार बनाउँथ्यो ।
लेनिनले फ्रान्सेली साम्राज्यवादलाई ‘बेलायती औपनिवेशिक साम्राज्यवादभन्दा फरक ब्याज खाने साम्राज्यवादको रूप भन्न सकिन्छ’ भन्नुभयो । (लेनिन, सङ्कलित रचना, भाग २२, पाना २३१)
२० औँ शताब्दीको सुरूमा पुँजी निर्यातका हिसाबले संसारमा पहिलो स्थान बेलायतको थियो भने दोस्रो स्थान फ्रान्सको थियो ।
फ्रान्सले खासगरी रूस, बाल्कन क्षेत्रका देश, टर्की र स्पेनलगायत आफ्ना उपनिवेशहरूमा पुँजी निर्यात गरेको थियो । फ्रान्सेली पुँजी धेरैजसो ती देशमा सरकारी ऋण दिने र फ्रान्सेली बैङ्कमार्फत एकतर्फी सम्झौता गरी ब्याज असुल्ने ढङ्गले लगानी हुन्थ्यो । ऋणलाई फ्रान्स सरकारले भविष्यमा हुने सैनिक भिडन्तमा मित्रता सुरक्षित गर्ने उपायको रूपमा प्रयोग गथ्र्याे ।
फ्रान्सेली पुँजी संसारलाई ऋण दिने महाजनको रूपमा सुरू भयो । फ्रान्समा (वित्तीय) वा बैङ्क पुँजी सबभन्दा उँचो स्तरमा केन्द्रित भयो । देशको सारा पुँजीको ७० प्रतिशत पेरिसका तीनओटा सबभन्दा ठुला बैङ्कमा सञ्चित थियो ।
बैङ्कको प्रभावले पुँजीको अंश उद्योगमा लगानी गरियो । बैङ्क, ठुला उद्योग र यातायात व्यवसायबिच घनिष्ठ सम्बन्ध जोडियो । फ्रान्सेली बैङ्कका प्रमुखहरूसँगै बैङ्कपति, रेलमार्गका मालिक तथा फलाम, इस्पात र अन्य उद्योगका स्वामीहरू एकै ठाउँ आए ।
फ्रान्सेली पुँजीपतिवर्गका ठालूहरू देश–परदेशमा गर्ने पुँजी लगानीको ब्याजमा बाँच्थे । पुँजी लगानीको ब्याज वा सेयर, ऋण, धितोपत्र (Shares, Lones, Securities) मा बाँच्ने पुँजीपतिहरूलाई सुदखोर, ब्याज खन्चुवा वा महाजन (Renteir) भनिन्थ्यो । फ्रान्समा त्यस्ता साहुमहाजन असङ्ख्य थिए । त्यस्ता व्यक्तिले उद्योगमा कुनै किसिमको सङ्गठनात्मक र प्राविधिक भूमिका खेल्दैनथे । तिनीहरू पूरै परजीवी जीवन बिताउँथे ।
जर्मनी र बेलायतमा भन्दा फ्रान्समा ठुलठुला व्यवसायमा त्यसखाले साहुमहाजनको सङ्ख्या अचाक्ली थियो । फ्रान्सको जनसङ्ख्याको धेरै ठुलो भाग साना उद्यमीको थियो । यो सङ्ख्या पश्चिमी युरोपका अन्य देशको भन्दा बढी थियो । १९ औँ शताब्दीको अन्त्यमा फ्रान्सको औद्योगिक उद्यममध्ये ९४ प्रतिशत साना उद्यम थिए । तिनले १ देखि १० जनासम्म काम गर्ने मजदुर राख्थे । धेरैजसो मजदुर लुगा र टोपी बनाउने, सुनचाँदीका गहना बनाउने, उत्तम दर्जाका मेच–टेबल, दराज आदि बनाउने र धनीहरूको निम्ति कलात्मक सामान बनाउने हस्तकलाका ज्यासलहरूमा काम गर्थे ।
पहिलो विश्वयुद्धको समयमा औद्योगिक विकासका हिसाबले फ्रान्स ठुला पुँजीवादी देशभन्दा धेरै पछाडि थियो ।
१९ औँ शताब्दीको अन्त्य र २० औँ शताब्दीको आरम्भमा फ्रान्सेली अर्थतन्त्रको चरित्र यसप्रकार थियो :
१) औद्योगिक विकास ढिलो थियो ।
२) पुँजीको निर्यातले बढ्दो भूमिका खेल्दै थियो ।
३) बैङ्क पुँजीको शक्ति बढ्दै थियो ।
४) ब्याज खाने साहुमहाजनको सङ्ख्या ठुलो थियो ।
५) कृषि तुलनात्मकरूपले पिछडिएको थियो ।
कृषिको अवस्था
१९ औँ शताब्दीको अन्त्यतिर बहुमत फ्रान्सेली जनता कृषिमा संलग्न थिए । साना किसानहरू सङ्ख्यात्मक हिसाबले बढी थिए । खेतीयोग्य भूमिमध्ये ७५ प्रतिशत खेत धनी किसान र ठुलठुला भूमिपतिहरूको हातमा थियो । साना किसानहरूको टुक्राटुक्री खेतमा आधुनिक यन्त्र वा मेसिनहरू प्रयोग गर्न सकिँदैनथे । यसकारण, तिनीहरू आफ्ना खेतमा पुरानै परम्परागत ज्यावल प्रयोग गर्थे । बाली वा उब्जनी सानो र थोरै हुन्थ्यो । त्यसबाट किसानको आवश्यकता पूरा हुन सक्दैनथ्यो । चर्को कर लगाएर किसानको घाँटी निमोठिन्थ्यो । तिनीहरू सधैँ साहुमहाजन र बिचौलियाको ऋणमा डुबिरहन्थे । आफ्नो ‘स्वतन्त्रता’ रक्षा गर्न चाहने फ्रान्सेली किसानको सपरिवार मिलेर सघन परिश्रम गर्नुपथ्र्याे; अनि खाना, लुगा र सांस्कृतिक आवश्यकता कटौती गर्नुपथ्र्याे अथवा त्यसमा कन्जुसी गर्नुपथ्र्याे ।

साभार : आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास

Leave a Reply

Your email address will not be published. Required fields are marked *