रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
सन् २०२४ को छङ तु म्याराथनमा भाग लिन अक्टोबर २७ को बिहान उज्यालो हुनुअघि नै म आफू बस्ने छात्रावासको सबभन्दा नजिक पर्ने मेट्रो स्टेसन पुगिसकेको थिएँ । मेट्रो स्टेसन बाहिर मानिसको आवतजावत अझै पातलो थियो । तर, मेट्रोभित्र भने एकाबिहानै अर्कै चहलपहल थियो । चिनशा सङ्ग्रहालय परिसरबाट सुरु हुने म्याराथन दौडमा भाग लिन मानिसहरू मेट्रोमा पस्न हतार गरिरहेका थिए । त्यो दिन म्याराथन दौडमा भाग लिने प्रतियोगीहरूलाई मेट्रो सेवा निःशुल्क थियो ।
मेट्रो कुर्दा कुर्दै स्टेसनमा म्याराथन दौडका सहभागीहरूको ठुलै जमघट भइसकेको थियो । सबै जना फूर्तिला थिए । कम्तीमा २२ किलोमिटर, नभए ४२ किलोमिटर दौडिन कम्ती स्फूर्तिले पुग्दैनथ्यो । छोङछिङबाट थिङ आफ्नी बुबासँगै अघिल्लो दिन छङ तु आएकी थिइन् । ७० वर्षका उनका बुबाको म्याराथन दौडिने चाहनामा साथ दिन उनी बुबासँगै छङ तु आएकी हुन् । म्याराथन दौडिन तम्तयार मानिसको उत्साह देखेर उनलाई आफू सहभागी बन्न नपाउँदा थकथक लागिरहेको थियो ।
केही बेरमा मेट्रो आइपुग्यो । मेट्रोभित्र पनि सबै म्याराथन दौडका सहभागी मात्र थिए । हिजोआज चीनका प्रायशः प्रमुख सहरमा वर्षको एक दिन म्याराथन दौड आयोजना गर्ने चलन छ । त्यो दिनको तयारी आयोजकले महिनौँ अघिबाट थालेको हुन्छ । यसपालिको छङ तु म्याराथनमा सहभागी बन्न मैले पनि झन्डै ५ महिनाअघि आवेदन भरेको थिएँ । अपेक्षितभन्दा बढी सङ्ख्यामा आवेदन पर्ने भएकोले हरेक वर्ष आवेदकहरूमध्येबाट गोलाप्रथा गरी नाम छान्ने गरिन्छ । मैले झन्डै तीन महिनाअघि आफू पनि दौडको लागि छानिएको सूचना पाएको थिएँ ।
अन्यत्र जस्तै छङ तु म्याराथनका पनि दुई विधा छन् । पहिलो विधाको म्याराथनमा प्रतियोगीले ४२ किलोमिटर दौडिनुपर्छ । अर्को, अर्ध म्याराथन प्रतियोगीले झण्डै २२ किलोमिटर दौडिनुपर्छ । प्रायशः बिहान केही समय दौडिने बानी भएकोले मलाई पनि २२ किलोमिटर त दौडिन सक्छु कि भन्ने आत्मविश्वास जागेको थियो । त्यही भएर एक जना नाइजेरियाली मित्रले उपलब्ध गराएको विद्युत्तीय आवेदन पत्र भरेको थिएँ । दौडमा छानिँदा मलाई सुरुमा खासै विशेष अनुभव भएको थिएन । आवेदन भरेँ, छानिएँ, अब दौडिने हो भन्ने मात्र लागेको थियो । तर, पछि हामीलाई पढाउने एक जना शिक्षकले आफूले लगातार तीन वर्षदेखि म्याराथनमा सहभागी हुन आवेदन भरे पनि अहिलेसम्म नछानिएको भन्दै दुःख मनाउ गर्दा मलाई ए यो त विशेष कुरा पो रहेछ भन्ने अनुभव भयो ।
चिनशा सङ्ग्रहालय परिसरमा अझै आकाश पूरा उज्यालो भइसकेको थिएन । तर, दौडमा भाग लिन आएका हजारौैँ मानिसहरू आफ्नो क्रम सङ्ख्याअनुसार तोकिएको केन्द्रमा जाँदै थिए । थिङ र उनका बुबासँग गफिँदै हामी लमकलमक हिँड्दै थियौँ । खाली पेट दौडिँदा वित्यास पर्ला कि भनी बाटोमा खोलिएको एउटा चमेना गृहमा एउटा पाउःच (ठुलो आकारको मःमः) र एक गिलास त्यौच्याङ (भटमासको पेय, सोया मिल्क) खाएपछि अर्कै उत्साह थपियो ।
प्रतियोगीहरूले बोकेका झोलाको जिम्मा लिने गाडीहरूमा झोला दिन मानिसहरू लाइन लागेका थिए । ती गाडीहरू दौड अन्त्य हुने स्थानमा राखिने र दौड सकेपछि त्यहीँबाट आफ्ना सामान लिएर जान सकिने सुविधा दिइएको थियो ।
बिहान ७ः३० मा दौडको आरम्भ बिन्दुमा पुग्दा त्यहाँ दसौँ हजार मानिसको भेला भइसकेको थियो । आकाशबाट हेलिकप्टरले भुइँमा भेला भएका मानिसहरूको रङ्गिन सागरको छायाङ्कन गर्दै थियो । कतिबेला सिट्ठी फुक्ला र दौडौँला भनी मानिसहरू कोही खुट्टा तन्काउँदै थिए, कोही उठबस गर्दै थिए भने धेरै जना मोबाइलमा वरपरको उत्साहप्रद दृश्य कैद गर्दै थिए ।
जब ७ः५० बज्यो, हामी बसेभन्दा निकै अगाडि दुन्दुभी फुकियो । तब सुरु भयो, छङतु म्याराथन २०२४ ।
चौडा सडकमा हजारौँ मानिसहरू एकसाथ दौडिँदाको अनुभव बेग्लै हुनेरहेछ । प्रतियोगिता नै भए पनि त्यहाँ कसैलाई दौडेर केही जित्नु थिएन । बरु आफूले तोकेको लक्ष्यसम्म रमाइलो गर्दै दौड्नु नै सबैको ध्येय देखिन्थ्यो । धेरै प्रतियोगीहरू नियमित दौडिरहने बानी परेका हुन् भन्ने कुरा उनीहरूले लगाएको लुगा, उनीहरूको चालढालबाटै अनुमान लगाउन सकिन्थ्यो । विशेषतः उमेरले बुढ्यौली लागिसकेका ज्येष्ठ नागरिकहरूसमेत फूर्तिका साथ दौडिरहेका थिए । उनीहरूको गति देख्दा ‘बाघ बुढा स्याल तन्नेरी’ को उखान दिमागमा खेल्थ्यो । नियमित दौडिने भएर हुनुपर्छ उनीहरूको अनुहार र शरीर उमेरजस्तै बुढो देखिँदैनथ्यो । हेर्दा दुब्ला दुब्ला देखिने ती मानिसहरूको स्फूर्ति लोभलाग्दो थियो । मोटाघाटा हुनुलाई स्वस्थ र राम्रो मान्ने पुरानो सोचाइलाई उनीहरूको पातला कायाले चुनौती दिइरहेको थियो । ७० कटेका उनीहरू आजको चीनकै गतिमा अघि दौडिरहेका थिए ।
छङ तु म्याराथन दौडिनेहरू छङ तुका मात्र थिएनन् । चीनका विभिन्न सहर र प्रान्तबाट मानिसहरू त्यो दौडमा सहभागी बन्न आएका थिए । मलाई पछ्याउँदै दौडिरहेका एक जना युवक ४२ किलोमिटर दौडिने उत्साहका साथ क्वान्चौबाट छङ तु आएका रहेछन् । सिछुवानकै विभिन्न जिल्लाबाट पनि दौडमा भाग लिन मानिसहरू अघिल्लो दिन नै छङ तु आइरहेका थिए ।
दौडको सबभन्दा रमाइलो पक्ष भने सडकका दुवै किनारामा बसेर हजारौँ स्थानीयहरूले प्रतियोगीहरूमा भरिरहेको उत्साह थियो । स–साना बालबालिका, स्कूले केटाकेटी, युवायुवती, अधबैँसे र ज्येष्ठ नागरिकहरूसमेत सडक किनारामा बसेर च्या यौ च्या यौ भनी कराइरहेका थिए । ‘च्या यौ’ को शाब्दिक अर्थ ‘तेल थप’ भन्नु हो । यसको खास अर्थ ‘तिमीले सक्छौ, अझ बल गर’ भन्ने हुन्छ । कुनै पनि चुनौतीपूर्ण काम गर्दा चिनियाँहरू आपसमा च्या यौ च्या यौ भन्दै उत्साह दिने गर्छन् ।
सडकका दुवैतिरबाट मानिसहरूले एकै स्वरमा ‘च्या यौ च्या यौ’ भनी कराएको आवाज सुन्दा उसै पनि अझ दौडौँ भन्ने उत्साह थपिन्थ्यो । भक्तपुरको बिस्का जात्रामा भैलखः तान्दा ‘हस्से हाइँसे’ ‘हस्से हाइँसे’ भन्दा जस्तो जोश जात्रालुमा पलाउने हो, उस्तै उत्साह ती मानिसहरूको आवाजले हामीमा थपिरहेको थियो । पसिनाले जिउ निथु्रक्कै भइसके पनि मनमा दौडिने उत्साहमा भने कति पनि कमी आएको थिएन । बिच बिचमा स्वास्थ्यकर्मी र खानेपानी दिने स्वयम्सेवकहरू प्रतियोगीहरूलाई सहज बनाउन तम्तयार थिए ।
प्रतियोगीहरू छङ तु सहरका अधिकांश प्रमुख थलो घुम्दै म्याराथन दौडिरहेका थिए । म्याराथनको लागि प्र्रायशः सडकमा अन्य आवागमन बन्द गरिएको थियो ।
समय घर्केको पत्तो नपाउँदै हामी २२ किलोमिटर दौडेर गन्तव्यमा पुग्यौँ । अर्ध म्याराथनको अन्तिम गन्तव्य हाम्रै क्याम्पस परिसर थियो । हामी त्यहाँ पुग्दा सबैको गगनभेदी तालीको आवाजले सबै थकाइ निमेषभरमै सकिएको अनुभव भयो । ४२ किलोमिटर दौडिने प्रतियोगीहरू भने अझै अघि बढे ।
चिनियाँ जनता आफ्नो स्वास्थ्यप्रति ज्यादै सजग छन् । प्रायशः सबै चिनियाँहरू कुनै न कुनै खालका शारीरिक व्यायाम गरिरहेका हुन्छन् । कोही बिहानै दौडिन्छन्, कोही साँझ । कोही ब्याडमिन्टन खेल्छन्, कोही बास्केटबल, टेबुलटेनिस, कोही टेनिस, कोही भलिबल खेल्छन्, कोही पौडी खेल्छन् । युवाहरू साइक्लिङ गर्छन् । छङ तु सहरको बाहिरी घेरामा बनाइएको एक सय किलोमिटर लामो साइक्लिङ रुटमा साइक्लिङ गरिरहेका युवायुवतीहरू कहिल्यै खाली हुँदैनन् । प्रायशः सबै ती खेलकुदका पूर्वाधारको प्रयोग निःशुल्क गर्न पाइन्छ । एकाध पूर्वाधारको प्रयोग गर्न भने न्यूनतम शुल्क तिर्नुपर्छ ।


यस्ता खेलकुदमा सामेल नहुने गृहिणी महिलाहरू पनि साँझको खाना खाइसकेर आफ्नो टोेलको खुला ठाउँमा जम्मा भएर नाच्ने गर्छन् । उनीहरूको लागि त्यसरी नाच्नु शारीरिक र मानसिक व्यायाम मात्र होइन, बरु महिलाहरूबिच एकताको सूत्रसमेत बनेको छ । यसरी सामूहिकरूपमा नाच्ने महिलाहरू स्थानीय महिला सङ्गठनका हुँदा रहेछन् । कोभिड महामारीको समयमा त्यस्ता महिला सङ्गठनले सङ्कट व्यवस्थापनमा ठुलो भूमिका खेलेका थिए ।
केही ज्येष्ठ नागरिकहरू भने ताइची र कुङफुबाट पनि शारीरिक व्यायाम गरिरहेका देखिन्छन् । हाम्रो क्याम्पस नजिकै पर्ने वाङच्याङ पार्कमा बिहान प्रातः भ्रमणमा निस्कँदा तीन जना ९० वर्ष कटेका ज्येष्ठ नागरिक नियमितरूपमा ताइची अभ्यास गरिरहेका हुन्छन् । उनीहरूको लागि बिहान केही घण्टा यसरी ताइचीको अभ्यास गर्नु दैनिकीको अभिन्न अङ्ग भइसकेको लाग्छ । निकै सुस्त गतिको चिनियाँ धुनमा उनीहरू आफ्नै गतिमा ताइची अभ्यास गरिरहेका हुन्छन् । उनीहरूको ताइची मलाई एक प्रकारको ध्यानजस्तै लाग्छ ।
चिनियाँहरूको एउटा उखान छ, ‘खाना खाएर उन्नानसय पाइला हिँड, तिमी एक सय वर्ष बाँच्छौ ।’ भन्नुको तात्पर्य, खाना खाएर केही हलुका शारीरिक व्यायाम गर्नु भन्ने हो । यस्तै सांस्कृतिक पृष्ठभूमिको कारण पनि चिनियाँहरू शारीरिक व्यायाम र खेलकुदलाई विशेष महत्व दिइरहेका हुन्छन् । यो सबै गतिविधि नियाल्दा चिनियाँहरूले खेलकुदलाई आफ्नो जीवन पद्धतिसँग जोडेका छन् भन्नुपर्र्छ ।
बीस किलोमिटर १ घण्टा ५५ मिनेटमा दौडिने उत्साह मलाई मेरो शारीरिक अवस्थाले भन्दा म्याराथन दौडको वातावरण र वरपरका स्थानीयले दिएको हौसलाले सम्भव बनाए जस्तो लाग्छ । चिकित्सकहरू मानिसको शारीरिक क्षमता मानसिक अवस्थामा पनि आधारित हुन्छन् भन्छन्, हो रहेछ ।
Leave a Reply