भर्खरै :

‘अक्टोबर क्रान्ति र यसको महत्व’ पुस्तकबारे सङ्क्षिप्त चर्चा

‘अक्टोबर क्रान्ति र यसको महत्व’ पुस्तकबारे सङ्क्षिप्त चर्चा

आज नोभोम्बर ७, २०२४ रुसी अक्टोबर समाजवादी क्रान्ति सफल भएको दिन हो । हामी अक्टोबर समाजवादी क्रान्तिको १०७ औँ वर्षको उत्सव मनाउने क्रममा छौँ । आजकै दिनमा लेनिनको नेतृत्वमा रुसमा मजदुर र किसानहरूले पुँजीवादी सत्ता फालेर सोभियत सत्ता स्थापना गरेका थिए ।
मानव समाज विकासको इतिहासमा ठुलठुला विद्रोह भएको पाइन्छ । ती सबैजसो विद्रोहहरू दास मालिक, सामन्तहरूले क्रूरतापूर्वक दबाइएका हुन्थे । फेरि विद्रोह हुन्थ्यो, दबाइन्थ्यो । स्पार्टाकसको दास विद्रोह, त्यसपछि १८ औँ शताब्दीको सुरुतिर बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन, सन् १८३१ को लियोन सहरको विद्रोह, सन् १८४०–१८४२ सम्म चलेको बेलायतका मजदुरहरूको मागपत्रको आन्दोलन, जर्मनीको मजदुर आन्दोलन आदि आन्दोलन र विद्रोहहरू भएको इतिहास छ । ती आन्दोलनहरू असफलतामा टुङ्गिए । त्यसैबेला माक्र्स र एङ्गेल्सले जर्मनीमा सामन्तवादको थिचोमिचो र अत्याचारको विरोधमा पत्रपत्रिकामा लेखहरू लेखेर सङ्घर्ष गर्दै हुनुहुन्थ्यो । उहाँहरूको ध्यान बिस्तारै मजदुर आन्दोलन र समाजवादतिर गयो । एङ्गेल्सले ‘बेलायतका मजदुरवर्गको अवस्था’ भन्ने किताब निकाल्नुभयो । फ्रान्स, बेल्जियम र बेलायतको बसोबासको बेलामा माक्र्स र एङ्गेल्सले जर्मन दर्शन, राजनैतिक अर्थशास्त्र र समाजवादबारे गहिरो अध्ययन गर्नुभयो । ती अध्ययनले समाजमा आर्थिक उत्पादनका वर्गहरूको विरोध र विकासलाई देखायो । वर्गसङ्घर्षमा उठ्दो वर्गले पुरानो वर्गमाथि विजय पाउने कुरा देखाउनुभयो । बढ्दो मजदुर आन्दोलनले मजदुरवर्ग एक लडाकु शक्तिको रूपमा देखाइरहेको थियो । त्यसबेला प्रचारमा आइरहेको विभिन्न किसिमका समाजवादी विचारहरू मजदुरवर्गको राजनैतिक सङ्घर्षको पक्षमा थिएन । ती सबै कच्चा र कोरा समाजवादी सिद्धान्तहरूको विरोधमा एक एक गरेर माक्र्स र एङ्गेल्सले वैचारिक सङ्घर्ष गर्दै जानुभयो ।
मार्च १८, १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र प्रकाशित गर्नुभयो । घोषणापत्रमा माक्र्स र एङ्गेल्सले लेख्नुभयो, “…….आजसम्मको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” यो उहाँहरूको अध्ययनको ऐतिहासिक निचोड थियो । कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको २३ वर्षपछि पहिलोपटक फ्रान्सको पेरिस सहर मजदुरहरूले विद्रोह गरी कब्जा गरे र मजदुरवर्गको पहिलो सरकार स्थापना भयो । जुन ‘पेरिस कम्युन’ को नामले प्रसिद्ध भयो । यो मजदुरवर्गको पहिलो सरकार मार्च १८, १८७१ देखि मई २८, १८७१ दिनसम्म रह्यो । मजदुरवर्गको पहिलो सरकार ‘पेरिस कम्युन’ विभिन्न कमीकमजोरीहरूका कारण पुँजीपतिवर्गद्वारा दबाइयो । पेरिस घेरेर बसेका भर्सिलिज सेनामाथि तुरुन्तै धावा बोल्नुपथ्र्याे । धावा बोल्ने काम नगर्नु, पुँजीपतिवर्गलाई पेरिस बाहिर जान दिनु आदि कम्युनार्डहरूको रणनीतिक भूल थियो । त्यस्तै, भर्सेलिजमाथि धावा बोलेर राष्ट्रिय सभा भङ्ग नगर्नु, थियरको सरकारलाई गिरफ्तार नगर्नु, विरोधी पार्टीहरूलाई चुनावमा उठ्न दिनु, गाउँमा पसेर किसानहरूको साथ लिन नसक्नु, मजदुरहरू विभिन्न दलहरूमा विभाजित हुनु तथा मजदुरहरूको कुनै क्रान्तिकारी पार्टी नहुनु आदि पेरिस कम्युनको राजनैतिक गल्ती थियो । माक्र्स र एङ्गेल्सले ‘पेरिस कम्युन’ को सफलता असफलताको विस्तृत अध्ययन गर्नुभएको थियो । मजदुरवर्गको पहिलो सरकार पेरिस कम्युन स्थापना भएको ४६ वर्षपछि रुसमा लेनिनको नेतृत्वमा पटक–पटक विद्रोहहरू भए र अन्तिममा अक्टोबर २६, १९१७ मा रुसी मजदुर क्रान्ति सफल भयो । अक्टोबरमा सम्पन्न भएको कारण ‘अक्टोबर समाजवादी क्रान्ति’ को नामले विश्व प्रसिद्ध भयो ।
सोभियत हुकुमले सबभन्दा पहिले जारतन्त्रको जरै उखेल्यो; जमिनदारहरूको जग्गाको स्वामित्व समाप्त ग¥यो; उद्योगधन्दा, बैङ्क, रेल, बाटो, विदेश व्यापार र खानीहरू राष्ट्रियकरण ग¥यो; राज्य र स्कूललाई धर्मबाट अलग गरिदियो । यसले प्रतिक्रियावादी सेनाको ठाउँमा मजदुर र किसानको नयाँ लालसेनाको निर्माण ग¥यो; थिचिएका र पिल्सिएका विभिन्न जाति तथा महिलाहरूलाई समानताको अधिकार दियो । अक्टोबर समाजवादी क्रान्तिले एउटा देशमा पनि समाजवाद कायम हुनसक्छ र पूर्वले पश्चिमलाई पनि समाजवादको बाटो देखाउन सक्छ भन्ने सिद्धान्त अगाडि सार्यो ।
संसारै हल्लाएको अक्टोबर क्रान्तिको प्रभाव विश्वभरि नै फैलियो । चीनलगायत एसियाको विभिन्न देशहरूमा विद्रोह र क्रान्तिका लहरहरू चल्न थाले । चीनमा सन् १९२१ मा कम्युनिस्ट पार्टीको स्थापना भयो । भियतनाम, लावस, कम्बोडिया, कोरिया आदि देशहरूमा पनि कम्युनिस्ट पार्टी स्थापनाको साथसाथै पार्टीको नेतृत्वमा विद्रोह र क्रान्ति हुन थाले र सफल पनि भए ।
नेपालमा वि.सं. २००६ (सन् १९४९) सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । स्थापनाकालदेखि नै कम्युनिस्ट पार्टीले राणा शासक, सामन्तवादको विरोधमा सङ्घर्ष गर्दै आयो । २०४६ सालको पहिलो जनआन्दोलनमार्फत देशमा बहुदलीय व्यवस्था स्थापना भयो । दोस्रो जनान्दोलनमार्फत नेपाल सङ्घीय गणतान्त्रिक नेपालमा प्रवेश ग¥यो । नेपाल सङ्घीय गणतन्त्रात्मक नेपालको स्थापना भएको दुई दशक बितिसक्दा पनि नेपालले समाजवादको आजु प्राप्त गर्न सकेको छैन । नेपालको कम्युनिस्ट आन्दोलनले सशस्त्र र शान्तिपूर्ण, कानुनी र गैरकानुनी, खुला र गुप्त सबै सङ्घर्षका रूपहरू अवलम्बन गरेर आजको अवस्थामा पुगेको हो । पुँजीवादी संसद्मा कम्युनिस्टहरूको दुईतिहाइ बहुमत भए पनि मजदुर र किसानहरूको हितमा काम गर्न सकिरहेको छैन । ‘कम्युनिस्ट’ भनिने पार्टीको सरकार झन्झन् पुँजीवादी भासमा फस्दै गइरहेको छ । अत्यन्त बहुमत जनता मजदुर र किसानहरू समाजवाद र कम्युनिस्ट पार्टीको साथमा हुँदाहुँदै समाजवादी व्यवस्था स्थापनार्थ काम गर्न नसक्नुका कारणहरू खोतल्नु आजको आवश्यकता हो । हामीले विगतमा भएका मजदुर आन्दोलन र क्रान्तिका इतिहासको अध्ययन अनुसन्धान गर्नु आवश्यक छ । ती आन्दोलनले छोडेर गएका शिक्षाहरूको गहिरो अध्ययनको आवश्यकता छ । ती नै आवश्यकता पूर्ति गर्ने ध्येय र उद्देश्यअनुरूप सर्वसाधारण मजदुर र किसानहरूले समेत बुझ्ने सरल भाषामा का. रोहितद्वारा लिखित ‘अक्टोबर क्रान्ति र यसको महत्व (नेपालको परिप्रेक्ष्यमा) दोस्रो संस्करण प्रकाशित भएको छ । लेनिनले भन्नुभएको छ, “शोषितवर्ग पहिलेको अवस्थामा बस्न नचाहेको र शासकवर्गले पहिलेजस्तो शासन गर्न नसक्ने अवस्थामा क्रान्ति हुन्छ ।” अक्टोबर क्रान्तिको अनुभवबाट लेनिनले भन्नुभयो, “क्रान्तिको निम्ति अनुकूल अन्तर्राष्ट्रिय परिस्थिति आवश्यक छ, छिमेकी देशहरूको परिस्थिति क्रान्तिको अनुकूल हुनु झन् आवश्यक छ ।” त्यस्तै, अध्यक्ष माओले भन्नुभएको छ, “क्रान्ति भनेको भोजभतेर होइन, न लेख लेख्नु हो, न चित्रकारी गर्नु हो, न त कारचोपी भर्नु हो, यो त्यति परिष्कृत हुँदैन, यो त्यति सुविस्ताको र नम्र हुँदैन, यो त्यति शान्त, दयालु, शिष्ट, संयमित र उदार हुँदैन । क्रान्ति भनेको विद्रोह हो, हिंसाद्वारा गरिने यस्तो क्रिया हो जसबाट एउटा वर्गले अर्को वर्गलाई पल्टाइदिन्छ ।”
प्रस्तुत पुस्तकले अक्टोबर क्रान्तिको सफलता, यसले विश्वमा परेको प्रभाव, क्रान्तिको सफलतापछि सोभियत हुकुमले मजदुर किसान महिलाहरूको पक्षमा गरेका काम कारबाहीका सरल ढङ्गले व्याख्या गरेको छ । यसले समाजवादी आन्दोलन र क्रान्तिको बारेमा नेपालका पार्टी र नेता बुद्धिजीवीहरूमा रहेको गलत ठम्याइको पनि शिष्ट भाषामा खण्डन गरेको छ । इतिहासबाट सिकेर नयाँ–नयाँ जनक्रान्तिको उत्थान गरी समाजवादी आन्दोलन सफलतामा पु¥याउन चाहना राख्ने सम्पूर्ण मजदुर किसान, क्रान्तिकारीहरूको लागि यो पुस्तक पठनीय सामग्री हुने विश्वास छ । पुस्तक प्रकाशनको आवश्यकता र महत्व नेपाली समाजमा यसले पर्ने प्रभावले पुष्टि गर्नेछ । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले भन्नुभएको छ, “आजसम्मका दार्शनिकहरूले संसारको व्याख्यामात्र गरे, सबभन्दा ठुलो कुरा संसारलाई नै बदल्नु हो । शोषण नभएको शोषित पीडित मानिसहरूलाई नै सत्तामा पु¥याउनु हो ।” यही कुरा लेनिनले सोभियत रुसमा लागु गरेर देखाउनुभयो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दै नेपाली जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्दै क्रान्तिको आधार तयार गर्ने कार्यमा रुसी अक्टोबर क्रान्तिलाई प्रेरणास्रोतको रूपमा सधैँ सम्झिरहने छ, मनन गरिरहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *