भर्खरै :

इजरायली प्रधानमन्त्री नेतान्याहु र ग्यालान्टविरूद्ध पक्राउ पुर्जी

इजरायली प्रधानमन्त्री नेतान्याहु र ग्यालान्टविरूद्ध पक्राउ पुर्जी

हेग, ६ मङ्सिर (एजेन्सी) । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली पूर्वरक्षामन्त्री योआभ ग्यालान्टविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीका न्यायाधीशहरूले प्यालेस्टिन समूह हमासका सैन्य कमान्डर मोहम्मद डेफलाई पक्राउ पुर्जी जारी गरेका छन् ।
अदालतले इजरायली प्रधानमन्त्री नेतान्याहुले अदालतको क्षेत्राधिकारलाई दिएको चुनौतीसमेत अस्वीकार गरेको छ । पक्राउ पुर्जी जारी गरिएका हमास कमान्डर डेफ गाजामा गत जुलाईमा गरिएको हवाई आक्रमणमा मारिएका इजरायलको दाबी छ ।
अदालतका न्यायाधीशहरूले इजरायल र हमासबीचको युद्धमा ‘युद्ध अपराध’ र ‘मानवता विरूद्धको अपराध’ का लागि तीन जना व्यक्तिहरू जिम्मेवार रहेकोमा उचित आधारहरू रहेको उल्लेख गरेको बीबीसीले जनाएको छ । ती आरोपको इजरायल र हमास दुवैले अस्वीकार गरेका छन् ।
उनीहरूविरूद्ध नागरिकहरूमाथि जानाजान आक्रमण गरेको, युद्ध र हतियारको भरमा भोकमरी निम्त्याएको र निर्दोष सर्वसाधारणको हत्या गरेको आरोप छ । वारेन्ट कार्यान्वयन गर्ने वा नगर्नेबारे निर्णयको टुङ्गो भने अब आईसीसीका १ सय २४ सदस्य राष्ट्रहरूमा निर्भर हुने जनाइएको छ ।
आईसीसीका अभियोजक करिम खानले गत मे महिनामा नेतान्याहु, ग्लान्ट, डेफ र अन्य दुई हमास नेताहरू इस्माइल हनिया र याह्या सिनवारविरूद्ध पक्राउ पुर्जी जारी गर्न माग गरेका थिए । इजरायलले डेफको मृत्यु भइसकेको दाबी गरेको भए पनि इजलासले उनको मृत्युको पुष्टि नभएको जनाएको छ ।
उनीहरूविरूद्ध अभियोजकको मुद्दा एक वर्षअघिको घटनासँग सम्बन्धित छ । २०२३ अक्टोबर ७ मा हमास बन्दुकधारीहरूले दक्षिणी इजरायलमा गरेको आक्रमणमा करिब १ हजार २ सय जनाको ज्यान गएको थियो । हमासले अन्य २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो ।
त्यसयता इजरायलले हमासविरूद्ध गरेको सैन्य कारबाहीमा कम्तीमा ४४ हजारको ज्यान गइसकेको छ । हजारौँ घाइते भएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *