भर्खरै :

डिलबिनाको पोखरी – महाआश्चर्य !

डिलबिनाको पोखरी – महाआश्चर्य !

भक्तपुरमा आश्चर्यका धेरै काम–कुरा र घटना हुने गर्छ । कुनै बेला ‘सुँगुरको खोरजस्तो भक्तपुर’ सफाइमा अग्रणी भक्तपुर बन्नु आश्चर्यकै कुरा हो । एसएलसी पास गर्न भक्तपुरमा सेन्टर पार्नेहरू शिक्षा क्षेत्रमा भक्तपुरले गरेको प्रगति धेरैको लागि उदाहरणीय हुनु पनि कम आश्चर्यको विषय होइन । कुनै बेला रामचन्द्र पौडेल नामका नेता देशका मन्त्री थिए । उनले भक्तपुर नपाले पर्यटक सेवा शुल्क लगाउँदा नपा नै विघटन गरिदिने धम्की दिएका थिए भने केही पर्यटन व्यवसायी र पथप्रदर्शकहरूले ‘भक्तपुरलाई कीर्तिपुर बनाइदिने’ भन्दै पर्यटकहरूलाई भक्तपुर आउनबाट बिच्काएका थिए । तर, पर्यटक सेवा शुल्कबाट सम्पदा संरक्षण, सफाइलगायत पर्यटन उद्योगका आधारहरू विकास हुन थालेपछि भक्तपुरले सम्पदा संरक्षणमा अद्वितीय काम गरेको, पर्यटकलाई भक्तपुर नल्याई धरै पाइँन भन्नु पनि आश्चर्यकै विषय हो । ‘जीवित सङ्ग्रहालय’ संज्ञा पाएको भक्तपुरलाई हिजो सांस्कृतिक नगरको अवधारणा ल्याउँदा भक्तपुरलाई म्युजियम बनाउने भयो, जङ्गली युगमा फर्काउने भयो भनी विरोध गर्नेहरूमध्ये थुप्रैले क्युरियो पसल, पर्यटकीय होटल र रेस्टुराँहरू खोल्दै जानु पनि आश्चर्यकै कुरा हो ।
यस्तै आश्चर्यको सिलसिलामा अहिले एउटा महाआश्चर्य देखिएको छ ।
किनारबिनाको नदी, गारोबिनाको घर हुँदैन । त्यस्तै डिलबिनाको पोखरी पनि हुँदैन । तर, भक्तपुरमा डिलबिनाको पोखरी बनाई महाआश्चर्यको असफल प्रयास देखिएको छ । यसमा भक्तपुर बहुमुखी क्याम्पसका पदाधिकारी र केही विद्यार्थी मोहडामा छन् भने सत्ता निकटका केही मानिस ‘मौकामा चौका हान्ने’ दाउमा देखिन्छ ।
२०२१ सालको नापी नक्सामा कित्ता नं. २४१ मा पोखरी (भाजु पुखु) र कित्ता नं २४२ मा डिल (पोखरीको) जनिएको छ । तर, २०३३ माघ २० गते भक्तपुर क्याम्पसको नाममा पोखरीको चारैदिशाको डिल दर्ता कायम गरिएको देखिन्छ । यो डिल पोखरीझैँ सार्वजनिक भएकोले कतैबाट दान वा राजीनामा नभई केवल क्याम्पसको नाममा दर्ता गरिएको छ । अर्थात् त्यो डिल पोखरीको हो, सार्वजनिक हो ।
कित्ता नं. २४२ को भाजपुखू सार्वजनिक नै कायम राखी पोखरीमा जाने सबै डिल क्याम्पसको नाममा दर्ता गर्न स्वीकृति दिने, दर्ता गर्ने तत्कालीन मालपोत कार्यालयका हाकिम र कर्मचारीहरूको बुद्धिहीनता आफैमा आश्चर्यको विषय हो । पोखरीको डिल क्याम्पसलाई दिएपछि पोखरीमा जाने बाटो हुनैपर्ने तथ्यलाई बेवास्ता गरी दर्ता गर्न अनुमति दिनेहरूको बुद्धि पनि घाँस चर्न जानु महाआश्चर्यकै विषय हो । यद्यपि, विचरा भाजु पुखु भूपरिवेष्ठित भएर पनि घाँसे मैदानको रूपमा धन्न अस्तित्वमा रह्यो ।
अहिले भक्तपुर बहुमुखी क्याम्पस त्यही बुद्धिहीनहरूबाट दर्ता गरिदिएको कागज लिएर तुजुक देखाइरहेको छ ।
एउटा आश्चर्यको कुरा छ, कागजी निस्साअनुसार ५ रोपनी ६ आना क्षेत्रफल रहेको कित्ता नं. २४२ को पोखरीको डिल क्याम्पसको हो । तर, उसले पूर्व, पश्चिम र उत्तरको डिलमा कुनै पर्खाल वा बार लगाएको छैन दक्षिणमा मात्र लगाएको छ । केबल दक्षिणी डिलमा हकदाबी जनाइरहेको छ । स्मरणीय छ, उसको कम्पाउन्ड बारभित्र भक्तपुरका कतिपय मानिसका कुल देवता पनि रहेको बताइन्छ । अर्काको कुल देवता आफ्नो क्याम्पभित्र राख्ने अधिकार क्याम्पस वा त्रिविलाई छ ? क्याम्पसले आफ्नो नाममा दर्ता रहेको पोखरीको तीन दिशाको डिलमा पर्खाल वा बार लगाएर सुरक्षा किन नगरेको ? के त्रिविको आदेशमा छोडेको हो ? तर, बाँकी तीनतिरको पोखरीको डिल सार्वजनिकरूपमा प्रयोग भइरहेको छ ।
माथिल्लो डिलबाट पोखरीमा जाने एकमात्र सिँढी
पुनर्निर्माणको लागि पोखरीको उत्खनन गर्दा बिचको जलेश्वर मन्दिर जाने बाटो दक्षिणतिर भेटिएको छ । पोखरीको माथिल्लो डिलबाट ओर्लने एकमात्र सिँढी पनि दक्षिणमा रहेको छ । यसबाट डिल पोखरीकै क्षेत्र भएको बुझ्न कुनै कठिन छैन । यदि क्याम्पसको नाममा दर्ता भएको माथिल्लो डिलमा उसले पर्खाल वा बार लगायो भने पोखरीमा जाने बाटो कतै हुने छैन । के जाने बाटो नै नभएको पोखरी पुर्खाले बनाए होला त ?
पोखरीको बनावट हेर्दा दक्षिण दिशा नै बिचको मन्दिरमा जाने एकमात्र मूल बाटो हो । अहिलेको पूर्व–उत्तरको बाटो बेवारिसे पोखरीमा जान मानिसहरूले पछि डिल बिगारेर बनाएको हुनुपर्छ ।
त्यसैले दक्षिणी डिलबारे भक्तपुर नपाले क्याम्पसलाई समझदारीमा आउन २०८० फागुन १ गते क्याम्पसका पदाधिकारीसँग छलफल गरेको थियो । उक्त छलफलमा क्याम्पसका सहायक प्रमुखले ‘…२०३३ सालदेखिनै पोखरीको दक्षिण डिल भक्तपुर क्याम्पसको नाममा दर्ता रहेको’ बताएका थिए । (भक्तपुर नपाबाट प्रकाशित ‘भाजु पुखु र जलेश्वर मन्दिर पुनर्निर्माण, २०८०, पृष्ठ ११८–११९ ।)
घाँसे मैदानको पोखरीले नयाँ जीवन पाई कलेजको समेत वातावरण स्वच्छ, स्वस्थ र आकर्षक बनिसक्दा पनि नगरपालिकाको आग्रह, पत्राचार हुँदा पनि त्रिवितिर औँला देखाउँदै अटेर गर्नु सोझो भाषामा निहुँ खोजेको हो ।
यो निहुँ खोजाइ नगरपालिकासँग होइन प्राचीन स्मारक संरक्षण ऐन, पुरातत्व विभाग, संस्कृति मन्त्रालय, युनेस्कोलगायत नेपाल र विदेशका सम्पदाप्रेमीहरू सबैसँग पनि हो । ज्ञान, शिक्षा र चेतना दिने शिक्षालयको यो निहुँ खोजाइको आधार कागजी निस्सामात्र हो कि राजनीति पनि ? पुर्खाले सिर्जेको सम्पत्ति संरक्षणमा शिक्षालयजस्तो निकायले साथ–सहयोग दिने अपेक्षा विपरीत कला, संस्कृति, सम्पदाको छ्यान नभएका र महत्वको बोध नभएकाहरू बाधा दिएर आफूलाई अशिक्षित र अज्ञानी प्रमाणित गरिरहेका छन् । अनि प्रश्न गर्न मनलाग्छ, तिनीहरूले शैक्षिक प्रमाणापत्र पढेरै प्राप्त गरेका हुन् कि कतैबाट किनेर ? अथवा अर्काको प्रमाणपत्रमा आफ्नो तस्बिर टाँंसेर घमण्ड गरिरहेका हुन् ? धेरैलाई शङ्का लागेको हुनुपर्छ । अन्यथा, भक्तपुर बहुमुखी क्याम्पसलाई सम्पदा र स्मारकसँग जोडेर कुनै संरचना निर्माण गर्नु हुँदैन भन्ने न्यूनत्तम ज्ञान त हुनैपर्ने हो, यति विघ्न अज्ञानी नहुनुपर्ने हो ।
निश्चय पनि भक्तपुर बहुमुखी क्याम्पस जनताको हो । भाजु पुखुजस्तै जनतालाई प्यारो छ । यद्यपि, क्याम्पसलाई भक्तपुर नपाबाट चाँगु, सूर्यविनायक वा मध्यपुर–थिमि नपामा स्थानान्तर गरे पनि भक्तपुर बहुमुखी क्याम्पस नै रहन्छ, उसको अस्तित्व, प्रतिष्ठा, उपयोगितामा कुनै फरक पर्ने छैन । तर, के भाजु पुखुलाई अन्यत्र सार्न सकिन्छ ? अन्यत्र सा¥यो भने के त्यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक महत्व कायम रहन्छ ? ७२ सालको भूकम्पपछि काठमाडौँको धरहरा छेउमै नयाँ धरहरा निर्माण ग¥यो, भत्केको धरहराको अवशेष यथावत राखिएको छ । तर, अवशेषले जुन ऐतिहासिक, पुरातात्विक, स्मारक र सम्पदाको महत्व बोकेको छ त्यो नयाँ धरहरामा हुनसक्दैन । नयाँ धरहरा केवल धरहरा हो, भीमसेन स्तम्भ होइन र हुन पनि सक्दैन ।
पुनर्निर्मित भाजु पुखू चारैतिरको डिलसहित
भक्तपुर नगरपालिका अर्थात् स्थानीय सरकारले ऐतिहासिक ९९ चोकको उत्खननको कुरा गरिरहेको छ । त्यसबारे विभिन्न पुरातत्वविद्, इतिहासकार, सम्पदाविद्लगायतका बौद्धिक व्यक्तित्वहरूमाझ अन्तरक्रिया, छलफल, भेला, गोष्ठी गर्ने गरेको छ । ९९ चोकमा रहेका सरकारी कार्यालयहरू स्थानान्तरको लागि विचारविमर्श गरिरहेको छ । यस्तो परिवेशमा भाजु पुखुको अपुरो इतिहासलाई पूर्णता दिन आवश्यक परे पोखरीको डिलमात्र होइन डिलभन्दा परको क्षेत्र पनि उत्खननको दायरामा आउन सक्छ– दक्षिणी डिल त अति सामान्य कुरा हो । त्यसैले पनि भक्तपुर बहुमुखी क्याम्पसले भाजु पुखुको डिलमा खिचलो झिकेर निहुँ खोज्नुभन्दा समझदारीमा तीनतिरको डिलझैँ दक्षिणी डिल पनि भाजु पुखुलाई नै हस्तान्तरण गर्नु बुद्धिमानी हुनेछ ।
यी कुरा भक्तपुर बहुमुखी क्याम्पसले बुझ्नै पथ्र्यो, आफ्ना विद्यार्थीलाई सिकाउनै पथ्र्यो । तर, बुझेको देखिएन, सिकाएको पनि पाइएन । पुरातात्विक र सम्पदाको दृष्टिले भक्तपुर बहुमुखी क्याम्पस शिक्षालत्न्दा पनि जागिर खाने थलोमात्र देखियो ।
तर, भक्तपुर बहुमुखी क्याम्पस वा त्रिविले मालपोतको एउटा कागज देखाएर ऐतिहासिक भाजु पुखुको दक्षिणी डिल हड्पिराख्ने अथवा किनारबिनाको नदी हुन्छ, गारोबिनाको घर हुन्छ भन्ने महाआश्चर्य प्रदर्शन गर्ने जमर्को कहिल्यै पूरा हुनसक्दैन । मालपोतको मात्र होइन अदालतको फैसला पनि यदि ऐतिहासिक, पुरातात्विक, स्मारक र सम्पदाविरुद्ध छ भने सम्पदाप्रेमीहरूलाई मान्य हुनेछैन ।
ठमेलको छाया कम्प्लेक्स भत्काई कमलपोखरी कायम गर्न सम्पदाप्रेमीहरू सङ्घर्ष गरिरहेका छन् । मालपोतको कागज, अदालतका फैसला आदि त पैसा दिएर किन्न सकिन्छ भन्ने उदाहरण ललिता निवास, बाल मन्दिरलगायतका जग्गाको मामिलामा देखिएको छ । त्यहाँ कागजीरूपमा सबै मिलाएका थिए, प्रमाणित नै थिए तर त्यसलाई स्वीकारिएन र काण्डमाथि काण्ड बन्यो । अहिले थुप्रैमाथि कारबाही भइरहेको छ । के भक्तपुर बहुमुखी क्याम्पसका पदाधिकारी पनि अदालतमा धाउन जम्जमाएका हुन् ? पञ्चायती सरकार र तत्कालीन मालपोतका कर्मचारीलाई डिलबिनाको पोखरी हुँदैन भन्ने थाहा नभए पनि आजका सरकार, त्रिवि, अदालत पनि मूर्ख नै होला भन्ने ठान्नु आफ्नै मूर्खतामात्र प्रदर्शन गर्नु हो ।
हुन त आजको कदम भक्तपुर नपाले भाजु पुखु पुनर्निर्माणकै बेला चाल्नुपर्ने थियो । त्यसबेला सायद, समझदारी खोजिरहेको थियो । तर, सुतेकालाई ब्युँझाउन सजिलो हुन्छ परन्तु ब्युँझेकालाई उठाउन गा¥हो हुन्छ भनेझैँ पढेलेखेका बस्ने क्याम्पसले समझदारीको अर्थ बुझेन, बरु नपालाई चुनौती दिन पुग्यो ।
सबैले हेक्का राख्नुपर्ने तथ्य के हो भने भाजु पुखु नपाको होइन, नेमकिपा वा अन्य कुनै पार्टीको पनि होइन । त्यो नेपाली जनताको हो, अझ विश्वका सम्पदाप्रेमीहरूको साझा सम्पत्ति हो । पुर्खाको धरोहरलाई भक्तपुर नपा अर्थात् स्थानीय सरकारले नयाँ पुस्तालाई सुरक्षित हस्तान्तरण गर्न खोजेको मात्र हो । त्यसैले यस्तो उत्तम कार्यमा बाधक बनी कलङ्कित हुने दुचेष्टा कसैले नगरून्, यसैमा सबैको हित र योगदान हुनेछ ।

One response to “डिलबिनाको पोखरी – महाआश्चर्य !”

  1. राजाराम says:

    भक्तपुर नगपालिकाले गरेको कार्य १००% सहि हो । ३०० बर्षदेखि दक्षीण तर्फको डिलबाट हाम्रो कुल देबता पुजा गर्न जाने बाटो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *