भर्खरै :

प्यालेस्टिनी सङ्घर्षको कथा

खुला आकाशमुनि कालो धुवाँ मडारिहेको छ । कहीँ आगोको मुस्लो पनि देख्न सकिन्छ । आकाशको कुन कुनाबाट कहिले आगोको मुस्लो झर्छ थाहा नै नहुने रहेछ । सहरमा बम र बारुदले उडेका छानाविहीन घरहरू मात्र बाँकी छन् । सडकबाट घरका भित्री भित्ता, भान्सा र पलङहरू स्पष्ट देख्न सकिन्छ । भूताहा सहरमा धुलोले श्वास फेर्न पनि मुश्किल छ । सडकमा इजरायली सेनाको हतियारले सुसज्जित गाडीमात्र देख्न सकिन्छ । झ्याल ढोका र भित्ताविहीन घरहरू मानव कङ्कालसरि उभिरहेका छन् । सडकमा भत्केका घरहरूको भग्नावशेषमात्र देख्न सकिन्छ । भत्केका घरहरूको कुनै कुनामा महिला, वृद्ध र बालबालिकाहरू लुकेर बसेका देखिन्छन् । इजरायली सेनाले हमासलाई लखेटेको इजरायली समाचार संस्थाहरूले उल्लेख गरिरहेका छन् । अक्टोबर ७ को इजरायलमाथि हमास हमलापछि अन्तर्राष्ट्रिय पत्रकारलाई निषेध गरिएको ठाउँमा म कसरी पुगेँ, मलाई नि’ थाहा छैन ।
प्यालेस्टिनी युवाहरू पनि कोही जलेका र घाइतेमात्र देखिन्छन् । ती शिरमा केफिया लगाएका घाइते युवाहरू पनि आफ्ना साथी र आफन्तहरूलाई काँधमा बोकेर सुरक्षित स्थानको खोजीमा भौतारिरहेका छन् । पट्टी नहुँदा केफिया नै पट्टी बनेका पनि देखिन्छन् । गोला र बारुद पड्केको आवाज नजिकबाट सुनिन्छ । म अस्पतालको छेउमा उभिरहेको छु । अस्पतालको बोर्ड पनि खसिसकेको छ । घाइतेहरू बस्ने ठाउँ पनि छैन । भुइँमा घाइतेहरू पल्टेका देखिन्छन् । म तिनीहरूको प्यालेस्टिनियन अरेविक भाषा बुझ्दिनँ । डाक्टर र नर्सहरू पनि उपचारको भागदौडमा व्यस्त देखिन्छन् । कसैको आँखा रोएर फुलेका छन् त कोही पीडाले चिच्याइरहेका छन् । कसैको हात छैन, त कसैको खुट्टा । कसैको आँखामा पट्टीमात्र छ । भाषा जुन भए पनि पीडा र रोदनको भाषा एउटै हुँदोरहेछ । तिनका आँखाले तिनीहरूको मनोदशा बताउँछ र न्यायको माग गर्दोरहेछ ।
गाजा मानव वधशाला त होइन, तर जमिन वधशालमा झैँ मानव रगतको आहाल छ । आकाशबाट इजरायली जेट विमानबाट साइरन बज्छ । गल्लीहरूमा ट्याङ्क गुडेको सुनिन्छ । अस्पतालका बिरामी तथा घाइतेहरूमा सन्त्रासमात्र महसुस गर्छु । म उनीहरूको भाषा बुझ्दिनँ । अस्पताललाई खाली गर्न उर्दी दिइएजस्तो लाग्छ । कसैले मलाई हात तानेर अस्पताल बाहिर पु¥याउँछ । म आँटिँदै उनीहरूसँगै लाग्छु । गोली नलागेको र घायल नभएको कुनै मान्छे देख्दिनँ । चिहान बनिसकेको त्यो सहरका गल्लीहरूमा लासहरूलाई हेर्दै मलाई बङ्करमा लुकाउन लगिन्छ । फेरि आकाशमा हेलिकप्टर उडेको आवाज आउँछ । ठुला स्पिकरबाट मैले नबुझ्ने भाषामा चेतावनी दिइरहेको भान हुन्छ ।
केहीबेर सन्नाटा छाउँछ । अचानक जमिनै काँप्ने गरी आवाज आउँछ । मान्छेहरू चिच्याउँदै भाग्दै गरेको कोलाहल बङ्करसम्म सुनिन्छ । बङ्करमा रहेका युवाहरू बाहिर हेर्न जान्छन् र घाइतेलाई उद्धार गर्दै भित्र ल्याउँछन् । कसैका जीउमा लुगा छैन त कसैका छाला । म डरले थुरथुर काम्छु । युवाहरू दौडिँदै बजारबाट सुख्खा रोटीहरू ल्याउँछन् । आफूलाई खान नपुग्दा पनि मेरो हातमा पनि एक टुक्रो सुख्खा रोटी राखिदिन्छन् । पिउनलाई पानी पनि छैन । केही वृद्ध महिलाहरू साना बच्चाहरूलाई उनीहरूकै भाषामा कथा सुनाउँछन् । म चाहिँ नाक्वा भनेको मात्र याद गर्छु । सन् १९४८ को इजरायली आक्रमणको प्रतिरोधलाई नाक्वा भनेको सम्झन्छु । उनीहरू मलाई वातावरण सही भएको भए स्वागत गर्थे होलान् । तर, पनि मेरो ख्याल गरिरहेका छन् ।
मसँग व्यक्त गर्ने शब्द छैन । रणमैदानबाट एक जना बालिकालाई उद्धार गरी म बसेको बङ्करमा ल्याइन्छ । त्यो बालिका पहिले त मैले नबुझ्ने भाषामा रोइरहेकी थिइन् । पछि अङ्ग्रेजी भाषामा त्यहाँ बस्ने युवाहरूलाई आफ्ना आमाबुबाको उद्धारका लागि आग्रह गर्न थालिन् । उनीहरूका आँखामा आँसु पिलपिल बगिरहेको थियो । म नजिक आएर अङ्ग्रेजीमा “हाउ आर यू ?” भन्छिन् । म बोल्न सक्दिनँ । त्यतिकैमा दुई लासहरू सेतो कपडाले बेरेर ल्याइन्छ । अनि त्यो बालिका दौडेर ती लासहरूलाई अँगालो हाल्न जान्छन् । ती लासहरू उनका आमाबाबु थिएनन् । तर पनि अँगालो हाली रुन्छिन् । सायद कुनै आफन्तका होलान् । म अरेविक भाषा नजानेकोमा दुःखी हुन्छु ।
म सोच्न थाल्छु, ती सबै मान्छेहरूले कोही न कोही गुमाएका छन् । कसैका पिता छैनन्, कसैका आमा छैनन् अनि कसैका श्रीमान् त कसैका श्रीमती । कोही सन्तानको लासलाई काँधमा बोकेर हिँडिरहेका छन् । दृश्य महादेवले सती बोकेभन्दा फरक छैन । आकुलव्याकुल भई म छट्पटाउँछु । ए राक्षस, कतिसम्म मार्न सक्छौँ, मार । तिमी बस्ने यस जमिन तिम्रो होइन । अरुको चिहानमा तिम्रो महल बन्ला । तर, ती चिहानका आत्माहरू फेरि बौरिएर आउने छन् र तिमीसँग फेरि लड्नेछन् । न उनीहरूले शान्ति पाए, न तिमीले पाउनेछौ ।
मनमनै फटफटाउँदै गर्दा फेरि अर्को बम म बसेको बङ्करमाथि बज्रिन्छ । मानवता नभएको सहरमा राक्षसहरू चिहानमाथि नाच्दै गर्दा जिससदेखि मुहम्मदसम्म, बुद्धदेखि विष्णुसम्म संसारका सबै देवीदेवता अनि संसारका सबै नेता तथा विद्वान्सम्म लुथर मार्टिन किङका अनुयायीदेखि मोदीसम्म मौन छन् । जेरुसेलममा नेतान्याहुको युद्ध ताण्डव चल्दै गर्दा शान्तिवादी संयुक्त राष्ट्रसङ्घ टुलुटुलु हेरिरहन्छ, बाँकी राष्ट्रहरू संयुक्त राष्ट्रसङ्घलाई हेरिरहन्छ† हेराहेर चलिरहन्छ । सायद, शान्तिका लागि नोबेल पुरस्कार नेतान्याहुले पाउन बेर छैन । गाजा जलिरहन्छ ।
म सपनामै बर्बराउँछु, ए युद्ध पिपासुहरू तिमीहरूलाई रगत चाहिएकै भए आऊ, गाजामा मरेका लासहरूलाई पनि आफ्ना भान्सामा लैजाऊ । रगतको होली वाइन मिठो हुनसक्छ ।
नभए ती लासहरू फेरि बौरिएर आउनेछन्, कसैको चिहानमा बनेको स्वर्ग तिम्रो हुनै सक्दैन । केही दिनपछि ती लासहरूले तिमीविरुद्ध आवाज उठाउने छन् । तिमीले खनेको चिहानमा तिम्रै लागि ठाउँ हुनेछैन । किनकि, चिहानका दुःखी आत्माहरूले तिमीलाई त्यहाँ बस्न पनि दिने छैनन् ।
सपनामा म बर्बराएको सुनेर छोरी नजिक आई अँगालो हाल्छिन्, बाबा, के भयो ? म बिउँझिँदा मेरो अगाडि एउटा पुरानो ल्यापटप थियो । ल्यापटपमा गाजामाथि इजरायलको हमलाबारे एउटा भिडियो चलिरहेको थियो । भिडियोमा प्यालेस्टिनमा सञ्चालनमा रहेको अन्तिम अस्पताल कमल अदवन अस्पतालमा बम खसेको देखिन्छ । समाचारमा इजरायली रक्षा मन्त्रालयले कमल अदवन अस्पताललाई रकेटले उडाएको विज्ञप्ति जारी गरिएको सुन्छु । विज्ञप्तिको पछाडि चलिरहेको भिडियोमा चार जना घाइते युवा देखाइन्छ । अनि म माइकल हार्टले गाउनुभएको एउटा प्यालेस्टिनी गीत सुन्छु ।
हामी अब झुक्दैनौँ
आँखा धर्मराउने सेतो प्रकाश
आज राति गाजामा उज्यालिँदो आकाश
मानिसहरू ढाक्न दौडिरहेका छन्
मरेका वा जीवित छन् थाहा छैन
तिनीहरू आफ्ना ट्याङ्क र विमान लिएर आए
आगोको ज्वालाको लिएर
र बाँकी छैन अब केही
धुवाँ धुवाँमा बुलन्द आवाजमात्रै
हामी अब झुक्दैनौँ
रातमा, बिनासङ्घर्ष
तपाईंँ हाम्रा मस्जिद, घर र विद्यालय जलाउन सक्नुहुन्छ
तर, हाम्रो आत्मा कहिल्यै मर्दैन
हामी अब झुक्दैनौँ
गाजामा आज राति
महिला र बालबालिका उस्तै
रातारात नरसंहार
जबकि देशका तथाकथित नेताहरू टाढा बसेर
को सही वा गलत भन्ने बहस गर्दै छन्
तर, तिनका शक्तिहीन शब्द व्यर्थ थिए
बमहरू एसिड वर्षाजस्तै खसे
तर, आँसु, रगत र पीडामार्फत
तपाईँ अझै पनि धुँवै धुवाँबाट त्यो आवाज सुन्न सक्नुहुन्छ
हामी अब झुक्दैनौँ
रातमा, बिनासङ्घर्ष
तपाईँ हाम्रा मस्जिद, घर र हाम्रा विद्यालय जलाउन सक्नुहुन्छ
तर हाम्रो आत्मा कहिल्यै मर्दैन
हामी अब झुक्दैनौँ
गाजामा आज राति
हामी अब झुक्दैनौँ
रातमा, बिनाझगडा
तपाईँ हाम्रा मस्जिदहरू, हाम्रा घरहरू र हाम्रा विद्यालयहरू जलाउन सक्नुहुन्छ
तर हाम्रो आत्मा कहिल्यै मर्दैन
हामी अब झुक्दैनौँ
रातमा, बिनासङ्घर्ष
हामी अब झुक्दैनौँ
गाजामा आज राति (गीत लेखकबाट अनुवादित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *