भर्खरै :

अक्टोबर क्रान्तिको स्मरण

समाजमा शोषण भएसम्म, वर्ग भएसम्म, थिचोमिचो र असमानताको खाडल बढेसम्म सङ्घर्ष र आन्दोलन भइरहने छ । संसारका सबै देशका कामदारवर्गको हातमा शासन सत्ता कायम नभएसम्म आन्दोलन र सङ्घर्ष रोकिने छैन । विश्वका मजदुर आन्दोलन र क्रान्तिबाट नेपाली कामदारवर्ग एवं क्रान्तिकारीहरूले शिक्षा लिनुपर्ने यही हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दै क्रान्तिको पृष्ठाधार तयार गर्ने कार्यमा रूसी अक्टोबर क्रान्तिलाई एउटा प्रेरणा स्रोतको रूपमा लिनुपर्ने समयको आवश्यकता हो । बाह्य क्रान्तिको अनुभवबाट स्वदेशको सेवा गर्ने उद्देश्यले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘अक्टोबर क्रान्ति र यसको महत्व’ (नेपालको परिप्रेक्ष्यमा) २०५४ सालमै प्रकाशित गर्नुभएको थियो । पेरिस कम्युनको ४६ वर्षपछि रूसमा लेनिनको नेतृत्वमा पटकपटक विद्रोह भयो र अन्ततः अक्टोबर २६, १९१७ मा रूसी मजदुर क्रान्ति भएको थियो । इतिहासबाट सिकेर नयाँ जनक्रान्ति गरी समाजवादी आन्दोलनलाई सफलतामा पु¥याउन मजदुर, किसान र नयाँ पुस्तालाई उक्त पुस्तक मार्गदर्शक बन्ने विश्वास गर्नु स्वाभाविक हो ।
मजदुर वर्गीय राजनीति कल्पनामा आधारित छैन । जीवन र सङ्घर्षका तीता–मीठा, उकाली–आरोली, हारजीतसँग साक्षात्कार गर्दै आन्दोलन र क्रान्तिलाई टुङ्गोमा पु¥याउन सक्छ या मजदुरवर्गले राजनीतिक सत्ता आफ्नो हातमा लिनसक्छ भन्ने कुरा सोभियत सङ्घले प्रमाणित गरिसकेको छ । बोल्शेभिक पार्टी रूसी मजदुरवर्गको राजनीतिक पार्टी हो । त्यस पार्टीले स–साना पुँजीपतिवर्ग र गाउँका किसानहरूलाई राजनीतिकरूपले सचेत र सङ्गठित पारेको थियो । मजदुर आन्दोलनभित्र माक्र्सवादको पक्षमा अनेक सैद्धान्तिक सङ्घर्ष गरिएको थियो । विभिन्न सामन्ती र पुँजीवादी राजनीतिक पार्टीहरूसँग राजनीतिक सङ्घर्ष गरिएको थियो । बोल्शेभिक पार्टीले जनता र सिपाहींको निम्ति शान्ति, किसानहरूको निम्ति जमिन तथा मजदुरहरूको निम्ति स्वतन्त्रता एवं समाजवादको आवश्यकता बुझेको थियो । बोल्शेभिक पार्टीले सङ्घर्षबाटै आमूल परिवर्तन हुने विश्वास जनतामा दिलाएको थियो । यसको आधारमा बोल्शेभिक पार्टीकै कारण अक्टोबर समाजवादी क्रान्ति सफल भएको थियो ।
अक्टोबर क्रान्तिको सफलताले पुरानो सत्तालाई फालेर नयाँ सरकार गठन ग¥यो या नयाँ समाजको निर्माण गर्ने बाटो खुल्यो । यसले मजदुर र किसानवर्गको बलियो एकताको आधार तयार ग¥यो । एउटै देशमा पनि समाजवाद कायम हुनसक्छ र पूर्वले पश्चिमलाई पनि समाजवादको बाटो देखाउन सक्छ भन्ने कुरा प्रस्टसँग देखायो । थिचिएका र पिल्सिएका विभिन्न जाति तथा महिलाहरूलाई पनि न्याय र समानताको अवसर मिल्यो । सोभियत हुकुमले जारतन्त्रको सरकार पल्टायो । राजा–रजौटा, सामन्त, गुठी र जमिनदारहरूको जग्गाको स्वामित्व अन्त्य गरियो । पुँजीपतिवर्गको उद्योगधन्दा, बैङ्क, रेल, विदेश व्यापार र खानी राष्ट्रियकरण गरियो । जार सरकारले लिएको सबै विदेशी ऋण नतिर्ने र विदेशी पुँजीलाई राष्ट्रियकरण गर्ने घोषणा ग¥यो ।
त्यसबेला रूसी मजदुर आन्दोलनलाई अनेक किसिमको अनुभव प्राप्त भयो । रूसी मजदुर आन्दोलनले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थामा गएर जनताको सेवा गर्ने र अनेक दुःख कष्ट सहन सक्ने अनुशासित नेता तथा कार्यकर्ता तय गरेको थियो । त्यसबेला रूसी पुँजीपतिवर्ग राजनीतिकरूपले परिपक्व थिएन । रूसी पुँजीपतिवर्गको त्यस कमजोरीलाई रूसका मजदुरवर्ग र बोल्शेभिकहरूले बुझे । तिनीहरूको कमीकमजोरीबाट क्रान्तिले फाइदा लियो । अक्टोबर क्रान्तिमा मजदुरहरूको साथै गरिब र मध्यम किसानहरू सरिक भए । बोल्शेभिक पार्टीले जनताको प्रजातान्त्रिक आन्दोलन अघि बढायो, राजा–रजौटा र सामन्तहरूको जग्गा किसानहरूलाई कब्जा गर्न दियो, पुँजीपतिवर्गको ठाउँमा सर्वहारावर्गको हुकुम कायम भयो । यसरी सोभियत सङ्घमा अक्टोबर क्रान्ति सफल भयो र समाजवादी क्रान्ति भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *