भर्खरै :

३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम सम्पन्न

३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम सम्पन्न

भक्तपुर, १८ मङ्सिर । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा ‘समावेशी तथा दिगो भविष्यको आधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने नाराका साथ अपाङ्गता दिवस कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरभित्रका अपाङ्गता भएकाहरूलाई थर्मस वितरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले बालबालिकामा हुने अपाङ्गताको पहिचान जति छिटो भयो उति नै उपचार सहज हुने बताउँदै अपाङ्गता भएकाहरूको लागि भक्तपुर नपाले विविध गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
अपाङ्गता व्यक्तिले दुःख पाउने मात्र होइन परिवार र समाजबाट पनि अपहेलित हुने बताउँदै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानयोग्य जीवनयापन गर्ने अधिकार सुनिश्चितताको लागि भक्तपुर नपाले काम गर्दै आएको बताउनुभयो ।
अपाङ्गतासम्बन्धी व्यवस्थित कानुन निर्माण र त्यसको कार्यान्वयनबाट अपाङ्गता भएकाहरूलाई जीवनयापनमा सहजता पुग्ने बताउँदै उहाँले रोजगारी, विभिन्न सीपमूलक तालिम सञ्चालनबाट अपाङ्गता भएकाहरूलाई सबल बनाउन सकिने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिका अपाङ्गता समितिका अध्यक्ष एवम् उपप्रमुख रजनी जोशीले सन् १९९२ देखि विश्वभर अपाङ्गता दिवस मनाउन थालिएको बताउँदै अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चितता, जनमानसमा चेतना फैलाउन र उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई उँचो पार्न विश्वभर अपाङ्गता दिवस मनाउन थालिएको बताउनुभयो ।
भक्तपुर नपाले अपाङ्गता भएका व्यक्तिहरूको बृहत् भेला, स्वास्थ्य शिविर तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरी पुरस्कृत गर्दै आएको उल्लेख गर्दै उहाँले अपाङ्गता भएका व्यक्ति र अभिभावकहरूलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले अपाङ्गता भएका व्यक्तिहरूलाई व्यक्तित्व विकासमा समान अवसर दिनुपर्नेमा जोड दिँदै अपाङ्गतासम्बन्धी ऐन कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
अपाङ्गतासम्बन्धी अस्थायी समन्वय समितिका सदस्य हिमालयश्वरलाल मूलले अपाङ्गताका कारणहरूबारे प्रस्ट पार्दै अपाङ्गता भएकाहरूको मनोबल बलियो बनाउने काम परिवार र समाजबाट हुन जरुरी रहेको बताउनुभयो ।
अपाङ्गता समितिका सदस्य श्यामकृष्ण खत्री र कार्यपालिका सदस्य रोशनमैँया सुवालले पनि बोल्नुभयो । अपाङ्गता दिवसको अवसरमा ख्वप अस्पतालको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्ति र परिवारहरूको लागि स्वास्थ्य शिविर गरिएको थियो । सोही क्रममा भक्तपुर नपाद्वारा ख्वप अस्पताललाई फिजियोथेरापी मेसिन हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *