सरकारमा पुगेपछि पञ्चायती निर्दलीय भाषा बोल्ने बहुदलवादीहरू ?
- चैत्र ९, २०८१
भक्तपुर, ६ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बिहीबार आयोजित आदर्श आजाद माविको ६५ औँ र आदर्श आजाद कलेजको १६ औँ वार्षिकोत्सव समारोह पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले ‘आदर्श आजाद स्मारिका २०८१’ पनि विमोचन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशमा विदेशी पुँजी ल्याउन नहुने विचार व्यक्त गर्दै विदेशी पुँजीले देशलाई उपनिवेश बनाउन सक्छ भन्नुभयो ।
उहाँले नेपालले विश्व व्यापार सङ्गठनमा सदस्य हुन नहुनेमा आफूहरूले त्यसबेला धेरै विरोध गरे पनि सरकारले ध्यान नदिँदा आज शैक्षिक क्षेत्रमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा देशभित्र धेरै कलेजहरू खुलेर नेपाली विश्वविद्यालयको सम्बन्धनमा चलेका कलेजहरू बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशी सम्बन्धनमा खुलेका कलेजहरूमा विद्यार्थी पढे नपढे पनि विद्यार्थी उत्तीर्ण गरिन्छ भन्ने देखिएको छ ।”
भक्तपुरका सामुदायिक विद्यालयहरूमा तामाङ भाषाभाषीका विद्यार्थीहरू बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, “अब यहाँका गैरतामाङ शिक्षक साथीहरूले पनि तामाङ भाषा सिक्नुभयो भने अझ राम्रो हुनेछ ।
उहाँले अङ्ग्रेजले भारतमा उपनिवेश जमायो, भारतीय जनताले अङ्ग्रेजलाई धपाए तर त्यही अङ्ग्रेजको उपनिवेशको नीति आज भारतीय शासकहरूले अँगालेर छिमेकी देशमाथि लाड्न खोजिरहेका छन् भन्नुभयो ।
विद्यार्थीहरूमा रहेको विदेश जाने सोच शिक्षकहरूले परिवर्तन गर्न सक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “शिक्षक देशभक्त भए विद्यार्थीहरू पनि देशभक्त हुने र शिक्षक विदेशी दलाल भए विद्यार्थी पनि त्यस्तै हुने हुन्छन्, त्यसैले देशभक्त शिक्षकले विद्यार्थीलाई विदेशको भन्दा स्वदेशको सेवा गर्न जोड दिनुपर्छ ।”
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा गर्दै आएका क्रियाकलापको चर्चा गर्दै मङ्सिर २८ देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव सफल पार्न सम्पूर्ण नगरवासीको उत्साहजनक सहभागी र सहयोगको लागि अपिल गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै विद्यालयको जग ६५ वर्ष पहिले यहाँका अग्रजहरूले गरेको मिहिनेत खेर नगएको भन्दै उहाँहरूप्रति आभार व्यक्त गर्नुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखूले भक्तपुरमा थालनी गरेको ‘एक घर एक स्नातक’ को अभियानमा यस कलेजले पनि योगदान गरेको चर्चा गर्दै आदर्श आजाद कलेज र विद्यालयले स्थानीय जनताको मन जित्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले संसद्मा विचाराधीन शिक्षा विधेयकले शिक्षकहरूको सार्वभौम राजनीतिक र मौलिक हक वाक् स्वतन्त्रता हनन गर्न खोजिएकोमा आपत्ति जनाउँदै शिक्षामा राज्यको लगानी नपुग हुँदा अभिभावकको थाप्लामा आर्थिक भार परेको बताउनुभयो ।
सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले शिक्षक अभिभावकले विद्यार्थीको संवेगात्मक अवस्थामा विशेष ध्यान दिन नसके दुर्घटना निम्तिन सक्नेतर्फ सचेत पार्नुभयो ।
कार्यक्रममा कलेजमा दीर्घ सेवा गरेका प्रा. सिद्धिरत्न शाक्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित प्रा. शाक्यले बिजुक्छेँजस्ता आदर्श राजनीतिक व्यक्तित्वबाट आफू सम्मानित हुन पाउनु अहोभाग्य हो भन्दै आफ्नो शैक्षिक अनुभव सुनाउनुभयो ।
प्रधानाध्यापक श्रीकृष्ण किसीले विद्यालय र कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रअ चक्रबहादु चाकतु र धन्यवादज्ञापन प्लस टु इन्चार्ज राकेश सुकुपायोले गर्नुभएको थियो ।
कार्यक्रममा १० वर्ष स्कूलमा र ५ वर्ष प्लस टुमा सेवा गर्ने शिक्षकहरूलाई कदरपत्रले सम्मान गरिएको थियो भने अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति भएको थियो ।
Leave a Reply