भर्खरै :

नेपालको भौगोलिक र सांस्कृतिक विविधता नै हाम्रो सम्पत्ति हो

नेपालको भौगोलिक र सांस्कृतिक विविधता नै हाम्रो सम्पत्ति हो

भक्तपुर १६, कार्तिक । नेपाल संवत् ११४५ को अवसरमा चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा शुक्रबार भिन्तुना ¥याली तथा सभा सम्पन्न भयो ।
लाकिलामा सम्पन्न समापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भन्नुभयो, “मानिस जङ्गलबाट बाहिर आएको ७ हजार वर्ष भयो । अहिलेसम्ममा लवाइखवाइ बानी–व्यहोरामा धेरै अगाडि बढ्यो । संस्कृति भनेको सिक्दै अगाडि बढ्ने प्रक्रिया हो । संस्कृति मानव सभ्यताको विकासको सिलसिला हो ।”
“हिमाल–पहाड–तराईसहितको नेपालको भौगोलिक र सांस्कृतिक विविधता नै हाम्रो सम्पत्ति हो ।” उहाँले थप्नुभयो ।
सांसद सुवालले कर्णाली प्रदेशमा स्याउ, ओखर, कोदो, फापर, मार्सीधान, जौ, गहुँ, आलुलगायतका अन्न र फलफूल उत्पादन भएपनि सरकारले उचित ध्यान नदिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “कर्णालीका महिलाहरू अझै पनि छाउगोठमा बस्न बाध्य छन् । देशका अन्य भूभागमा पनि महिलाहरूको समस्या उस्तै छ । महिलाहरूलाई ४२ वटा रोग बढी लाग्ने स्वास्थ्यकर्मीहरूको मत छ । यसर्थ, महिलाहरूले ६ महिनाको एकपल्ट आफ्नो स्वास्थ्य परीक्षण गराउनु जरुरी छ । यसमा सरकारले मद्दत गर्नु आवश्यक छ ।”
अतिथि सुवालले भन्नुभयो, “सरकारले नेपालको माथिल्लो कर्णाली जलविद्युत् परियोजना १७ वर्षअघि भारतीय जीएमआर कम्पनीलाई दिएको थियो । हाल जीएमआरले भारतकै सतलज र इरेडा कम्पनीलाई ६० प्रतिशत बेच्यो । नेपालको नदीनाला भारतीय कम्पनीले बेच्न पाउँदैन । नेपालको जल, जङ्गल, जमिन विदेशीलाई दिनुहुन्न ।”
नेपालको एसईई र १२ कक्षाको नतिजामा आधाआधी असफल हुनु शिक्षाको जग कमजोर हुनु हो । घर बलियो बनाउन जग बलियो बनाउनुपर्ने भनेजस्तै विश्वविद्यालय शिक्षा राम्रो बनाउन सरकारले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गर्नु आवश्यक छ । सरकारले नयाँ पुस्तालाई बिनाधितो ऋण दिएर विदेश पठाउने नीति लिएको छ । खाडी मुलुकमा नेपाली चेलीहरूको सडकमा बेचबिखनजस्तै भइरहेको संसदीय समितिको प्रतिवेदन छ । सरकारले नेपाली युवालाई आफ्नै देशमा रोजगार दिनु जरुरी छ ।” सांसद सुवालले जोड दिनुभयो ।
सांसद सुवालले सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिपश्चात् सन् १९३५ सम्ममा सोभियत सङ्घ संसारको दोस्रो अर्थतन्त्र भइसकेको र सन् १९६१ सम्ममा अन्तरिक्षमा भूउपग्रह पठाएर सोभियत सङ्घले अमेरिकालाई उछिनेको बताउनुभयो । उहाँले शिक्षामा विज्ञान र गणित बलियो हुनु आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको ऋण २६ खर्ब पुग्यो । सरकारहरूले ऋण ल्याई सडक, पुल, भवन बनाएको दाबी गर्नु आत्मनिर्भरताको बाटो होइन । देशलाई आफ्नै खुट्टामा उभ्याउन नसक्नु सरकारको असफलता हो ।”
¥यालीको सुरुस्थल छालिङ भाजूभैरवमा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभाका सांसद सृजना सैँजूले शासक दलहरू एउटैमात्र भाषा र जातिलाई प्राथमिकता दिएर अन्य भाषा र संस्कृतिलाई दमन गर्नेतर्फ लागेको चर्चा गर्दै नेपालभाषा संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय भाषाको रुपमा सूचिकृत भाषा भएकोले यसको संरक्षण र संवद्र्धनमा सबै लाग्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “मान्छेलाई जात र भाषाको आधारमा भेदभाव गर्नुहुन्न । जाति, भाषा र धर्मको आधारमा थिचोमिचो गर्नु फासीवाद हो । अमेरिकी हतियार बोकेको यहुदी फासीवादले प्यालेस्टिनी जनतामाथि बर्बर आक्रमण र नरसंहार मच्चाउँदै छ । विश्वका न्यायप्रेमी जनताले यसको विरोध गर्नु जरुरी छ ।”
“बालबालिकाले मातृभाषामा सिक्ने र पढ्ने अवसर पाए चाँडै प्रगति गर्न सक्छन् । सरकारले सबै भाषा र संस्कृतिको जगेर्ना गर्नु जरुरी छ” अतिथि सैँजूले बताउनुभयो ।
चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजका निवर्तमान अध्यक्ष तथा नेमकिपा चाँगुका सदस्य मिनबहादुर बाटाले नेपाल संवत् नेपालीहरूको मौलिक संवत् रहेको चर्चा गर्दै नेपाल संवत्को भिन्तुना ¥यालीमा इजरायली फासीवादको बर्बरताविरुद्ध प्यालेस्टिनी जनताको पक्षमा आवाज उठ्नु सकारात्मक पक्ष रहेको बताउनुभयो ।
शिक्षक चक्रबहादुर चाकतुले विभिन्न जातजाति र भाषाभाषी मिलेर बस्नुपर्ने सुन्दर फूलाबारीजस्तो नेपालमा शासक दलहरूले खल्बल्याउन खोजेको बारे नेपाली जनता सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजका अध्यक्ष रामकृष्ण लिगलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका सूर्यबहादुर फोजू र गणेशलाल फोजूले पनि बोल्नुभएको थियो । कार्यक्रममा गणेश मावि छालिङले नृत्य, छालिङ बाँसुरी खलले बाँसुरीको धुन र जनगायक विनोद विकले गीत प्रस्तुत गर्नुभएको थियो ।
चाँगुनारायण नगरपालिका वडा नं ५, छालिङ भाजुभैरवबाट बाजागाजासहित सुरु भएको भिन्तुना ¥याली कुन्यौटा–गुडी–दथेपुथे टोल–गैँडा टोल–भण्डारीटोल–साँखुमूल–बाटा टोल–गुसीटार–बनगाउँ–त्याटल टोल–चाकतु टोल–पकुनेपाटी हुँदै चानपा ३, झौखेलको लाकिलामा पुगेर सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *