भर्खरै :

व्यक्तिवादी सोचबाट टाढा राखी सामूहिक भावनाको विकास गर्न जरुरी

व्यक्तिवादी सोचबाट टाढा राखी सामूहिक भावनाको विकास गर्न जरुरी

भक्तपुर, १६ कार्तिक । आदर्श समाज र प्रगतिशील संंस्कृति निर्माणमा समर्पित आस्था सांस्कृतिक परिवारको आयोजनामा लक्ष्मीप्रसाद देवकोटाको १३५ औँ जन्मजयन्तीको अवसरमा ‘टाइम फर पोइम’ को पाँचौँ शृङ्खला आस्था थियटरमा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थीहरूलाई कलिलै उमेरमै प्रगतिशील साहित्य लेख्न सिकाउनुपर्ने र माक्र्सवादी र प्रगतिशील विचारलाई फैलाउन बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो । व्यक्तिवादी सोचबाट टाढा राखी सामूहिक भावनाको विकास गर्न जरुरी रहेको प्रस्ट पार्दै उहाँले सङ्गठन र समाजको कुनै पनि क्षेत्र अगाडि बढाउनको निम्ति सङ्गठित हुनुपर्ने बताउनुभयो । प्यालेस्टिन, क्युवा, प्रजग कोरियाको विषयमा एक दुई पटक गीत, नाटक र नाचेर मात्रै अपुग हुने बताउँदै उहाँले अमेरिकी साम्राज्यवादविरुद्ध निरन्तर सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो ।
उहाँले नेपालभाषाको साहित्यमा हृदयचन्द्र सिंह प्रधान, जगतसुन्दर मल्लका योगदानबारे प्रस्ट्याउनुभयो । राणा शासकहरूले आर्थिक र जातीयरूपले नेवार समुदायलाई दबाएको बेला विद्रोही भावनाले नेपालभाषामा राणाविरोधी गतिविधिमा संलग्न भई नेपालभाषाको विकासको लागि योगदान पु¥याएकै कारण मास्टर जगतसुन्दर मल्लको सालिकमा नेपाल संवत्को पहिलो दिन सम्मान गरिएको स्पष्ट पार्नुभयो ।
आस्थाका संस्थापक अध्यक्ष सुलोचना छ्वाजूले आस्था सांस्कृतिक परिवारले विगतमा गरेको विभिन्न कार्यक्रमको चर्चा गर्दै आगामी दिनमा पनि विभिन्न रचनात्मक कायत्र्रmमहरू गर्नको निम्ति सुझाव दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष सुरेश परियारले समाजको यथार्थ चित्रण गर्दै साहित्यमा अँध्यारो पक्षमात्रै नदेखाई उज्यालो पक्ष पनि देखाई समाजलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ध्यान राख्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष बिलम सुवाल, आस्था सांस्कृतिक परिवारका अध्यक्ष सुजि ह्यङ्गोजू र तेजस्वी मानन्धरले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्यालेस्टिनमा भएको जातीय नरसंहारको विरुद्ध, चेलिबेटीमाथि हुने अत्याचार, देशभित्र भइरहेको भ्रष्टाचार, अनियमितता र विभिन्न समाजको यथार्थ चित्रण गर्दै आ–आफ्नो कविता वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *