हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
जनवादी चीनको स्वतन्त्रता सङ्घर्षलाई आफ्नो तर्फबाट सक्दो साथ दिने, चिनियाँ जनताको सामन्तवादविरूद्धको सङ्घर्षलाई सही ठानेर समर्थन गर्ने र चीनको परिवर्तनको चाहनालाई समर्थन गर्ने तथा माया गर्ने केही अमेरिकीहरूमध्ये एक जना एग्नेज स्मेडले पनि हुन् ।
एग्नेज स्मेडले सन् १८९२ मा सं.रा. अमेरिकाको मिसौरीमा जन्मेकी हुन् । आदिवासी अमेरिकी मूलका पिता र आइरेली मूलकी आमाबाट जन्मिएकी एग्नेज अलि विद्रोही प्रवृत्तिकी युवती थिइन् । आफ्नो आमाको असामयिक मृत्यु, बाबुको आमा र आफूहरूप्रतिको उपेक्षा आदिले गर्दा उनको बाल्यकाल चरम गरिबीमा बित्यो ।
उनले सन् १९११–१२ तिर आफ्नो प्रयासमा आफ्नै पढाइ सुरु गरिन् । आफ्नो तीतो बाल्यकालको कारण उनी विहे गरेर बच्चा जन्माउने दासीको रूपमा रहने विचारको घोर विरोधी थिइन् । यही कारणले गर्दा आफ्नो जीवनभर उनले महिलाहरूमाथि हुने असमानताको विरुद्ध विद्रोह गरिन् । युवा अवस्थामै विवाह गरे पनि विवाहपछि उनीमाथि लादिएका विभिन्न दबाबहरूप्रति विद्रोह गरेर उनले तुरुन्तै सम्बन्ध विच्छेद गरिन् ।
त्यसपछि उनी न्युयोर्क पुगिन् र दिउँसो काम गरेर राति पढ्न थालिन् । त्यही उनको भेट एक निर्वासित भारतीय लाला लाजपत रायसँग भयो । रायबाट उनले भारतीय इतिहास र भारतीय अवस्थाको जानकारी पाइन् र भारतीय विद्यार्थीहरूलाई मद्दत गर्न थालिन् । अमेरिकी तटस्थता ऐन उल्लङ्घन गरेको आरोपमा उनी न्युयोर्कको टोम्बस्
(Tombs) जेलबाट बाहिर निस्कँदा उनीसँगै उनको प्रथम कथासङ्ग्रह ‘जेलका साथीहरू’ (Cell Mates) थियो ।
सन् १९१९ मा उनी जर्मनी पुगिन् । त्यहाँ उनको भेट भारतीय वीरेन्द्रनाथ चट्टोपाध्यायसँग भयो र उनकी श्रीमतीको रूपमा ८ वर्ष बिताइन् । वीरेन एग्नेजलाई भविष्यमा चीनले खेल्नुपर्ने महान् भूमिकाको बारेमा बताइरहन्थे ।
सन् १९२१ मा उनले भारतीय प्रतिनिधिमण्डलको एक सदस्यको रूपमा सोभियत सङ्घको भ्रमण गरिन् । सन् १९२१ देखि १९२८ सम्म उनी बर्लिनमा बसिन् सो अवधिमा उनले त्यहाँ शिशु जन्मदर नियन्त्रण क्लिनिक खोलिन् । उनी बर्लिन विश्वविद्यालयमा अङ्ग्रेजी र अमेरिकी अध्यापनमा संलग्न भइन् ।
सन् १९२८–१९२९ मा फ्रेन्कफर्टर जेइटुङ (FrankFurter Zeitung) पत्रिकामा उनको लेखमाला ‘पृथ्वीको छोरी’ (Daughter of Earth) शृङ्खलाबद्धरूपमा प्रकाशित भयो । सन् १९२८ डिसेम्बरमा उनी ‘फ्रन्कफर्टर जेइटुङ’ को विशेष संवाददाताको रूपमा मन्चुरिया पुगिन् । सन् १९२८ मा उनी चीन पुगिन् र मईमा शांघाई पुग्दा कोमिन्ताङले कम्युनिस्ट पार्टीसँग आफ्नो गठबन्धन तोडेर आतङ्क मच्चाइरहेको थियो । उनले शांघाई, ग्वाङचाऊ (Guangzhou), हान्को (Hankou) आदि सहरमा भएको मारकाटलाई आफ्नो आँखाले देखिन् । यी सबै कुरालाई आफ्नो पुस्तक ‘चिनियाँ भाग्य’ (Chinese Destinies) मा लेखिन् ।
शांघाईमा उनले मजदुर र प्रगतिशीलमाथि कोमिन्ताङले गरेको दमन र शत्रुको सहयोगी बनेको प्रहरी आदि देखिन् । जर्मनीमा विभिन्न प्रकारको तनाबमा उनले आफ्नो जीवन बिताएको हुनाले उनको स्वास्थ्य स्थिति खराब भयो । चीनको विदेशी पत्रिकाहरूमार्फत उनीमाथि राजनीतिक आक्रमणहरू हुनथाले । पछि उनी आराम गर्न सन् १९३३ मा मस्को पुगिन् । त्यहाँ उनले ‘चिनियाँ लालसेनाको ¥याली’ (China’s Red Marches) पुस्तक लेखिन् र सन् १९३४ मा प्रकाशित गरिन् ।
त्यसपछि उनी एक वर्ष अमेरिका बसिन् र पुनः सन् १९३४ मा एक स्वतन्त्र पत्रकारको रूपमा पुनः चीन पुगिन् । त्यतिबेलासम्म जर्मन पत्रकारितासँग उनको सम्बन्ध टुटिसकेको थियो । उनी पुनः शांघाई फर्केपछि महान् चिनियाँ आधुनिक लेखक लु शुन (Lu Xun) सँग उनको घनिष्ठता बढ्यो । उनी लु शुनको स्वास्थ्यप्रति सधैँ चिन्तित रहन्थिन् ।
देशप्रति गम्भीर मानिसहरू भेटाउने क्षमता एग्नेजसँग थियो । त्यसैले, उनले शांघाईमा पनि अन्य देशका केही व्यक्तिहरूको एउटा समूह बनाएकी थिइन् – ती व्यक्तिहरू आफ्नो वरपर घटिरहेका अन्याय–अत्याचारबाट आक्रोशित थिए र त्यसलाई परिर्वतन गर्न केही योगदान गर्न चाहन्थे । त्यसबेला शांघाईको वातावरण प्रतिकूल थियो, जताततै जासुसहरू छरिएर रहेका थिए, त्यस्तो बेला पनि उनी आफ्नो निवासमा विभिन्न भेलाहरू गर्थिन् । उनी शांघाईमा सधैँ व्यस्त रहन्थिन्, उनको एक दिन पनि निस्क्रिय बित्दैनथ्यो । उनले प्रहरी र जासुसहरूबाट बच्ने तरिका पनि राम्री सिकिसकेकी थिइन् । उनी चिनियाँ सङ्घर्षमा सहभागी विभिन्न व्यक्तिहरूलाई आफ्नो घरमा लुकाउने गर्थिन् ।
सोही क्रममा उनी सियान (Xian) पुगिन् । प्रख्यात सियान घटना घट्दा उनी त्यही थिइन् । सियानमा च्याङ काई–शेकलाई घेराबन्दीमा पारेर जापानी साम्राज्यवादविरुद्ध एकीकृत मोर्चा बनाउने वार्ता गर्न चाओ एन–लाई येनानबाट सियान पुग्नुभएको थियो । कूटनीतिक विश्वमा सनसनी मच्चाएको त्यो घटनाबारे सही जानकारी विश्वलाई गराउने जिम्मेवारी एग्नेजले लिइन् । त्यसबेला उनी इन्फ्लुएन्जाबाट पीडित थिइन् । उनले रेडियोमार्फत सही जानकारी विश्वलाई दिइन् ।
त्यसपछि उनी सन् १९३७ मा येनान पुगिन् । त्यहाँको वातावरण जनताको खुसी, सरलता आदि देखेर उनी एकदम खुसी भइन् । ६ महिनापछि उनी वुटलाइ शान (Wutlai Shan) पुगिन् । उनले चीनको विभिन्न भागको भ्रमण गरिन् । चिनियाँ क्रान्ति, चीनको परिस्थिति आदिको विषयमा विश्वलाई सही कुरा अवगत गराउन उनले सक्दो प्रयास गरिन् । चिनियाँ जनताले जस्तो पीडा नभोगेकाले मुक्ति सङ्घर्षको आवश्यकता बुझ्न नसक्ने धारणा उनको थियो । त्यसबेलाको चिनियाँ जनताले भोगेको दुःख, कष्ट र पीडा विदेशी समकालीनहरूले र चिनियाँ भावी पुस्ताले पनि राम्ररी बुझ्न नसक्ने कुरा उनलाई लाग्थ्यो ।
चिनियाँ क्रान्ति उनको रगतमा थियो । उनी चिनियाँ क्रान्तिकै लागि बाँचेकी थिइन् । शांघाईको कठिन परिस्थितिमा धेरै वर्ष बस्नुको कारण पनि यही थियो । पछि उनी चिनियाँ रेडक्रसमा एक प्रचार कार्यकर्ताको रूपमा संलग्न भइन् । उनी केही समय म्यानचेस्टर गार्डियन (Manchester Guardian) को संवाददाता बनिन् । उनको चिन बसाइँको अन्तिम समय पनि कामले परिपूर्ण थियो । उनले जापानी साम्राज्यवादविरुद्ध चीनको सङ्घर्षलाई नजिकबाट नियालिन् ।
त्यतिबेलासम्म उनको स्वास्थ्य स्थिति बिग्रिसकेको थियो । उनी सन् १९४० मा उपचारको सिलसिलामा हङकङ पुगिन् । उपचारपछि उनी अमेरिका पुगिन् । त्यतिबेलासम्म उनले आफ्नो महत्वपूर्ण पुस्तक Battle Hymn of China पूरा गरिन् ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि उनलाई झूटा दस्ताबेजहरूको आधारमा बदनाम गर्ने अभियान सुरु गरियो । जापान सरकारविरुद्ध कम्युनिस्टहरूले गरेको षड्यन्त्रको उनी एक भाग रहेको आरोप लगाइयो । उनले ती सम्पूर्ण आरोपहरूको खण्डन प्रकाशित गरिन् । त्यतिबेलासम्म सं.रा. अमेरिकामा प्रगतिशील राजनीतिक विचारसँग कुनै न कुनै रूपमा सम्बन्धित व्यक्तिहरूलाई सजाय दिने कार्य सुरु भइसकेको थियो । त्यसैले, उनी बेलायत पुगिन् । त्यहाँ उनले कामरेड चु–तेह (Chu Ten) को जीवनी लेख्ने कार्य पूरा गरिन् र प्रकाशित गर्न अमेरिकामा आफ्ना मित्रहरूकहाँ पठाइन् । तर, शीतयुद्धको कारण त्यो कार्य तत्काल सम्पन्न भएन र सन् १९५६ मा मात्र ‘महान् बाटो–चु–तेहको जीवन र समय’ (The Great Road of-the Life and Times of Chu Teh) शीर्षकमा प्रकाशित भयो । चिनियाँ क्रान्ति सफल भएपछि उनले पुनः एकपटक चीन फर्कने आशा गरिन् । तर, यो इच्छा पूरा भएन उनी बिरामी भइन् । उनको शल्यक्रिया तर सफल भएन र अस्पतालमै सन् १९५० मा उनको मृत्यु भयो । मृत्युपश्चात् उनको चाहनाबमोजिम उनको अस्तुलाई वेइचिङ ल्याइयो र क्रान्तिकारी नायकहरूको समाधिस्थलमा समाधिस्थ गरियो ।
यसप्रकार चिनियाँ क्रान्तिको समर्थन गर्ने, चिनियाँ जनताको परिवर्तनको चाहनालाई समर्थन गर्ने एक अमेरिकी वीराङ्गनाको अन्त भयो । चिनियाँ क्रान्तिको सफलताले एग्नेज र चिनियाँ क्रान्तिको पक्षमा काम गर्ने जो कोहीलाई पनि सधैँ स्मरणयोग्य बनाइरहेको छ ।
एग्नेजले आफ्नो पुस्तक (Battle Hymn of China) मा अन्त्यमा लेखेकी थिइन् । “मैले भविष्यमा अझै एउटा ठुलो काम गर्न बाँकी छ । अमेरिकालाई चीनको सत्यता, चिनियाँ जनताको सङ्घर्ष आदिबारे बताउनु छ ।” आफ्नो भनाइलाई सार्थक पार्दै अमेरिकी भूमिमा जन्मिएकी एग्नेजले आफ्नो जीवनको प्रायः समय चिनियाँ क्रान्तिबारे विश्वलाई यथार्थ विवरण दिनमा बिताइन् । तसर्थ, चीनको इतिहासमा एग्नेजको एउटा छुट्टै स्थान छ । चिनियाँ जनताको सङ्घर्षमा उनले काँधमा काँध मिलाएर साथ दिएकी थिइन् ।
(यो एग्नेज स्मेडले स्रोत १९८५ मा प्रकाशित SIX AMERICANS IN CHINA बाट लिइएको हो । आन्तर्राष्ट्रिय सांस्कृतिक प्रकाशन संस्थान (International Culture Publishing Corporation) को त्यस पुस्तकका लेखक रेवि आली (Rewi Alley) हुन् ।)
– विश्वका क्रान्तिकारी महिलाहरूबाट
Leave a Reply