भर्खरै :

पुँजीवादी दलको कारण जनतामा राजनीतिप्रति घृणा

पुँजीवादी दलको कारण जनतामा राजनीतिप्रति घृणा

कञ्चनपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टी कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नं. १ समितिको आयोजनामा शुक्रबार बैशाखीमा स्थानीय युवा, विद्यार्थी, महिला तथा किसानहरूको भेला भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले शासक दलहरूले जनतालाई झूटा आश्वासन र भ्रममा पारेर देश र जनताको हितभन्दा आप्mनो स्वार्थपूर्तिमा मात्र लागेको चर्चा गर्दै जनतामा राजनीतिप्रति घृणा जाग्नुको कारण पुँजीवादी दलका गलत क्रियाकलाप हुन् भन्नुभयो । उहाँले सरकारले जनभावनाअनुसार काम गर्न नसक्दा देश विकासतिर भन्दा विनासतिर लागिरहेको उल्लेख गर्दै देशको सार्वभौमिकताको रक्षा गर्दै कामदार जनताको हितमा समाजवाद स्थापना गर्न गरिब जनता सङ्गठित भई सङ्घर्ष गर्नेबाहेक विकल्प नरहेको प्रस्ट पार्नुभयो ।
अर्का केन्द्रीय सदस्य बजिरसिं विश्वकर्माले स्थानीय जनतालाई पार्टी स्थापनाको उद्देश्यबारे जानकारी दिँदै सुगम वा दुर्गम, सहर वा गाउँ जहाँका भए पनि शोषित जनताको पीडा एउटै भएको र मुक्तिको बाटो पनि एउटै भएको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले नेपाललाई कहिल्यै पनि सार्वभौम र स्वतन्त्र देशको रूपमा स्वीकार नगरेको बताउनुभयो । उहाँले पार्टीको निर्देशनमा भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूले जनताको हितमा शिक्षा, स्वास्थ्य उपचार, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतका कार्यहरूलाई प्राथमिकता दिएको चर्चा गर्नुभयो ।
आयोजक समितिका संयोजक कटकबहादुर शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले कामदार जनताको हितमा किसान र मजदुरहरूले नेतृत्व गर्ने राजनैतिक व्यवस्था नै समाजवाद हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *