भर्खरै :

सांस्कृतिक गतिविधिद्वारा जनताको चेतनास्तर विकास गरिनुपर्ने

सांस्कृतिक गतिविधिद्वारा जनताको चेतनास्तर विकास गरिनुपर्ने

भक्तपुर, ८ मङ्सिर । कटुञ्जे सामुदायिक सिकाइ केन्द्रको आठौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले देश र जनताको सेवा निःस्वार्थ भावनाले गर्नुपर्ने, समाजलाई परिवर्तन गर्न संस्थाका सदस्यहरूलाई चलायमान बनाई राजनैतिक भावना जगाउने, सांस्कृतिक गतिविधिद्वारा जनताको चेतनास्तर विकास हुने खालको चिन्तन लिएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले पुँजीवादी, सामन्तवादी सोचका खराबीहरू निमिट्यान्न पार्दै जानुपर्ने आवश्यकता औँल्याउँदै सचेत नागरिकहरूले देशको विगत र अहिलेको स्थितिबारे चिन्तन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका अग्रजहरूले शोषक, सामन्त, पुँजीपति र भ्रष्टाचारीसँग सङ्घर्ष गरेको चर्चा गर्दै युवाहरू विकृति तथा विसङ्गतिको बाटोमा गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “अनैतिक व्यक्तिहरूसँग टाढा रहनुपर्छ, जनतालाई चुनावको बेला पैसा बाँड्ने, भोजभतेर खुवाउने, लोभलालचमा फसाएर चुनाव जित्ने काम रोक्नुपर्छ । ठुला दलका कार्यकर्ताहरू सम्पत्ति कमाउन राजनीतिमा लागेका छन् ।”
नेमकिपा सूर्यविनायकका सदस्य राजेन्द्र बखुन्छेँले सामुदायिक सिकाइ केन्द्रले समाजलाई सांस्कृतिक स्तर विकास गर्नुका साथै आत्मनिर्भर बनाउन सीप र ज्ञानको तालिम प्रदान गर्नुपर्ने बताउनुभयो । ठुला पार्टीका जनप्रतिनिधिहरूले विकासको नाममा विनास गरी ब्रह्मलुट गरी कार्यकर्ता पाल्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष महेन्द्र बखुन्छेँको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा कटुञ्जेका अध्यक्ष रामकृष्ण बखुन्छेँ, रामप्यारी न्हेम्हाफुकी र चनमती खुलीमुलीले पनि बोल्नुभएको थियो । सोही सभामा लेखापरीक्षकको प्रतिवेदन, संस्थाको प्रतिवेदन र भावी कार्यक्रम पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *