भर्खरै :

भाज्या पुखुको दक्षिणपट्टिको डिल संरक्षणबारे भक्तपुर नगरपालिकाको स्पष्टोक्ति

भाज्या पुखुको दक्षिणपट्टिको डिल संरक्षणबारे भक्तपुर नगरपालिकाको स्पष्टोक्ति

भक्तपुर, ९ कार्तिक । भाज्या पुखुको दक्षिणपट्टिको डिल संरक्षणबारे विभिन्न पक्षले फैलाएको भ्रम चिर्ने ध्येयले भक्तपुर नगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ –मिति २०८१/०७/०७ गते अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस समितिबाट जारी विज्ञप्ति र मिति २०८१/७/०८ गते भक्तपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. कविता लुइँटेल भट्टराईबाट जारी प्रेस विज्ञप्तिप्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा निम्नबमोजिम स्पष्ट पार्न चाहन्छु :
भक्तपुर नगरपालिका वडा नं. १ दूधपाटीस्थित भाज्यापुखु एक ऐतिहासिक र सांस्कृतिक महत्वको पोखरी हो । इतिहासविद्हरूका अनुसार यो पोखरी आजभन्दा ८०० वर्षभन्दा अगाडि नै निर्माण भएको हो । केही समय अगाडिसम्म घाँसे मैदानको रुपमा रहेको यो पोखरीलाई भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा पोखरीको मध्य भागमा जलेश्वर महादेव मन्दिरसमेत निर्माण गरी वि.सं. २०८० सालमा पुनःनिर्माण सम्पन्न गरी मिति २०८०।११।२५ गते उद्घाटन गरिएको थियो । पोखरीको पुनःनिर्माणसँगै पोखरीका चारै दिशाका डिलहरू पनि खोल्न पहल गरियो । यस कार्यले लामो समयसम्म स्थानीयले प्रयोग गर्दै आएको उत्तरतर्फको पोखरीको डिल पनि खोलियो भने पूर्व र पश्चिमको डिल पहिलेदेखि नै खुला अवस्थामा रहेको थियो । सोही क्रममा पोखरीको दक्षिणपट्टिको डिल खोल्नलाई भक्तपुर बहुमुखी क्याम्पसका जिम्मेवार पदाधिकारहरूसँग पटकपटक छलफलसमेत गरियो । तर, विद्यार्थी युनियन र त्रिभुवन विश्वविद्यालयको हवाला दिंदै दक्षिणपट्टिको डिल खोल्नलाई भक्तपुर बहुमुखी क्याम्पसले आनाकानी गरी नै रह्यो । यसै क्रममा भक्तपुर बहुमुखी क्याम्पसले क्याम्पसको उत्तर पश्चिमतिरको पर्खाल निर्माणको लागि कार्य प्रारम्भ ग¥यो । सो कार्यको १ नं वडाका वडा निरीक्षकबाट निरीक्षण गरी नियमानुसार पोखरीको डिल छाडी मापदण्ड अनुसारमात्र निर्माण कार्य अगाडि बढाउन मौखिक अनुरोध गरेकोमा क्याम्पसबाट बेवास्ता गरी निर्माण कार्य अगाडि बढाइएकोले भक्तपुर नगरपालिकाले मिति २०८०/१२/०६ गते अनियमित निर्माण कार्य रोक्का गर्न र अनियमित निर्माणहरू तत्काल भत्काउन, नभत्काइएमा नगरपालिकाले, आफै भत्काई सोको लागि लाग्ने खर्च सम्बन्धित भक्तपुर बहुमुखी क्याम्पसबाट नै असुलउपर गर्ने व्यहोराको पत्राचार ग¥यो । सोही विषयमा भक्तपुर क्याम्पसले झारपात उमारी कब्जा गरी राखेको भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने विषयमा र अनियमित निर्माण रोकी नियमानुसार पर्खाल निर्माण गर्ने विषयमा पटक–पटक छलफल हुँदासमेत कुनै ठोस सहमति हुन सकेन ।
भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा उदाहरणीय कार्य गर्दै अगाडि बढेको एक स्थानीय सरकार हो । देशभरिका सम्पदाहरू संरक्षणको अभावमा जीर्ण र लोपोन्मुख रहेको समयमा नै भक्तपुर नगरपालिकाले भक्तपुरका सम्पदाहरू जीर्णोद्धार, पुनःनिर्माण र मर्मत सम्भार गर्दै संरक्षण कार्य अगाडि बढाउँदै आएको छ । भक्तपुर नगरपालिका वडा नं. १ को सिद्धपोखरी, भाज्यापुखु, न्हुपुखुलगायत नगरका मठ, मन्दिर, देवालय, शिवालय, वहा वही, द्योछँे, सत्तल, पाटी, ढुङ्गेधारा, इनार, चोक, डबलीलगायत सबै सार्वजनिक सम्पदाहरू कुनै विदेशी राष्ट्र र विदेशी दाताहरूको सहयोगबिना आफ्नै स्रोतमा संरक्षण गर्दै आएको सबैमा विदितै छ । भाज्या पोखरी संरक्षण र जलेश्वर मन्दिर पुनःनिर्माण पनि यसैको क्रम हो । तर, नापी नक्सा र लालपुर्जामा नै पोखरीको डिल जनिएको भाज्या पुखुको दक्षिणपट्टिको डिललाई कब्जा गरी सार्वजनिक प्रयोजन गर्न रोक्ने भक्तपुर बहुमुखी क्याम्पस प्रमुखको कार्य सम्पदाविरोधी मात्र नभई जनविरोधी र गैरकानुनीसमेत हो ।
भक्तपुर नगरपालिकाको पत्रलाई बेवास्ता गरी बसेको कारण बाध्य भएर भत्काउनु परेको यथार्थ जानकारी गराउँदै भत्काउन प्रयोग भएका डोजर र जनशक्तिको समेत नियमानुसार क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइने छ ।
क्याम्पस प्रमुखजस्तो पदमा बस्ने व्यक्तिले नगरपालिकामाथि गलत र झूटो लाञ्छना लगाउनु उनको अयोग्यताको परिचय हो । जिम्मेवार पदमा बस्नेहरूले जिम्मेवारीपूर्वक बोल्न र व्यवहार गर्न सिक्न पनि सचेत गराइन्छ । भाज्या पुखु र भक्तपुर क्याम्पस दुवै जनताका सम्पत्ति हुन् । नगरपालिकाको मापदण्ड मिचेर जबरजस्ती सम्पदा म्हास्ने कार्यलाई नगरपालिकाले टुलुटुलु हेरेर बस्ने छैन । क्याम्पसको सुरक्षा र सम्पदाको संरक्षणसमेतलाई ध्यान दिएर नगरपालिकाले पर्खालको नक्सा र ल.ई. समेत स्वीकृत गरिसकेको कुरा सर्वसाधारणलाई जानकारी दिन चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *