भर्खरै :

सहकारी संस्था स्थापना गर्नु शुभलाभ वा व्यवसाय होइन

सहकारी संस्था स्थापना गर्नु शुभलाभ वा व्यवसाय होइन

भक्तपुर, १ मङ्सिर । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि. ब्यासीको २२ औँ साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले स्थानीय जनता सदस्य हुने, कृषि, साना तथा घरेलु उद्योगलाई जोड दिने सहकारी संस्थाको सिद्धान्त हो; समुदायमा आधारित सहकारी संस्था यस्तै हुन्छ; ब्याजको लोभमा समुदायमा आधारित नभएका सहकारी संस्थामा रकम जम्मा गर्नुहुँदैन भन्नुभयो । समुदायमा आधारित नभएका सहकारी संस्थाहरूले नै सर्वसाधारण जनताको अर्बाैँ खर्बाैँ रुपैयाँ ठगी गरेको उल्लेख गर्दै उहाँले बचत ठगीको आरोपमा केही पक्राउमा परेका छन् तर जनताको बचत फिर्ता भएको छैन; सहकारी संस्था स्थापना गर्नु शुभलाभ वा व्यवसाय होइन; यो सदस्यहरूको सेवा गर्न हो भन्नुभयो ।”
उहाले भन्नुभयो, “सहकारी संस्थाहरूले सदस्यका छोराछोरीहरूको सांस्कृतिक स्तर माथि उकास्ने सामाजिक सेवामा पनि बजेट विनियोजन गर्नु जरुरी छ । नयाँ पुस्ता समाजको जग हो । घर बलियो बनाउन जग बलियो बनाउनु आवश्यक छ । सहकारी संस्थाले नयाँ पुस्तालाई कक्षा सञ्चालन गरी शैक्षिक क्षेत्रमा योगदान गर्नु आवश्यक छ । खेलकुद, सङ्गीत, साहित्य क्षेत्रमा पनि नयाँ पुस्तालाई अगाडि बढाउन जरुरी छ ।”
उहाँले भन्नुभयो, “नेपालको भूमि पश्चिम नेपालको लिम्पियाधुरासम्म फैलिएको हो । भारतीय सेनाले कालापानी कब्जा गरेर बसेको ७५ वर्ष भयो । अङ्ग्रेजले नेपाललाई आक्रमण गरेको बेला नालापानीमा नेपाली सेनाले बहादुरीसाथ लडेका थिए । अङ्ग्रेजले नालापानीका नेपालीसँग मित लगाएर पानी मुहान थुनेका थिए । नेपाली सेनाले पानी खान नपाएपछि लडाइँमा नेपालको हार भयो । तत्पश्चात् भएको सुगौली सन्धिमा भारतका चन्द्रशेखर उपाध्याय र गजराज मिश्रलाई बेलायती भारतले जग्गा दिएर नेपालको नक्सा सानो बनाएको थियो ।”
नयाँ पुस्तालाई जाँड, रक्सी, धूमपानको दुव्र्यसनबाट जोगाएर सुसंस्कृत नागरिक बनाउनु जरुरी भएको उल्लेख गर्दै उहाँले सहकारी संस्थाले यस्तो काममा पनि योगदान गर्नु जरुरी छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारीका सात सिद्धान्त र भावनाअनुसार सहकारी सञ्चालन भए नभएको बारे ज्ञान राख्नुपर्ने धारणा राख्नुभयो । कतिपय सहकारी सदस्यहरू ब्याजको लोभमा आफ्नो सर्वस्व नै फसेको तीतो यथार्थबारे प्रकाश गर्दै सहकारीले समुदायप्रति चासो राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सभामा भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नियमसङ्गत तवरले सञ्चालन नभएका सहकारीहरूको अनुमगन गरी कारबाही अगाडि बढाइरहेको धारणा व्यक्त गर्नुभयो ।
नेमकिपाका रत्नकाजी नातरीले प्यालेटिस्नी जनताले भोगिरहेको दर्दनाक दुःख बुझेर ऐक्यबद्धता जनाउनुपर्ने बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष आसकुमार कोजूले जनताको बचत रकमको सुरक्षाको जिम्मेवारी सहकारी संस्था र सञ्चालकहरूले सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालको सभापतित्वमा सम्पन्न उक्त सभामा सञ्चालन समितिको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवदेन, लेखा सुपरिवेक्षण प्रतिवेदन पारित गरिएको थियो ।
संस्थाका असल बचत ऋणी तथा ज्येष्ठ नागरिकहरूलाई प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *