भर्खरै :

०३५/३६ सालको विद्यार्थी आन्दोलनलाई फर्केर हेर्दा

०३५/३६ सालको विद्यार्थी आन्दोलनलाई फर्केर हेर्दा

निर्दलीय भनिएको पञ्चायती व्यवस्थामा नेपाली जनताले राजनीतिक र मौलिक हक अधिकार पाएका थिएनन् । सबै राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाएकोले राजनीतिक नेता तथा कार्यकर्ताहरू या त प्रवासमा थिए या त जेलमा । जालझेल, अन्याय, अत्याचार, शोषण र दमनको विरोध गर्ने नेपाली जनतालाई पञ्चहरू झूटा मुद्दा लगाउने, सुरक्षा कानुन लगाएर जेलमा कोच्ने र राजद्रोहको मुद्दामा फसाएर दुःख दिन्थे । यसरी पञ्चायती व्यवस्थाको अन्याय अत्याचारमा बाँच्नु परेका नेपाली जनता उकुसमुकुस अवस्थामा थिए । पञ्चायती व्यवस्थाबाट नेपाली काङ्ग्रेस र विभिन्न घटकमा विभाजित कम्युनिस्टहरू आन्दोलित थिए । यस्तो परिस्थितिमा हाम्रो छिमेकी देश पाकिस्तानमा एउटा घटना घट्यो† जुन घटना २०३५/३६ सालको विद्यार्थी आन्दोलनको तत्कालीन कारण बन्यो ।
युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियामा राजनीतिशास्त्रमा डिग्री हासिल गरेका जुल्फिकर अलि भुटोले अक्सफोर्ड विश्वविद्यालयबाट एलएलबी र एलएलएम उत्तीर्ण गरेका थिए । समाजवादी विचारबाट प्रभावित जुल्फिकर अलि भुटो पाकिस्तानको प्रधानमन्त्री पदमा निर्वाचित भएपछि उनले चीनसँग सम्बन्ध विकास गरी ताइवान चीनको हिस्सा हो भनी मान्यता दिए । भारत र पाकिस्तान युद्धमा हार व्यहोरेको पाकिस्तानको सैनिक शक्ति मजबुत पार्न फ्रान्सको सहयोगमा आणविक हतियार बनाउने योजना थियो । संसारमा आतङ्कित पार्ने अमेरिका भुटोलाई मन परेको थिएन । त्यसैले खर्बौँ डलर खर्च गरी भुटोको प्रतिद्वन्द्वी अहमत रजा कसुरीको हत्या गर्ने षड्यन्त्रकारीहरूमध्ये एक भएको आरोपमा लाहोरको उच्च अदालतले पहिलो जननिर्वाचित प्रधानमन्त्री जुल्फिकर भुटोलाई २०३५ चैत २२ गते सैनिक शासक जियाउल हकले पाकिस्तानको राहुलपिण्डीको जेलमा मृत्युदण्ड दिए ।
विसं २०३५ चैत २४ गते पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री जुल्फिकर अली भुटोलाई फाँसी दिएको विरोधमा काठमाडौँका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले पाकिस्तानको राजदूतावासमा विरोध पत्र दिन जाँदा प्रहरीहरूले लाठीजार्च गरी जुलुसलाई तितरबितर गरे । दर्जनौँ विद्यार्थी घाइते भए । घाइते विद्यार्थीहरूमध्ये धेरै छात्राहरू थिए । पञ्चायती व्यवस्थाले पञ्चायतको विकल्प खोज्ला भनेर पञ्चायती तानाशाही व्यवस्थाको विरोधमा कुनै किसिमको राजनीतिक गतिविधि गर्न र राजनीतिक दलहरू खोल्न प्रतिबन्ध लगाएको थियो । चैत २४ गतेको शान्तिपूर्ण मौन जुलुसमाथि लाठीचार्ज गरी दर्जनौँ विद्यार्थी घाइते पारेको कुरा बिजुलीजस्तै उपत्यकामा फैलियो । चैत २५ गते काठमाडौँ उपत्यकाका प्रायः सबै क्याम्पसमा विद्यार्थी नेता तथा कार्यकर्ताहरूले पाकिस्तानका तत्कालीन सैनिक शासक जियाउल हकले जुल्फिकर अलि भुटोलाई फाँसी दिएको र शान्तिपूर्ण जुलुसमाथि अन्यायपूर्वक निर्मम लाठी प्रहार गरिएको विरोधमा साङ्केतिकरूपमा एक दिन कक्षा बहिष्कार गर्नको लागि अनुरोध गरे ।
उक्त आग्रहबमोजिम त्यो दिन भक्तपुर क्याम्पसका विद्यार्थीहरूले कक्षा बहिष्कार गरे । विद्यार्थीहरूबिच भेटघाट हुने क्रममा काठमाडौँ उपत्यकाका सबै क्याम्पसहरू हडताल भएको खबर प्रचार भयो । चैत २६ गते भक्तपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू क्याम्पस पुग्नु अगावै काठमाडौँको क्याम्पसमा अध्ययन गर्ने केही विद्यार्थीहरू बसिरहेका थिए र विद्यार्थीलाई कक्षाभित्र प्रवेश नगर्न आग्रह गर्दै थिए । कोही पनि विद्यार्थीहरू कक्षामा गएनन् । करिब ११ बजेतिर आमसभा भयो । आमसभामा २४ गतेको घटनाको तीव्र विरोध गर्नुका साथै राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको खारेजी, स्वतन्त्र विद्यार्थी युनियन खोल्न पाउनुपर्नेलगायत १८ सूत्रीय माग राखी माग पूरा नभएसम्म सबै क्याम्पसहरू हडताल गर्न अनुरोध गर्दा सबैले समर्थन गरे । हरेक दिन आमसभा र जुलुस प्रदर्शनहरू भइरहे । विद्यार्थी आन्दोलन देशव्यापी फैलियो । विद्यार्थी आन्दोलनको क्रममा ३ जना विद्यार्थी नेताहरू सम्मिलित एउटा केन्द्रीय सङ्घर्ष समिति गठन भयो । बलबहादुर केसी, कैलाश कार्की र शरणविक्रम मल्ल गरी ३ जनाको सङ्घर्ष समितिले विद्यार्थी आन्दोलनको नेतृत्व गरेको थियो । बलबहादुर केसी नेविसङ्घको तर्फबाट, कैलाश कार्की नेराविको तर्फबाट र शरणविक्रम मल्ल पुष्पलाल समर्थित विद्यार्थी समूहको तर्फबाट सङ्घर्ष समिति बनेको थियो । आन्दोलनमा विद्यार्थीहरू सहभागी भए । सङ्घर्ष समितिको निर्देशनअनुसार देशव्यापी आन्दोलन अगाडि बढ्यो । समाचारपत्रहरूले विद्यार्थी आन्दोलनको समाचार छापे । विद्यार्थी र प्रहरीबिच झडप भएको, विद्यार्थी नेता र कार्यकर्ताहरू पक्राउ परेको, आमसभा र जुलसका समाचारहरू समाचारपत्रहरूमा प्रकाशित भए । विद्यार्थी आन्दोलन क्याम्पसहरूमा मात्र सीमित नभई विद्यालय स्तरमा पनि फैलिँदै गयो । पछि विद्यार्थी आन्दोलन जनआन्दोलनमा विकास हुँदै गयो ।
पञ्चायती शासकहरू जति विद्यार्थी आन्दोलनलाई दबाउन बल प्रयोग गर्थे, त्यति नै आन्दोलन फैलिँदै गयो । विद्यार्थी आन्दोलन विद्यार्थीहरूको १८ सूत्रीय मागमा मात्र सीमित नभई जनताका माग पनि थपिए । बजार भाउ नियन्त्रण गर, कालाबजारियाहरूलाई कारबाही गर्नुपर्नेजस्ता माग राखी भएको विद्यार्थी आन्दोलनमा जनता पनि सहभागी हुन थाले । यसरी जनताको हितसँग पनि विद्यार्थी आन्दोलन जोड्न थाल्यो । युवा–विद्यार्थी आन्दोलनले निरङ्कुश तानाशाही व्यवस्थाको विकल्प खोज्न थाल्यो । आन्दोलनमा सङ्घर्ष समितिका तीनै जना विद्यार्थी नेताहरू पक्राउमा परे । आन्दोलन अगाडि बढ्यो । २०३६ साल वैशाख २५÷२६ गतेतिर केन्द्रीय सङ्घर्ष समितिका विद्यार्थी नेतालाई पञ्चायती सरकारले छोड्यो ।
वि.सं. २०३६ वैशाख ३०/३१ गतेतिर केन्द्रीय सङ्घर्ष समितिको कार्यक्रम समाचारपत्रमा छापियो । कार्यक्रमअनुसार जेठ ४ गते भक्तपुरको टौमढीमा आमसभा गर्ने, जेठ ७ गते ललितपुरको मङ्गलबजारमा आमसभा गर्ने र जेठ ९ गते काठमाडौँको अमृत साइन्स क्याम्पसमा आमसभा गर्ने कार्यतालिका तयार भयो । केन्द्रीय सङ्घर्ष समितिको अनुमतिबिना क्याम्पसहरूमा आन्दोलनको कार्यक्रम गर्न नहुनेजस्ता व्यहोरा राखी विद्यार्थी आन्दोलनलाई सङ्घर्ष समितिको नियन्त्रणमा राख्ने गरी कार्यक्रम प्रकाशित गरिएको थियो । जेठ ३ गते राति नेक्राविसङ्घका विद्यार्थीहरूले भक्तपुरका जनताको नाममा वाल पेन्टिङ गरे । वाल पेन्टिङमा केन्द्रीय सङ्घर्ष समितिका नयाँ मण्डलेदेखि सावधान !, सरकारको पैसा खाएर गोप्य सम्झौता गरी आन्दोलनलाई धोखा दिने सङ्घर्ष समितिका पदाधिकारीदेखि होसियार ! आदि नाराहरू थिए । जेठ ४ गते सङ्घर्ष समितिका नेताहरूको भाषण सुन्न उपत्यकाका विद्यार्थीहरू टौमढीमा भेला हुन थाले । कार्यक्रम स्थलमा लेखिराखेका नाराहरू देखेर आमसभा सुन्न भेला भएका विद्यार्थी, प्राध्यापक, शिक्षकहरू आश्चर्यमा परे । केन्द्रीय सङ्घर्ष समितिका नेताहरू रनभुल्लमा परे । अन्ततः तिनीहरूले कार्यक्रम गरे ।
आमसभामा केन्द्रीय सङ्घर्ष समितिका तीन जना विद्यार्थी नेताले बोले । सभामा विद्यार्थी नेताहरूले उत्तेजित भाषण गरे । शरणविक्रम मल्ल, बलबहादुर केसी र कैलाश कार्की विद्यार्थी नेताहरूमध्ये एक जनाले वाल पेन्टिङ देखाउँदै भने, “लथालिङ्ग देशमा भत्ताभुङ्ग चाला, जस जसले खाला उस उसले लेख्ला ।” यसरी उत्तेजित भाषण दिएर जेठ ७ गते ललितपुरको मङ्गलबजारको आमसभामा उपस्थितिको लागि अनुरोध गरी फर्के ।
केन्द्रीय सङ्घर्ष समितिको घोषित कार्यक्रमअनुसार वि.सं. २०३६ जेठ ७ गते ललितपुरको मङ्गलबजारमा आमसभा भयो । सहभागी विद्यार्थीहरूमाझ वाल पेन्टिङबारे चर्चा चल्यो । चर्चा एक कान दुई कान हुँदै विद्यार्थीहरूबिच छलफल र बहसको विषय बन्यो । केन्द्रीय सङ्घर्ष समितिका तीन जनाबिचको छलफलपश्चात् आमसभा सुरु भयो । सभामा नेताहरूले भाषण गरेको देख्दा उपस्थित विद्यार्थीहरूलाई शङ्कामाथि शङ्का बढ्न थाल्यो । आन्दोलनलाई अगाडि बढाउन के कस्तो कार्यक्रम छ प्रस्ट पारिदिन विद्यार्थीहरूले आग्रह गर्दा उनीहरूले झर्केर जवाफ दिँदा मङ्गलबजारको आमसभा वादविवाद कार्यक्रमजस्तै भयो । समय आफ्नो अनुकूल नहुने देखेर उनीहरू कार्यक्रम छोट्याएर गए ।
२०३६ जेठ ९ गते केन्द्रीय सङ्घर्ष समितिको पूर्वघोषित कार्यक्रमअनुसार काठमाडौँको अमृत साइन्स क्याम्पसमा आमसभामा भाग लिन विद्यार्थीहरू जम्मा भए । निर्धारित समयमा कार्यक्रम नहुँदा अन्योलको स्थिति पैदा भयो । विद्यार्थीहरू नेताहरूलाई पर्खिनुबाहेक अरु विकल्य थिएन । कार्यक्रम स्थलमा आन्दोलनकारी विद्यार्थीहरूको सङ्ख्या बढ्दै थियो । तर, कार्यक्रम सञ्चालन गर्ने नेताहरू आएनन् । सबैको मुखमा नेताहरू किन नआएको, अब के गर्ने हो भनी एकले अर्कासँग कानेखुसी भयो । पछि केही विद्यार्थीहरू आए । ती विद्यार्थीले केन्द्रीय क्याम्पसमा सङ्घर्ष समितिका नेताहरूले अनिश्चितकालीन क्याम्पस हडताल तोडेर कक्षामा गएको र आन्दोलनकारीहरूलाई मण्डले तरिकाले बल प्रयोग गरेको बताए† हामीलाई धोखा दिए । अब हामीले उनीहरूलाई माफी मगाउनुपर्छ र आन्दोलनलाई अगाडि बढाउनुपर्छ भनी अनुरोध गरेपछि कीर्तिपुर गएर तीनै जना विद्यार्थी नेताहरूलाई समातेर अमृत साइन्स क्याम्पसको आमसभामा उभ्याए । आफ्ना नेताहरूको कर्तुत देखेर आन्दोलनकारी विद्यार्थीहरू आक्रोशित भए । धेरै विद्यार्थीहरूले भक्तपुरको टौमढीको पाँचतले मन्दिरमा गरिएको वालपेन्टिङले विद्यार्थी आन्दोलनका धोकेबाजहरूलाई बेलैमा खबरदारी गरेकोमा प्रशंसा गरे । आमसभा भयो । विद्यार्थी नेताहरूले धोकेबाजहरूको पोल खोले । उनीहरूलाई कालोमोसो दलेर जुत्ताको माला लगाई घुमाउने मञ्चबाट उद्घोष भयो र कालोमोसो दली जुत्ताको माला लगाएर ठेला गाडामा राख्दै गर्दा कैलाश कार्की भाग्न सफल भए । बाँकी दुई जना बलबहादुर केसी र शरणविक्रम मल्ललाई ठुला गाडामा राखेर काठमाडौँको नगर परिक्रमा गर्ने क्रममा जब न्युरोड (नयाँ सडक) पुग्यो प्रहरीले बचाएर लगे । त्यसपछि प्रहरी र विद्यार्थीबिच भिडन्त भयो । प्रहरीले विद्यार्थीहरूमाथि लाठी प्रहार गरे । विद्यार्थीहरूले पनि लाठीको जवाफ ढुङ्गाले दिए । प्रहरी र विद्यार्थीबिच भिडन्त चलिरह्यो । धेरै विद्यार्थीहरू घाइते भए । आक्रोशित विद्यार्थी आन्दोलनकारीहरूले न्युरोडको आर.एन.ए.सी. र भूगोल पार्कस्थित गोरखापत्र संस्थानमा आगो लगाए । बेलुकी ९–१० बजेतिर प्रहरीले गोली चलाए । केही विद्यार्थीहरू गम्भीर घाइते भए । दमकलले समयमै गोरखापत्र संस्थान र आर. एन. ए.सी. मा लागेको आगो निभायो र आन्दोलन साम्य भयो । भोलि बिहान जेठ १० गते रेडियोमा राजा वीरेन्द्रको देशबासीको नाममा सम्बोधन भयो । सम्बोधनमा वि.सं. २०३७ वैशाख २० गते जनमतसङ्ग्रह गर्ने घोषणा भयो ।
जब जनमतसङ्ग्रहको घोषणा भयो नेपाली काङ्ग्रेसका नेताहरू बी.पी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले राजाको घोषणालाई स्वागत गरी विद्यार्थी आन्दोलन रोक्नुपर्ने र बहुदलको पक्षमा प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिए भने केही वामपन्थीहरूले जनमतसङ्ग्रह धोखा हो, राजाको घोषणामा नफसी आन्दोलनलाई अगाडि बढाउनुपर्छ भने । यसरी नेपालको राजनीतिमा विद्यार्थीहरू दुई भागमा विभाजित भए । नेपाली काङ्ग्रेस समर्थित विद्यार्थीहरू विद्यार्थीहरूको माग पूरा भएकोले आन्दोलन गर्नु आवश्यक छैन; अब विद्यार्थीहरू कक्षामा जानुपर्छ भने पक्षमा उभिए । वामपन्थी पार्टी समर्थित विद्यार्थीहरू यो आन्दोलनमा जनताको पनि साथ र समर्थन पाएको हुँदा जनताको माग पूरा नभएसम्म र मा. वि. तहमा पनि स्ववियुको व्यवस्था हुनुपर्छ भनी आन्दोलनको पक्षमा उभिए । यसरी दुई खेमामा विभाजित विद्यार्थीहरूबिच बहस हुन थाल्यो । यसपछिको घटनाक्रम २०८१ भदौ २४ गतेको ‘मजदुर’ दैनिकमा प्रकाशित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *