भर्खरै :

मजदुर र किसानहरू हक अधिकारको लागि शोषकहरूविरुद्ध सङ्घर्ष गर्नुपर्ने

मजदुर र किसानहरू हक अधिकारको लागि शोषकहरूविरुद्ध सङ्घर्ष गर्नुपर्ने

कञ्चनपुर, १ मङ्सिर । नेपाल मजदुर किसान पार्टी दोधारा चाँदनी नगर समितिको आयोजनामा वडा नं. १ स्थित पशुपति टोलमा शनिबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले नेपाली समाजको वर्ग विश्लेषण गर्दै मजदुर र किसानहरू आफ्नो हक अधिकारको लागि शोषकहरूका विरुद्ध सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा काङ्ग्रेसले कोसी र गण्डक सम्झौता गरेको उल्लेख गर्दै एमालेले एकीकृत महाकाली विकास सन्धि र माओवादीले बिप्पा सम्झौतामार्फत देश हितविपरीत कार्य गरेको बताउनुभयो ।
नेपाली जनताले देशको सिमाना जोगाउन भारतीय विस्तारवादविरुद्ध लडिरहेको तर सरकार भारतीय शासकको दलाली गरिरहेको चर्चा गर्दै उहाँले देशभक्त जनता एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य बजिरसिं विश्वकर्माले मानव समाजको विकासक्रमबारे प्रशिक्षण दिनुभयो । उहाँले निजी सम्पत्तिको विकास भएपछि शोषण र अन्याय सुरु भएको उल्लेख गर्दै शोषणरहित सभ्य समाज निर्माणको लागि नेमकिपा जनताबिच समाजवादी प्रचार अभियानमा लागेको बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले युवाहरू लागूपदार्थ दुव्र्यसनी र कुलतमा फसेको चर्चा गर्दै देश र समाजप्रति उत्तरदायी युवा पुस्ता तयार गर्नु हाम्रो कर्तव्य रहेको बताउनुभयो ।
भेला स्थानीय पार्टी समितिका अध्यक्ष मिनु गिरीको सभापतित्वमा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *