भर्खरै :

आदर्शाेन्मुख समाज निर्माण गर्न असल शासकको खाँचो

आदर्शाेन्मुख समाज निर्माण गर्न असल शासकको खाँचो

जनतालाई काम, माम र कपासको व्यवस्था गरी असल शासन स्थापना गर्नु राज्यको दायित्व हो । जनताको जीवन सुनिश्चित र सुरक्षित भएपछि विदेश जानुपर्ने बाध्यता हुँदैन; चोरी चकारी गरेर खानुपर्ने स्थिति हुँदैन । असल सरकार र असल समाजमा असल जीवन बिताउन पाएको समाज सबैको निम्ति अनुकरणीय हुन्छ; उदाहरणीय हुन्छ । देशका हरेक सत्तासीन दलका नेताहरू असल शासन, असल समाज र असल जीवन बिताउने पूर्वाधारहरू तयार गर्दै अघि बढ्नुपर्ने हो । जो खराब छन्; अपराधी छन्, जालीफटाहा, भ्रष्टाचारी, कमिसनखोर, घुस्याहा, बलात्कारी, समाजविरोधी, जनविरोधी, देशविरोधी र मानवविरोधी छन्; तिनीहरूलाई उचित सजाय दिनुपर्छ । सरकारले अपराधीहरूलाई कारबाही नगरी छुट दिनुहुँदैन; बढावा दिनुहुँदैन । पार्टीमा चन्दा दिइरहेको छ भनेर खराब चरित्रका व्यक्तिलाई दलमा भित्याइनुहुँदैन । असल या सुशासनको लागि सबैले आ–आफ्नो स्थानबाट इमानदारीपूर्वक काम गर्नुपर्छ; देश र जनताप्रति समर्पित भएर सेवा गर्नुपर्छ† सेवा गर्नुपर्छ भनी उत्प्रेरित गर्नुपर्छ ।
देशमा पालैपालो धेरै दलहरूले शासन गरे । शासन गर्ने दलहरूमा ठुला दल नै अगाडि छन् । पञ्चायती व्यवस्था अन्त्य भएपछि नेका, एमाले र माओवादीले सरकारको नेतृत्व गरेका थिए । ती शासकहरूले खराब काम गर्ने, जनतालाई दुःख दिने कुरा कहिल्यै भनेनन् तर राम्रो शासन कहिल्यै चलाएनन्, असल शासनको बाटो कोरेनन् । असल शासन ल्याउन सरकारले खराबी पक्षलाई बढावा होइन हतोत्साही गर्नुपर्छ; महिला बेचबिखन रोक्नुपर्छ; बेपत्ता पार्ने, वेश्यालयमा महिला पु¥याउने; अपहरण गर्ने काम रोक्नुपर्छ । भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीमाथिको कारबाहीमा सत्तापक्ष र प्रतिपक्ष भनी कित्ता छुट्याउनु हुँदैन । कसैमाथि काखापाखा गरिनु हुँदैन । सत्य, तथ्य र प्रमाणको आधारमा दोषी सजातगी हुनुपर्छ । देशमा ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार भइरहेको कुरा सत्तासीन दलका सबै नेतालाई थाहा छ । तर, सो समस्या निवारण गर्नेतर्फ कसैको पहल भएको देखिँदैन । अनि भ्रष्टाचार निवारण कसरी हुन्छ ? के यो सरकारको कमजोरी होइन ? सरकारको मौनता होइन ? सरकारको बेवास्ता होइन ? यसबारे गृहमन्त्री आफै भ्रष्टाचार कसरी निवारण हुन्छ भनी प्रश्न गर्छन् ।
भ्रष्टाचार कहीँ कतै दिन नहुने भनी फुक्ने तर भ्रष्टाचार प्रकरणको प्रक्रिया खासै अघि बढेको देखिँदैन । भ्रष्टाचारको प्रकरणमा परेका व्यक्तिहरूले पदको दुरूपयोग गरेर कसले कति कुम्ल्याए ? सबैको अध्ययन, अनुसन्धान र छानबिन हुनुपर्छ । भ्रष्टाचार प्रकरणको मुद्दा छिनोफानो गर्न महिनौँ र वर्षाैँसम्म किन कुर्नुप¥यो ? हो, आरोप लाग्दैमा दोषी हुँदैन । तर, छानबिन र प्रमाण जुटाउने नाउँमा वर्षाैँ बिताएर मुद्दा शिथिल बनाउने, प्रक्रिया अघि नबढाउनु ठीक होइन । भ्रष्टाचारमा फसेका या अभियोग लागेका व्यक्तिहरू हाल चर्चामा आएका मात्र होइनन् । भुटानी शरणार्थी, ललिता निवास, काठमाडौँको ठमेलमा बनेको छाया सेन्टरमा फसेका, पैसामा बिकेर नीति र नियम मिचेका व्यक्तिहरूलाई पनि कारबाहीको प्रक्रिया अघि बढाइनुपर्छ ।
हत्या र हिंसात्मक घटनाहरू दोहोरिरहेका छन् । चोरी चकारी भइरहेको छ । कसैको जीवन र सम्पत्तिको सुरक्षित छैन । चेलीबेटी बेचबिखन भइरहेको छ । बेपत्ता पार्ने काम भइरहेको छ । उत्ताउला, उच्छृङ्खल र उद्दण्ड चरित्रका गतिविधि भइरहेको छ । जातीय, सङ्कीर्ण र क्षेत्रीय राजनीतिको कारण कुन दिन कहाँ द्वन्द्व र हिंसात्मक घटना हुने हो थाहा हुँदैन । हरेक दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि कार्यकर्ताहरूको दिल स्वच्छ हुनुपर्छ; देश र जनताको इमानदारीपूर्वक काम गर्नुपर्छ भन्ने भावना हुनुपर्छ । व्यक्तिगत र दलगत स्वार्थमा फस्नुहुँदैन । चरित्रमा दाग लाग्ने काम गर्नुहुँदैन । इज्जत, प्रतिष्ठा र आस्थामा चोट पु¥याउने बाटो रोज्नु हुँदैन । देशका सबै नागरिकलाई असल बन्न र बनाउन प्रेरित गर्नुपर्छ । शासकहरू, त्यसअन्तर्गत रहेका निकायहरू, प्रशासन, कर्मचारी र अन्य दल तथा दलका नेता तथा कार्यकर्ताहरू देश र जनताप्रति समर्पित भएर लागेमा, समाज परिवर्तनको निम्ति अघि सरेमा देशमा सुशासन ल्याउन सकिन्छ । यतातर्फ शासक दलका नेताहरूको ध्यान पुगेको देखिँदैन । आदर्शाेन्मुख समाज निर्माण गर्न असल शासकको खाँचो छ । त्यो भावना र दृष्टिकोण शासकहरूमा हुनुपर्छ । सत्तासीन दल र त्यस दलअन्तर्गत रहेका निकाय या तहका कर्मचारी, सामाजिक कार्यकर्ता आदिमा हुनुपर्छ । कार्यालय–कार्यालयमा कुशल हाकिमहरूको खाँचो हुन्छ । देशमा असल शासन, असल नेता, असल जनप्रतिनिधि, असल हाकिम आदिको कमी भएकै कारण देश काण्डैकाण्ड या बेथितैबेथितिको देश बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *