भर्खरै :

हरेक सच्चा कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन्

हरेक सच्चा कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन्

देश र जनताको सुख, शान्ति, समृद्धि र उन्नत समाज निर्माणको निम्ति एक आदर्श राज्य व्यवस्था आवश्यक छ । यस्तो व्यवस्था ल्याउन देशमा राम्रो दिशा निर्देश गर्न सक्ने राजनीतिज्ञ, दार्शनिक वा चिन्तक, राजनेता, लेखक र कार्यकर्ताहरूको खाँचो छ । नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ताहरू तल्लोदेखि माथिल्लो तहसम्मका कर्मचारीहरू, प्रशासनिक क्षेत्रमा काम गर्नेहरू असल र इमानदार नभएसम्म आ–आफ्नो पदीय जिम्मेवार इमानदारीपूर्वक नगरेसम्म देशमा न सुशासन हुन्छ, न त विधिको शासन नै हुन्छ । तर देशका शासकहरू इमानदार भएनन्; आ–आफ्नो कर्तव्य र अभिभारा देशप्रति इमानदार भएर निर्वाह गरेनन् ।
यही कारण यहाँ अराजक गतिविधि भइरह्यो । आपराधिक घटनाहरू दोहोरिरह्यो । भ्रष्टाचारले गहिरो रूपमा जरा गाडिरह्यो । पक्षपात र विभेद भयो । हत्या, हिंसा, बलात्कार, सङ्गठित अपराध भइरह्यो । बेपत्ता पार्ने, तोडफोड गर्ने, मानव बेचबिखन गर्ने, लुट्ने, घुस खाने, चोरीचकारी गर्ने र अनियमितता गर्ने काम रोकिएन । पुँजीवादी व्यवस्थामा न्याय र समानता पाउँदैनथ्यो । शासकहरू नैतिकवान् र चरित्रवान् हुँदैनथे । यसकारण, कम्युनिस्ट पार्टीहरू शोषणरहित समाज स्थापना गर्न लागिपरेका हुन् । एकले अर्कोलाई शोषण नगर्ने, समाजवादी व्यवस्था स्थापना गर्न माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अँगीकार गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारविरुद्ध सङ्घर्ष गर्दै नेपाल मजदुर किसान पार्टी लागिरहेको हो । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा कथित संशोधनवादी र वामपन्थी अवसरवादी एवम् छद्मभेषी शासक कम्युनिस्ट पार्टीहरू एमाले र माओवादीसँग सैद्धान्तिक मतभेदको आधारमा सङ्घर्ष गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई सही दिशा निर्देश गर्न प्रकाशस्तम्भको रूपमा नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि नै पृथक भएर सडक र सदनमा कामदारवर्गको आवाज बुलन्द गर्दै आइरहेको कुरा घामजतिकै छर्लङ्ग छ । वर्गीय समाजमा वर्गसङ्घर्ष हुनु स्वाभाविक हो । बहुमत जनताको गाँस, बास र कपासको व्यवस्था नभएसम्म या जीवन सुनिश्चित नभएसम्म सङ्घर्ष भइरहन्छ । पुँजीवादी व्यवस्थामा प्रजातान्त्रिक अधिकार भए पनि शोषणको अन्त्य हुँदैन । वर्गीय समानता नभएसम्म सङ्घर्ष रोकिने छैन । समाज अघि बढाउन नयाँ पुस्ताका युवा विद्यार्थीहरू सक्रिय हुनु आवश्यक छ । नयाँ पुस्तामा सैद्धान्तिक र राजनीतिक कक्षा सञ्चालन गरिरहनुपर्छ । जनताले न्याय र समानता मात्र होइन छाना, नाना र दाना नभएसम्म यहाँशान्ति हुनेछैन । कम्युनिस्टको सरकारले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने व्यवस्था गर्छ, उत्पादनका प्रमुख साधनहरू सामाजिकीकरण गर्ने, व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्ने, शिक्षा, स्वास्थ्य पूर्णरूपमा निःशुल्क गर्ने, क्रान्तिकारी भूमिसुधार लागू गर्ने, देशलाई औद्योगीकरणको दिशामा दोहो¥याउने र सम्पत्तिमा निजी स्वामित्वको अन्त्य गर्न सङ्घर्ष गर्ने काम गर्दछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र भन्दै जातीय मुक्तिको कुरा गर्दै सम्प्रदायको पक्षपोषण गरेर पुँजीवादी गणतन्त्रको सरकारमा गएर कामदारवर्गलाई शोषण र शासन गर्ने शासक पार्टी कम्युनिस्ट पार्टी होइनन् । बरु यिनीहरू कम्युनिस्टको खोल ओढेका पँुजीवादी पार्टीहरू हुन् । प्रजातान्त्रिक र कम्युनिस्ट भनिने शासक दलहरू सिद्धान्त र विचारमा अडिग नभई अवसरवादी हुँदा देश र जनताको हितमा काम भएन । बहुमत जनताको सेवा गर्ने नाममा कम्युनिस्ट शासक दलहरू पुँजीवादी व्यवस्थामा सामेल भएदेखि नेपालको कम्युनिस्ट पार्टी र नेपालको कम्युनिस्ट आन्दोलन कमजोर र रक्षात्मक अवस्थामा पुगेको हो । पुँजीवादी व्यवस्थाको सरकारले पुँजीपतिवर्गको सेवा गर्छ । उनीहरूको हकहितमा ऐन, कानुन बनाउँछ । मोही कायम नहुँदै द्वैध स्वामित्वको अन्त्य र कमैयामुक्त घोषणा किसान र उत्पीडित जनताको अहितमा छ या पुँजीपति र जमिनदारहरूको हितमा छ । योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त नगर्नु एक प्रकारको आर्थिक शोषण नै हो । देशमा रहेको स्रोत र साधन पनि सरकारले उपयोग गर्न सकेन । देशको निम्ति आवश्यक सामग्री विदेशीहरूसँग मागेर विदेशीको सहयोगबाट बजेट तयार गरेर देश कहिले पनि आत्मनिर्भर हुनेछैन । देशका शासकहरू नेपाल र नेपाली जनताको भन्दा पनि विदेशी शक्ति राष्ट्रहरूको स्वार्थ पूरा गर्न लागे । नेपाल र नेपाली जनतालाई परेको मर्काबारे नेपाली शासकहरू भारत र अमेरिकाको अगाडि भन्दैनन् या भन्ने हिम्मत गर्दैनन् । अरु देशदेखि डराउने शासक दलहरूले कसरी देश बनाउँछन् ?
कम्युनिस्ट पार्टी श्रमजीवीवर्गको हकहितको निम्ति प्रयत्नशील रहनुपर्छ । देशको सार्वभौमिकता, भूअखण्डता र स्वतन्त्रता जोगाउने काममा दत्तचित्त हुनुपर्दछ । शोषित पीडित जनताको सङ्घर्षमा अर्थात् कामदारवर्गको न्यायपूर्ण सङ्घर्षमा साथ दिनुपर्छ । हरेक सच्चा कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । अन्तर्राष्ट्रवादी भावनाअनुसार विदेशी थिचोमिचो, हस्तक्षेप, शोषण र दमनको विरोध गर्नुपर्दछ । कम्युनिस्ट पार्टीले वर्गशत्रु खुसी पार्ने काम गर्दैन ।
वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको विरोध गर्नुपर्छ । राजनीतिलाई निःस्वार्थरूपले इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित गर्नुपर्छ । अराजकता, आत्मसमर्पण, सङ्कीर्ण र जातीय साम्प्रदायिक भावनाको निन्दा र विरोध गर्नुपर्छ । भ्रष्टाचारविरोधी आन्दोलन र जालीफटाहाविरोधी आन्दोलनको मर्म आत्मसात गरी गन्तव्यमा अगाडि बढ्नुपर्छ । मार्गनिर्देशक सिद्धान्तअनुसार पार्टीले काम गर्नुपर्छ । सिद्धान्त र विचार बन्धक राखी काम गरेमा देश गलत ठाउँमा पुग्छ, देशमा अराजक र अस्थिरता निम्तिन्छ । शासकहरू पद, पैसा र भागबन्डामा भुलेर देशको आर्थिक अवस्था नाजुक हुँदै आर्थिक सङ्कट देखियो भने देश कसरी बन्छ ? यसकारण, राजनीतिक दलको सिद्धान्त र विचार बहुमत जनताको पक्षमा हुनुपर्छ र तद्नुसार काम गर्नुपर्दछ वा राजनीति गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *