भर्खरै :

गाउँ गाउँ र वडा वडामा विकास पुग्नुपर्छ

नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन कम्युनिस्ट आन्दोलनमा देखिएका अवसरवाद, संशोधनवाद, सुधारवाद एवं सङ्कीर्णवादको विरोध गर्नु आवश्यक छ । नेपालमा समाजवादी गणतन्त्र ल्याएर कामदारवर्गको हितमा कामदारवर्गको नेतृत्वमा सरकार चलाउन सङ्घर्ष गर्नुपर्ने हुन्छ । वर्गसङ्घर्ष नगरी देशमा आमूल परिवर्तन सम्भव छैन । आमूल परिवर्तन पुँजीवादी चुनावले ल्याउँदैन । सच्चा कम्युनिस्ट पार्टीले एकातिर खोटा विचारको खण्डन गर्दै अघि बढ्नुपर्छ भने अर्कोतर्फ जनतालाई सिद्धान्तनिष्ठ बनाउन कम्युनिस्ट पार्टीले सचेत र सङ्गठिन बनाउनु जरूरी छ । सिद्धान्त लागु नगर्ने कम्युनिस्ट पार्टीले केको निम्ति राजनीति गरिरहेको छ भन्ने कुरा जनताले बुझ्नुपर्छ । राजनीतिक र सैद्धान्तिक सङघर्ष गर्ने एउटा भरपर्दो माध्यम यो उपनिर्वाचन पनि हो । उपनिर्वाचनमा कुनै उम्मेदवारलाई जिताउने र हराउनेमात्र कुरा गर्ने होइन; देश विदेशको वस्तुस्थितिबारे जनतालाई बुझाउनुपर्छ । आ–आफ्नो दलको उद्देश्यबारे जनतालाई बताउनुपर्छ । जनतालाई भोटको बैङ्क बनाउने होइन, जनतालाई सत्तामा जाने भ¥याङमात्र बनाउने होइन, जनतालाई सुसूचित बनाउनुपर्छ र सरकारले बहुमत जनताको हितमा काम गर्नुपर्छ ।
सत्तासीन दलका नेताहरू पार्टी ठुलो बनाउने र सत्तामा जाने कुरामा मात्र भुले । उनीहरूले सत्ता, शक्ति र पैसाको छेलोखेलो गरे । राष्ट्रपति रामचन्द्र पौडेलले पनि सत्ता र शक्तिमा बस्नेहरूको कमजोरीको कारण लोकतान्त्रिक व्यवस्था कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरे; सत्तामा बस्ने दलका नेताहरू पारदर्शी र जवाफदेही नभएकोमा चिन्ता व्यक्त गरे । जनतामा आशा र भरोसा जगाउन नसक्दा शासक दलका नेताहरूप्रति जनताको विश्वास गुम्दै गएको छ । राजनीतिक अस्थिरता देशको समस्या हो । तर, सरकार स्थिर भए पनि देश र जनताको हितमा गतिलो काम गर्दैन भने, जनताको समस्या बुझेर अघि बढ्दैन भने स्थिर सरकारको के अर्थ रह्यो ? सरकारले स्थिरता पाए पनि भ्रष्टाचार र अनियमित काम नियन्त्रण हुँदैन, सन्तुलित विकास हुँदैन, समयमा रासायनिक मल उपलब्ध हुँदैन, संविधानमा उल्लेख भएअनुसार मावि तहसम्म शिक्षा निःशुल्क हुँदैन र समाजवादउन्मुख संविधानमा टेकेर नीति नियम बनाउँदैन भने स्थिर सरकारको के अर्थ रह्यो ?
समाजमा आर्थिक असमानताको खाडल बढ्दै छ । बेरोजगारी सङ्ख्या बढ्दै छ । गाउँ–गाउँको बस्ती बस्ती र सहरको वडा वडामा विकास पुगेको छैन । मुलुकमा आर्थिक पूर्वाधारको विकासको खाका कोरेको छैन । जनताले काम पाएका छैनन् । समाजलाई सभ्य र मर्यादित बनाउन सरकार लागिपरेको छैन । समाजलाई सही ढङ्गले अघि बढाउन सकिएन भने अराजकता बढ्छ, शान्ति बिथोलिन्छ, विकास पनि हुँदैन, काम पनि पाउँदैन । अहिलेको समस्या यही हो । पुँजीपति, सामन्त, जमिनदार, जालीफटाहा, कमिसनखोरको पक्षपोषण गर्ने दलको सरकारले श्रमजीवीवर्गको हित हेर्दैन, हेरेको छैन । सामन्तवादी र पुँजीवादी पार्टीले गर्ने त्यस्तै काम हो । यसकारण, कम्युनिस्ट पार्टीहरू नै अघि बढ्नुपर्छ । कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट पार्टीको आचरणअनुसार लाग्नुपर्छ । सबै कुरा विदेशी र निजी क्षेत्रलाई सुम्पिने दल सच्चा कम्युनिस्ट हुँदैन । कम्युनिस्ट पार्टीले पुँजीपतिवर्गको पक्षपोषण गर्नु हुँदैन । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पछि दगुर्नु हुँदैन । अहिले हुन गइरहेको उपनिर्वाचनमा पैसा, पावर र धाक धम्की दिइन्छ भने त्यो गलत हुनेछ ।
पुँजीवादी कम्पनीबाट पैसा लिएर पार्टी चलाउने र निर्वाचनमा खर्च गर्ने दलहरू केको कम्युनिस्ट ! सत्तासीन र कम्युनिस्ट भनिने दलले इमानको राजनीति नगर्नु नै दलको सबभन्दा ठुलो कमजोरी पक्ष हो । सत्तासीन कम्युनिस्ट पार्टीले न किसान आन्दोलन अघि बढायो न त मजदुर आन्दोलन नै । किसान आन्दोलनसँग नजोड्दासम्म तराईमा समृद्धि आउने छैन । ‘स्वतन्त्र मधेस’ भनी नामकरण गरे पनि त्यहाँको जनताले मुक्ति पाउने छैनन् । तराई समुदायका नेता, कार्यकर्ता मन्त्री, सांसद भए पनि तराईका जनताले सुख र शान्ति पाउने छैनन् । शासकहरू तराईका शोषित पीडित जनताको सेवामा लागेनन्; उनीहरूको समस्या बुझेर निकास खोज्दैनन् या ऐन कानुन बनाउँदैनन् भने समस्या कसरी समाधान हुन्छ ? गणतन्त्र स्थापनापछि जतिसुकै सरकारको नेतृत्व फेरिए पनि देशमा मौलिक परिवर्तन भएको छैन ।
अतः देशको मुक्ति र कामदारवर्गको हितको निम्ति सङ्घर्ष गर्नुको विकल्प छैन । निःस्वार्थरूपले पार्टी, देश र जनताको सेवा गरी आमूल परिवर्तनको पक्षमा सङ्घर्ष गर्न कम्युनिस्ट पार्टी जुट्नुपर्छ । समाजवादी मोर्चा देखाउने दाँत हुनुहुँदैन । समाजवादी क्रान्तिको कुरा कार्यकर्तालाई एकक्षण उचाल्ने हिसाबले उठाउने होइन । समाजवादी क्रान्तिको कुरा गर्ने माओवादी केन्द्रले सत्ताको माया छोड्नुपर्छ; क्रान्तिकारी बाटो अँगाल्नुपर्छ । सत्तामा नहुञ्जेल क्रान्तिकारी बनेर, क्रान्तिकारी कुरा फलाकेर सत्तामा पुगेपछि बिर्सने काम कदापि सही होइन । हरेक कम्युनिस्ट पार्टी नेपाल मजदुर किसान पार्टीझैँ सिद्धान्तनिष्ठ भएर इमानदारीपूर्वक राजनीतिक यात्रामा अघि बढ्नुपर्छ; देश र जनताप्रति जिम्मेवार भएर नेता तथा कार्यकर्ताहरू जुट्नुपर्छ नत्र आमूल परिवर्तन गर्न अझै समय लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *