अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २९ कार्तिक । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित एकमहिने सिलाइ, मेसिन मर्मत तथा तीनदिने ग्यास चुल्हो मर्मत तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आत्मनिर्भर व्यक्ति स्वाभिमानीपूर्वक बाँच्न सक्ने हुँदा भक्तपुर नपाले आत्मनिर्भरतालाई जोड दिँदै आएको बताउनुभयो । सीपले मानिसलाई आत्मनिर्भर बनाउने हुँदा भक्तपुर नपाले विभिन्न सीपमूलक तालिम दिएर दक्ष बनाउने कोसिस गरिरहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर पनि घरको स—साना काम गर्न पनि नजान्दा बेरोजगार हुनु परेकोले विश्वविद्यालयको शिक्षासँगै नयाँ पुस्तालाई सीप सिकाउनेमा भक्तपुर नपा प्रयत्नरत रहेको बताउनुभयो । उहाँले अरुको सहयोग लिएर काम गर्दा परनिर्भर हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले तालिमबाट सिकेका कुराहरू अन्य व्यक्तिहरूलाई पनि सिकाउनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले यही मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर महोत्सव गर्ने भएकोले नगरमा पार्किङ व्यवस्थापनका लागि नगरवासीले पनि सहयोग गर्नुपर्ने बताउँदै सडक, चोक तथा गल्लीमा थुप्रिएका निर्माण सामग्रीहरू हटाइदिनुहुन आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति, महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक एवं कार्यपालिका सदस्य रोशनमैँया सुवालले कुनै पनि व्यक्तिमा सीप छ भने भोको भएर बस्नुनपर्ने बताउनुभयो । प्रतिस्पर्धात्मक समयमा हातमा सीप अत्यावश्यक भइसकेकोले भक्तपुर नगरपालिकाले विभिन्न तालिम दिँदै आइरहेको उहाँले बताउनुभयो ।
सिलाइ मेसिन मर्मत तालिमका प्रशिक्षक रूपेन्द्र नकर्मीले तालिममा सिकेको कुरा सदुपयोग गर्दै प्रशिक्षार्थीहरूले दैनिक जीवनमा लागु गर्नुपर्ने बताउनुभयो ।
समितिका सदस्य एवं ७ नं वडा सदस्य हेरा ख्याजुले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा समितिका सदस्य एवं ८ नं वडा सदस्य सुमित्रा बोहजू, प्रशिक्षार्थीको तर्फबाट शोभा कवांले पनि बोल्नुभएको थियो ।
तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रमाणपत्र तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply