भर्खरै :

भारत–आसियान सम्मेलनप्रति चीनद्वारा खुशी व्यक्त, तर…

चीनको विदेशमन्त्रालयले भारतीय सञ्चारमाध्यमका समाचारप्रति आपत्ति जनाएको छ । भारतले चीनलाई चुनौती दिन भारत–आसियान शिखर सम्मेलन आयोजना गर्न लागेको भन्दै प्रकाशित गरेको समाचारको खण्डन गर्दै चिनियाँ विदेशमन्त्रालयले भारतीय सञ्चारमाध्यमप्रति खेद प्रकट गरेको हो । भारतीय सञ्चारमाध्यमहरुमा आत्मविश्वासको अभाव भएको र उनीहरुलाई चीनप्रति विश्वास नभएको चिनियाँ विदेशमन्त्रालयको आरोप छ ।
‘भारतीय सञ्चारमाध्यमहरुले हालैका दिनहरुमा जुन कुनै विषयमा पनि चीनलाई जोड्ने काम नियमित जसो गरिरहेका छन् । भारतीय नेता र सरकारले ती विषयहरुमा केही नभने पनि भारतीय सञ्चारमाध्यमहरुले यस्तो काम गर्ने गरेका छन् । …यसले उनीहरुमा आत्मविश्वासको कमी भएको र चीनप्रति उनीहरुको विश्वास नभएको प्रष्ट बनाएको छ ।’, विदेशमन्त्रालयका प्रवक्ता ह्वा छुङयिनले बिहीबार नियमित सञ्चारकर्मी भेटघाटमा भने ।
भारतको डेली न्युज एनालाइसिस नामको अखबारले बिहीबार ‘चीनको महत्वाकांक्षा रोक्न गणतन्त्र दिवसको दिन पारेर भारतद्वारा आसियानसँग सम्बन्ध बिस्तार’ शीर्षकको लेख प्रकाशित गरेको थियो । त्यसमा ‘आक्रामक र तीब्र गतिमा वृद्धि भइरहेको चीनको पृष्ठभूमिविरुद्ध’ आसियानसँग भारतीय सहकार्यको ठूलो महत्व भएको तर्क प्रस्तुत गरिएको छ ।
आसियान देशका १० प्रमुखहरु भारत–आसियान शिखर सम्मेलनमा सहभागी बन्न बिहीबार नयाँ दिल्लीमा पुगेका छन् ।
विदेशमन्त्रालयका प्रवक्ता ह्वाले कुनै पनि देशहरुबीचको सहकार्य र दुई पक्षीय सम्बन्धको विकासप्रति चीन खुला रहेको र स्वागत गर्ने भन्दै भने,‘आसियान देशहरुसँग भारतको सम्बन्ध विकास भएको देख्दा चीनलाई खुशी लागेको छ ।’
‘भारतले बृहत् कुटनीतिक नीति अंगालेको छ । भारतले संरा अमेरिका र जापानजस्ता पुराना शक्तिसँग मात्र नभई क्षेत्रीय रुपमा बलियो प्रभाव भएको आसियान देशहरुलगायत एसियाली छिमेकीहरुसँग पनि सम्बन्ध विकासमा जोड दिंदै आएको छ ।’, साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत दक्षिण एसिया अध्ययनका निर्देशक चाओ काङ्छेनले भने ।
सिंगापुरलगायत केही आसियान देशहरु सन्तुलित नीतिको पक्षमा छन् । चीनलाई चुनौती दिई आसियानको भूमिका बढाउने मनसायले ती देशहरु दक्षिणपूर्वी एसियाली क्षेत्रमा चीनबाहेक अरु शक्तिहरुलाई पनि स्वागत गर्न चाहन्छन् ।
एसियामा चीन जति भारत प्रभावशाली छैन । तर भारतले चीनलाई चुनौती दिन दक्षिण चीन सागरलगायत विवादलाई प्रयोग गर्न खोजिरहेको छ ।
‘भारत र आसियानले व्यापार र सुरक्षा क्षेत्रमा सहकार्य गर्न सक्छन् । तर त्यो सहकार्य चीनसँगको सम्बन्धको तहमा पुग्न सक्दैन । चीन र आसियानबीचको सहकार्य गुणात्मक र गतिवान भइसकेको छ भने भारतले आसियानसँग भर्खर सहकार्यको थालनी गरेको छ ।’, क्वाङ्सी जनजाति विश्वविद्यालयअन्तर्गत आसियान अध्ययन कलेज र चारहर प्रतिष्ठानका अध्येता के होङल्याङले भने ।
ग्लोबल टाइम्स, जनवरी २५

Leave a Reply

Your email address will not be published. Required fields are marked *