“पुँजीवादी निर्वाचनमा हुने नहुने सबैखाले तिकडम हुनुमा कुनै आश्चर्य होइन”
- जेष्ठ २६, २०८३
कार्तिक १५ गते सिस्नुपानी नेपालले विगतका वर्षहरूमा झैँ ‘सिस्नुपानी देउसी २०८१’ आयोजना गर्याे । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री खड्गप्रसाद ओली प्रमुख अतिथि थिए । प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, न्यायाधीश, सुरक्षा निकायका प्रमुखहरूलगायत उच्चपदस्थ पदाधिकारीहरूसमेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा कलाकारहरूले शासक दलका नेता, प्रधानमन्त्री, मन्त्री र गलत काम गर्ने जनप्रतिनिधिहरूलाई नाङ्गेझार पारे ।
देउसी भैलो भट्याउँदै गर्दा सम्बन्धित नेताहरूको अनुहार हेर्न लायक देखिन्थ्यो । कार्यक्रम हेरिरँहदा देशघाती र जनघाती नेताहरूलाई सिस्नुलाई पानीमा चोपेरै बेसरी प्रहार गरेको अनुभव हुन्थ्यो । व्यङ्ग्य बाणले दर्शकहरूलाई मनोरञ्जनमात्र प्रदान गरेन बरु भ्रष्टाचारी नेताहरूको मुटु नै छियाछिया हुने गरी घाइते बनाएको प्रतीत हुन्थ्यो ।
शासन सत्ताको लागि ‘स्वर्ग र नर्कसँगै जाने’ प्रतिबद्धता गर्ने एमाले र माओवादीहरूको गठबन्धन रातभरमै परिवर्तन गरी एमाले र नेकाबिच गठबन्धन बनेको विषयलाई लिएर कलाकारहरूले लाजले ‘आत्महत्या’ गर्नुपरेको भनी बडो रोचक तरिकाले प्रस्तुत गरेका थिए । बीपी, गणेशमान, किसुनजीको समयको ने.का. र पुष्पलाल, मनमोहन, मदन भण्डारीको समयको एमाले पार्टी अहिले आएर ओली र देउवाले सिद्धान्त बेचेर खाएको उनीहरूले सरल भाषामा बताए । एमालेले मिनबहादुर गुरुङसँग दान लिएको जग्गा र पार्टी कार्यालयसमेत दान दिनेसम्बन्धी प्रस्तुतिमा हलबाट ठुलो हुटिङ भयो । त्यतिबेला प्रधानमन्त्री ओलीले केही अप्ठेरो महसुस गरेको प्रस्ट बुझ्न सकिन्थ्यो ।
प्रधानमन्त्री ओलीलाई एमालेप्रति बढी प्रहार भएकोमा भने चित्त बुझेको थिएन । अझ मिनबहादुरसँग जोडिएको विषयमा त उनले जवाफै फर्काए । उनले समापनमा बोल्दै भने, “सत्यमा आधारित भएर बोल्ने गरौँ ! गालीगलौज हाम्रो संस्कृति होइन । शिष्ट, सभ्य र मर्यादित तवरले बोल्ने गरौँ ! दान नभएका आफ्नै पैसाले बनाएका कुन चाहिँ पार्टी अफिस छ र मलाई देखाई दिनुहोस् न । आफ्नै पार्टीले चुनाव लडेका कुन कुन पार्टीहरू छन् ? अनुसन्धान गर्ने हो भने २० जनाले दान दिएको र १ जनाले दान दिएको फरक त्यति छ ।”
उनले मिनबहादुर गुरुङबाट ‘दान’ लिएको जग्गाबारे बचाउ मात्रै गरेनन् बरु अरू पार्टीहरूलाई पनि सङ्गीन आरोप लगाए । चुनाव पनि सबै पार्टीहरूले भ्रष्टाचारी र तस्करहरूबाट आर्थिक सहयोग लिएरै लड्ने गरेको खुलासा गरे । सबै पार्टीको हकमा नभए पनि शासक दलहरूको हकमा उनको भनाइलाई साँचो मान्न सकिन्छ । ‘सर्पले सर्पको खुट्टा देख्छ’ भनेजस्तै नेकाका केही युवा नेताहरूले एमालेले जग्गा दान लिएको विषयमा सार्वजनिकरूपमा आलोचना गरेका थिए । प्रधानमन्त्रीले त्यसको पनि जवाफ फर्काए । उनको आसय थियो– नेका र माओवादी पनि दूधले धोएका पार्टी होइनन् ।
राजनीतिमा नैतिकताको प्रश्न :
विगतको राजनीतिक इतिहासलाई हेर्ने हो भने पार्टीका अधिकांश नेता कार्यकर्ताहरू इमानदार, नैतिकवान र सच्चरित्रका थिए । उनीहरू पार्टीको सिद्धान्त र विचारप्रतिको निष्ठा र समर्पणको भावनाले काम गर्थे । त्यसैले नेता कार्यकर्ताहरूको जनताबिच छुट्टै सम्मान थियो । पुष्पलाल र बीपी कोइरालाले फरक फरक पार्टी र सिद्धान्तको प्रतिनिधित्व गर्थे । तापनि ती नेताहरूप्रति सबैले सम्मान गर्थे । त्यतिबेला देशमा पञ्चायती व्यवस्था थियो । पार्टी कार्यकर्ताहरू देशमा राजनैतिक परिवर्तन ल्याउने उद्देश्यले काम गर्थे । नेता कार्यकर्ताहरूमा न कुनै लोभ थियो न कुनै पदमा जाने लालसा नै । पार्टी नेतृत्वप्रति पार्टी कार्यकर्ता र जनताको अगाढ विश्वास थियो । पार्टीको निर्देशन पाएमा बम र बन्दुक बोक्न र जीवन बलिदान दिनसमेत तयार हुन्थे पार्टी कार्यकर्ताहरू । के अहिले त्यो सम्भव छ ? त्यतिबेला र अहिले फरक यति हो कि त्यसबेला पार्टी कार्यकर्ताहरू राजनीतिलाई देश र जनताको सेवाको भावनाले लिन्थे भने अहिले सरकारमा गएर कसरी बढीभन्दा बढी लिने भनेर सोच्थे ।
एमालेबाट असन्तुष्ट भएर एकीकृत समाजवादीमा लागेका घनश्याम भुसालले एक सार्वजनिक कार्यक्रमा ठिक्कै भनेका छन्,“नेकाले घुस खान राजाबाट सिक्यो । नेकाबाट हामी एमालेले सिक्यौँ । नेका र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकायौँ ।” सार्वजनिकरूपमा खुला कार्यक्रममा घूस लिएको स्वीकार गर्नेहरूले नैतिकता, इमानदार र असल चरित्रको भनेर फलाक्नुको कुनै अर्थ छैन । भुषाल स्वयं एमालेमा आफूले चाहेको पद नपाएपछि माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीमा लागेर महासचिव पड्काएका नेता हुन् । उनी असफल कृषिमन्त्री पनि हुन् । पशुपक्षीलाई सिक्री वा डोरीले बाँध्ने गरिन्छ भने मान्छेलाई नैतिकता वा लाजले । तर, नैतिकताहीन, चरित्रहीन र सिद्धान्तहीन पार्टीका नेता कार्यकर्ताहरूलाई बाँध्ने प्रविधिको अहिलेसम्म विकास भएको छैन ।
भ्रष्टाचारीले भ्रष्टाचारको विरोध गर्ने, सहकारी ठगले अर्को सहकारी ठगको विरुद्ध चर्को आवाज उठाउने र सरकारमा जाने सहमति भएमा सुटुक्क कुरा मिलाउने अहिले सामान्य भएको छ । गण्डकी प्रदेशका एक जना नामुद गुण्डा अहिले छ पटक मन्त्री भइसके । उनले मन्त्री पद नै बिक्रीमा राख्ने व्यङ्ग्यसमेत गरेर शासक दलका नेताहरूको हुर्मत लुटे । उनी कहिले एमाले त कहिले नेकाको सहयोगमा मन्त्री बनेका थिए । पद र पैसाको लागि सिद्धान्त बेच्नेहरूले नै नेपालजस्तो सुन्दर र विकासको अत्यन्त सम्भावना बोकेको देशलाई हरिकङ्गाल बनाएका हुन् । अहिले ती गुण्डा नाइके, नेका र एमाले नेताहरूमा जनताले कुनै भेद देखेनन् ।
राजनीतिमा धन दौलतभन्दा नैतिकता अत्यन्त महङ्खवपूर्ण हुन्छ । नैतिक बल नै भविष्यमा भौतिक बलमा परिणत हुने हो । नैतिक पतन भएको जतिसुकै शक्तिशाली व्यक्ति वा संस्था पनि त्यो लामो समय टिक्न सक्दैन । नेपालमा २०५८ सालमा दरबार हत्याकाण्ड भयो । जनताले त्यसको दोष भाइ ज्ञानेन्द्रलाई लगाए । सत्य जे सुकै भए पनि उनी जनताको नजरमा ‘हत्यारा’ देखिए । राजतन्त्रप्रतिको जनताको विश्वास घट्यो । अन्ततः २०६२/६३ को जनआन्दोलनले २४० वर्षको इतिहास बोकेको राजतन्त्र समाप्त पार्यो र देश गणतन्त्रमा प्रवेश भयो । एक लाख सेना, प्रहरी र लाखौँ कर्मचारी सबै शक्तिले भरिपूर्ण राजतन्त्र त्यति छिट्टै समाप्त हुनुमा तत्कालीन राजाप्रति जनताको विश्वास घट््नु पनि हो ।
कुनै बेला देश माओवादीमय थियो । उनीहरू ८० प्रतिशत भूमि कब्जा गरेको दाबी गर्थे । शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा एक्लै चुनाव लड्दा १२० सीट माओवादीले प्राप्त ग¥यो र ३० लाखभन्दा बढी मत प्राप्त ग¥यो । जनताको भावनाअनुसार काम नगरी हरेक पटक सरकारलाई मात्रै केन्द्रित गरी अगाडि बढ्दा अधोगतितिर लाग्यो । अहिले चुनावमा नेकाजस्तो देशकै ठुलो पार्टी र अन्य पार्टीहरूसँग गठबन्धन गर्दा पनि कुल ३२ सीटमा चित्त बुझाउनु प¥यो । हुन त पैसा र शक्तिको भरमा चुनाव लड्ने यो पुँजीवादी पार्टीमा मतलाई मात्र आधार लिनु ठीक होइन । तर, कहिले एमालेसँग मिलेर चुनाव लड्ने र काङ्ग्रेससँग सरकार बनाउने, नेकासँग गठबन्धन गरेर निर्वाचन लड्ने र एमालेसँग सरकार बनाउने जस्ता प्रचण्डको अस्थिर, सिद्धान्तहीन र अराजनैतिक गतिविधिले पनि माओवादीको ओरालो लाग्ने क्रम सुरु भएको भने पक्का हो ।
जनताबिच शासक दलहरू नाङ्गिएकै कारण नयाँ नारा लिएर आएका स्वतन्त्र पार्टी चुनावमा भाग लिएकै वर्ष २१ सीटसहित देशको चौथो पार्टी बन्न सफल भएको हो । विगतमा शासन सत्तामा गएका पार्टीहरूले गरेका नराम्रा कामकै परिणाम स्वतन्त्र पार्टी अगाडि आएको हो । यो वर्ष सहकारी काण्डमा अध्यक्ष स्वयं मुछिएपछि भने नैतिकताबारे गम्भीर बहस सुरु भएको छ । उनलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा आफू निर्दोष भएको भनी उनको पार्टीले सडक आन्दोलन ग¥यो । यो स्वतन्त्र पार्टीकै निम्ति प्रत्युत्पादक हुने धेरैको अनुमान छ । वास्तवमा अदालतको सम्मान गरी उनी स्वयं उपस्थित भएका भए उनले सफाइ पाएमा नेपालको राजनीतिमा थप बलियो भएर प्रस्तुत हुने सम्भावना थियो । नेपाली जनता कतिसम्म सोझा छन् भने दोहोरो पासपोर्ट, दोहोरो नागरिकता, मर्न दुरुत्साहन र सहकारी ठगीजस्ता आधा दर्जन मुद्दा खेपिरहेका व्यक्तिलाई नै चितवनका जनताले उपनिर्वाचनमा पुनः जिताएर पठाए ।
भागबन्डामा सबै कुरा मिलेको अवस्थामा जस्तोसुकै अनैतिक कार्य गर्न पनि चुपचाप बस्ने शासक दलहरू जब सरकार परिवर्तन हुन्छ तब एकले अर्कोलाई नैतिकताको पाठ सिकाउन पछि पर्दैनन् । उनीहरू एकले अर्काको सत्तोसराप पनि गर्छन् र पोलापोल पनि गर्छन् । सरकारमा जानु भनेकै देशको सम्पत्ति लुट्नको लागि हो भने गलत बुझाइ उनीहरूमा छ । मिल्ने बेला सबै ठीक नमिलेपछि सबै गलत भन्ने कुरा सही होइन ।
शासक दलहरूबिच जति चर्को विवाद हुन्छ त्यति नै जनतालाई फाइदा हुन्छ । इमानदार जनतालाई शासक दलहरूले गरेका कानुनी डकैती र भ्रष्टाचारका सबै कुराहरू थाहा हँुदैन । उनीहरू आफू इमानदार देखाउन अरूलाई बेइमानीको आरोप लगाउँछन् तर जनताका नजरमा उनीहरू सबै बेइमान, भ्रष्टाचारी र अनैतिक छन् ।
देशलाई अगाडि बढाउने हो भने देशको नेतृत्व गर्ने शासक दलका नेता कार्यकर्ताहरू इमानदार र नैतिकवान हुनुपर्छ । त्यो आजका नेका, एमाले र माओवादीका वर्तमान नेतृत्वबाट सम्भव देखिँदैन । अध्यक्ष रोहित भन्नुहुन्छ, “कर्कलो खाने सुङ्गुर र पैसा खाने कार्यकर्ता उस्ता उस्तै हुन्छन् ।” हो, अहिले शासकवर्गका नेता कार्यकर्ताहरू पैसा खान पल्किसकेका हुँदा तिनीहरूबाट सुधारको सम्भावना देखिँदैन ।
सिस्नुपानी नेपालले गलत गर्ने नेताहरूलाई निरन्तर यस्तै सार्वजनिक मञ्चबाट सधँै खबरदारी गरिरहने जनताको अपेक्षा छ ।
Leave a Reply