भर्खरै :

लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम

लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम

भक्तपुर, १८ मङ्सिर । भक्तपुर नगरपालिका ७ वडा कार्यालयको आयोजनामा मङ्गलबार लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम तथा भक्तपुर महोत्सवको प्रचारार्थ वडास्तरीय भेला सम्पन्न भयो ।
भेलामा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले एक्काइसौँ शताब्दीमा पनि लैङ्गिक हिंसा हुनु चेतनास्तरको कमी भएको बताउँदै विभिन्न सामाजिक गतिविधिमार्फत सुधार गर्दै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले पछिल्लो समयमा महिलासँगै पुरुषहरूमा पनि हिंसा बढ्दै गएको तर त्यसको तथ्याङ्क नभएको बताउनुभयो ।
उहाँले सम्पत्तिको लोभमा कतिपय महिलाहरूले विवाह गर्ने र केही दिनमै छोडपत्र गर्ने जस्ता विकृति फैलिँदै गएकोले त्यसलाई न्यूनीकरण गर्न सक्रिय भएर लाग्नुपर्छ भन्नुभयो ।
उहाँले नयाँ पुस्ताका विद्यार्थीहरूलाई घोकन्ते शिक्षाभन्दा नैतिक शिक्षा सिकाउनुपर्ने आवश्यकता औँल्याउँदै रोजगारीको लागि युवाहरू विदेश जाने बढ्दो क्रमलाई रोक्न शैक्षिक प्रणालीमा परिवर्तन गर्नुपर्छ भन्नुभयो ।
उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाको आयोजनामा हुने भक्तपुर महोत्सवमा भक्तपुरको कला, संस्कृति, चाडपर्व र स्थानीय जीवनशैलीको नमुना प्रत्यक्ष अवलोकन गर्न पाउने हुँदा आ–आफ्नो क्षेत्रमा प्रचारप्रसार गरी सहयोग गर्न आग्रह गर्नुभयो ।
भनपा ७ वडाका वडाध्यक्ष उकेश कवांले महोत्सवमा नगरवासीले फोहोर व्यवस्थानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । जनताको सहयोगी भावनाले गर्दा भूकम्पले क्षति गरेका सम्पदा पुनः निर्माण गर्न सकेको कुरा बताउँदै उहाँले भक्तपुरको कला, संस्कृति, परम्परा र जीवनशैली नै हाम्रो पहिचान रहेको बताउनुभयो ।
भक्तपुर महोत्सवका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवलाई सफल पार्न विगतमा झैँ नगरवासीले आफ्नो क्षमता प्रदर्शन गर्नेमा नगरपालिका विश्वस्त रहेको बताउनुभयो । वडाध्यक्ष उकेश कवांको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य रञ्जना त्वाती र हिरा ख्याजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *