सरकारमा पुगेपछि पञ्चायती निर्दलीय भाषा बोल्ने बहुदलवादीहरू ?
- चैत्र ९, २०८१
२०६२/६३ को जनआन्दोलनपछि नेकपा (माओवादी) खुला राजनीतिमा आयो । काङ्ग्रेस र एमालेको देशघाती र जनविरोधी क्रियाकलापबाट वाक्कदिक्क भएका नेपाली जनताले देश र जनताको लागि नेकपा माओवादीले केही गर्ला कि भन्ने विश्वास गरेका थिए । चिया पसल, पत्रिका पसल र चार जना मान्छे भेटघाट हुने ठाउँमा समेत नेकपा (माओवादी) कै बारे कुराकानी हुन्थ्यो । त्यसबेला म गुण्डुको चन्द्रसूर्य निमाविमा पढाउन जान्थेँ । भदौ महिनाको दोस्रो हप्तातिर नेकपा (माओवादी) ले गुण्डुमा कार्यक्रम राखेको थियो । त्यो मलाई थाहा थिएन । म कक्षा सातमा पहिलो पिरिएड सकाएर अफिसमा विद्यार्थीहरूको गृहकार्य हेर्दै थिएँ । कहिल्यै नदेखेको एक जना मान्छे अफिसमा बसिरहेकालाई एक जना सरले चिया खानुस् भन्दै कर गरिरहे । तर, त्यो मान्छेले म चिया खान्दिनँ भनिरहँदा पनि सरले चिया ख्वाउन जोड गर्दै थिए । अरु शिक्षकशिक्षिकाहरू पनि आफ्नो कक्षा सकाएर अफिसमा आउँदै थिए । चियापानकै क्रममा मसँग पनि कुराकानी भयो । उनी नेकपा (माओवादी) का कमान्डर जीवन श्रेष्ठ रहेछ ।
कुराकानीको सुरुमै उनले धम्काउने शैलीमा तपाईँ रोहित समूहको होला होइन भनी सोधे । मैले नम्र भाषामा हो भनेँ । उनले चर्काे स्वरमा भन्दै गए, “‘रोहित’ भनेको सामन्तका नाइके हुन् । केही नजानेका किसानहरूलाई अन्धकारमा राखेर भक्तपुरमा सामन्तहरूको पक्षमा राजनीति गरेको अब सबैले बुझ्न थाले । पञ्चायती चुनावमा भाग लिएर राजालाई खुसी पार्ने रोहितको राजनीति सबैले बुझिसकेको हुँदा पढेलेखेका सचेत नेपाली जनताले रोहितलाई पत्याउने छैनन् । भक्तपुरका किसानहरूले पनि रोहित को हुन् ? रोहितले कसको लागि राजनीति गरेका छन् भन्ने कुरा बुझिसके ।” यसरी उनमा शक्तिको दम्भ थियो । त्यसपछि मैले आफ्नो कुरा राखेँ ।
तपाईँहरूले माओवाद कसरी पढ्नु भयो ? मलाई थाहा छैन । हामीले पढेको माओ त्सेतुङ विचारबारे म केही भन्छु ।
१) कम्युनिस्टहरूले बहुमत कामदार जनताको हितमा काम गर्नुपर्छ । नेपालमा बहुमत जनता भनेको किसानवर्ग हो । त्यसैले, काम गरी खाने किसानहरूले जोत भोग गरी आएको जग्गाको मोहियानी हकको लागि भर्पाई आन्दोलन र बाली काट्ने आन्दोलन गरे । बाली काट्ने आन्दोलनको सिलसिलामा किसान नेता ज्ञानबहादुर न्याइच्याईलाई चोरी मुद्दामा फसाउन खोजियो । चोरी मुद्दामा फसाउने षड्यन्त्र असफल भएपछि पञ्चायती प्रशासनले किसान नेता ज्ञानबहादुर न्याइच्याईलाई सुरक्षा कानुन लगाएर जेलमा राख्यो । कति ठाउँमा प्रहरी र किसानहरूबिच भिडन्त भयो र धेरै किसान कार्यकर्ताहरू घाइते भए । बाली बुझाएबापत भर्पाई दिलाइदिने क्रममा चोरी मुद्दामा फसाइदिने चेतावनी दिइन्थ्यो । निःस्वार्थी निडर हुन्छ भन्ने भावनाका साथ मोही किसानको पक्षमा लागेका किसान कार्यकर्ताहरू सामन्त स्वभावका जग्गाधनीहरूको धम्कीको अगाडि नडराई भर्पाई लिइदिन्थे । यसरी सामन्ती स्वभावका जग्गा धनी र प्रहरी प्रशासनको विरोधमा सङ्घर्ष गरी किसानहरूको मोहियानी हक सुरक्षा गरी कामदारवर्गको हितमा जीवन दिने अध्यक्ष रोहित सामन्तका नाइके हुने भए प्रचण्ड र बाबुराम जस्तालाई कसको नाइके भन्नुपर्ला ?
२) मुख्य शत्रुलाई एक्लो पार्न सानातिना शत्रुसँग मिल्नुपर्छ । नेकपा (माओवादी) ले वर्तमान अवस्थामा मुख्य शत्रु कसलाई मानेको छ ? के नेकपा (माओवादी) को मुख्य शत्रु नेमकिपा हो ? यदि नेमकिपा नेकपा (माओवादी) को मुख्य शत्रु हो भन्ने तपाईँहरूले भन्ने गरेका संसदवादी पार्टीहरू नेपाली काङ्ग्रेस, राप्रपा, मधेसवादी दलहरू र नेकपा (एमाले) जस्ता पुँजीवादी पार्टीहरू नेकपा (माओवादी) का मित्र शक्ति हुने भयो । किनभने, तपाईँले अहिले रोहितलाई सामन्तको नाइके, पञ्चायती चुनावमा भाग लिएर राजासँग पैसा लिएर जनविरोधी राजनीति गरेको भनी कडा आलोचना गर्नुभयो के तपाईँको धारणा नै नेमकिपाप्रति नेकपा (माओवादी) को धारणा हो ? अध्यक्ष रोहितप्रति तपाईँको शत्रुतापूर्ण अभिव्यक्तिले नेकपा (माओवादी) को शत्रुको घेरा फराकिलो र मित्रको घेरा साँघुरो हुने भएकोले तपाईँको अभिव्यक्ति माओ विचारधाराभित्र पर्र्दैन । मुख्य शत्रु र मित्र छुट्याउन तपाईँहरू चुक्नुभयो । यस्तै पाराले काम गर्दै जानुभयो भने तपाईँहरू सफल हुने छैनन् ।
३) जनताको सियो पनि सित्तैमा नलिनु भनी अध्यक्ष माओ त्सेतुङले भन्नुभएको थियो । तर, माओवादको नाममा तपाईँहरूले गाउँ घरमा गरिब जनताले पालेका खसी बोका लुटेका थिए, भकारी फोडेका थिए र कार्यकर्ता तथा जनमुक्ति सेनालाई भात पकाउन लगाउँथे । बन्दुक तेस्र्याएर गाउँले जनताको पसिना सित्तैमा खानु माओवादीको नाममा माओको बदनाम गर्नु होइन ?
४) पञ्चायती निर्वाचनमा भाग लिएको कारणले तपाईँले अध्यक्ष रोहितलाई राजावादी र जनविरोधी नेता भनेर बेतुकको आलोचना गर्नुभएको सवालमा अध्यक्ष रोहितले लेख्नुभएको ‘नेपाल कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचार’ हरूको खण्डन भन्ने पुस्तक पढ्न सल्लाह दिन्छु । सन् १९०८ देखिको रुसको जार सरकारले गराउने ड्युमाको निर्वाचनमा लेनिनले नेतृत्व गर्नुभएको बोल्शेविक पार्टीले भाग लिएको थियो । प्रथम विश्व युद्धमा रुस सामेल भएको विरोधमा युद्धको मोर्चामा गएर बोल्शेविक पार्टीको तर्फबाट निर्वाचित ड्युमा सदस्यहरूले भाषण दिन्थे । रुसी जनताका शत्रु विदेशमा होइन हाम्रै देशभित्र छ । त्यसैले, तपाईँहरूको बन्दुक विदेशतिर होइन हाम्रै देशतिर फर्काऊ । यसरी युद्धको विरोध गर्दा बोल्शेविक पार्टीबाट जितेका ड्युमाका सदस्यहरूलाई जार सरकारले कालापानीको सजाय दिन्थे । तर पनि बोल्शेविकहरू डराउँदैनन् । यसरी जार शाही सरकारअन्तर्गतको ड्युमामा गएर जार सरकारको विरोध गर्नुलाई लेनिनले क्रान्तिकारी संसद्वाद भन्नुभएको छ । त्यस्तै, राष्ट्रिय पञ्चायतमा नेमकिपाबाट जितेर गएका सांसदहरूले पनि सरकारले गर्ने हरेक जनविरोधी कदमहरूको विरोध गरेका थिए र स्थानीय निकायमा जितेका जनप्रतिनिधिहरूले कामदारवर्गका जनताको सेवा गरेका थिए । ‘पञ्चायत’ पत्रिकामा माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङका जीवनी तथा रचनाहरू प्रकाशित भएको थियो । २०४५ सालमा राज्यस्तरबाटै षड्यन्त्र गरी नेमकिपालाई समाप्त पार्न अध्यक्ष रोहितलगायत ६७ जना नेता तथा कार्यकर्ताहरूलाई ज्यान मुद्दामा फसाइएको थियो । यसबारे तपाईँलाई जानकारी छ कि छैन ?
५) समाजवादी व्यवस्थामा सर्वहारावर्गको अधिनायकत्व हुने कुरा माक्र्सले कम्युनिस्ट पार्टीको घोषणापत्रमा उल्लेख गरेअनुसार नेमकिपाले कामदारवर्गलाई शासकवर्गमा उठाउने नीतिअनुसार राष्ट्रिय पञ्चायत सदस्य, जिल्ला पञ्चायतको सभापति, नगर पञ्चायतका वडाध्यक्षदेखि प्रधानपञ्चसम्म किसान कार्यकर्ताहरूलाई पठाएको तथ्यले अध्यक्ष रोहितको राजनीति कुन वर्गको पक्षमा वकालत गरेको छ भन्ने थाहा हुन्छ ।
६) २०५६ सालतिरको नेपालभाषाको पत्रिका ‘सन्ध्या टाइम्स’ मा नेकपा (माओवादी) का नेता बाबुराम भट्टराईको लेखमा २०५ जना प्रतिनिधिसभा सदस्यहरूमा अध्यक्ष रोहित एक जनामात्र इमानदार भएको कुरा लेखिएको थियो ।
बाहिर माओवादीका कार्यकर्ताहरू ओहोरदोहर गरिरहेका थिए । शान्तिपूर्ण वातावरणमा छलफल भइरहेको थियो । मैले आफ्नो कुरा सकाएपछि कमान्डर जीवन श्रेष्ठले भर्खर जङ्गलबाट आएकाले अध्ययनमा हामी निकै कमजोर छौँ; तपाईँको कुरा सुन्दा अध्यक्ष रोहितप्रतिको मेरो धारणा गलत भएको देखियो भने । हाम्रो छलफलले हाम्रो दृष्टिकोण फराकिलो हुँदै जाने र आजलाई बिदा भनी उनी हात मिलाएर अफिसबाट निस्के ।
Leave a Reply