भर्खरै :

भक्तपुरमा लुप्त इतिहासको एक चर्चा

  • मंसिर २५, २०८१
  • देवीचन्द्र श्रेष्ठ (इतिहासकार, साहित्यकार र प्राच्य अर्थशास्त्री)
  • विचार

मध्यकालिक नेपालको इतिहासकै लागि भक्तपुर नै केन्द्रीय क्षेत्र भएर रहेको छ । तर, यस क्षेत्रमा इतिहास अनुशीलनशास्त्रको अध्ययन गर्ने संस्थागत संरचनाको नितान्त अभाव देखापर्छ । विकासका अन्यान्य सङ्घसंस्थाहरू स्थापित गर्न भक्तपुर सधैँ एक कदम अगाडि नै रहेको देखापर्छ । तर, इतिहासको अनुशीलन गर्ने शास्त्रीय पद्धतिलाई भने बेवास्ता गर्दा त्यसबाट देशकै इतिहासको राम्रो विश्लेषण भइरहेको पाइँदैन ।
धेरै वर्ष अगाडिको कुरा हो, त्रिभुवन विश्वविद्यालयमा मध्यकालिक राजा स्थिति मल्लको वंश निक्र्याेल गर्न नसकेर विवादास्पद बहस चलेको देखेर मलाई आश्चर्यमा पारेको थियो । यस विवादका बारेमा त्रिविको इतिहास विभाग र सिनास (CNAS) का दस्ताबेजहरू खोतलेमा अहिले पनि भेटिन सक्छ ।
वास्तवमा यो बहस नेपालमा इतिहास खोजीको प्रारम्भिक अवस्थादेखिकै देखिन्छ । यो २०१२÷१३ सालदेखि नै बहस चलाइएको थियो । यसको प्रारम्भिक चर्चा गर्ने इतिहासकार हुन् भैरवबहादुर प्रधान । उनले नेपालभाषामा लेखेको ‘मध्यकालिक इतिहास’ को चर्चामा उठाइएको भेटिन्छ ।
त्यतिखेर, स्थिति मल्ल दोलाजी बनेर नेपालको राजधानीमा प्रवेश गरेका थिए । उनलाई यहाँ ल्याउने त्यतिखेरको भक्तपुरकी रानी देवलदेवी हुन् । उनी हरसिंह देवकै खास रानी थिइन् । उनी यहाँ आफ्नो माइती राज्यमा शरणार्थी भएर पसेकी हुन् । मिथिलाका कर्णाटवंशी अन्तिम राजा हरसिंह देव आफ्नो राज्यमा मुसलमानी हमलाको परिणामस्वरूप पहाडतर्फ लागेका थिए । सिन्धुलीको तीन पाटनमा पुग्दा उनको देहान्त भयो । उनकी रानी देवलदेवीले आफ्नो माइती राज्यमा शरण मागेकीले उनी आफ्ना छोरा जगतसिंह देवसहित आफ्ना भारदारहरूका साथ मल्ल दरबारमा बसेकी हुन् ।
यस दुर्दान्त घटनाको सेरोफेरोमा नै मल्ल राज्यसमेत निःसन्तान भएर शरणार्थी देवलदेवीले यहाँ शासन गर्ने अवसर पाइन् । उनै देवलदेवीले आफ्नी नातिनी राजल देवीका निमित्त दोलाजीका रूपमा स्थिति मल्ललाई आफ्नै पूर्वराजकीय क्षेत्रबाट डाकेर ल्याएकी थिइन् । त्यतिखेर, स्थिति मल्लको पूर्वहैसियत के थियो, त्यो पक्ष यहाँ चर्चित भएन । यहाँ मल्लवंशमा स्थापित भएकोले उनी स्थिति मल्ल कहलिएका थिए ।
वास्तवमा देवलदेवीले आफ्नै राज्यको कुनै सामन्तका छोरालाई यहाँ दोलाजीका रूपमा भित्याएकी थिइन् । तर, त्यो सामन्त राजाको उल्लेख गरिएन । त्यसैबाट यो समस्या उब्जिएको हो ।
स्थिति मल्लको पूर्वहैसियत मल्ल थिएन । यहाँ राजलदेवी मल्लसित विवाह भएपछि मात्र उनी स्थिति मल्ल कहलिएका हुन् ।
गोपाल राजवंशावली भनिने खास नेपाल राजवंशावलीमा मध्यकालिक नेपालमा दक्षिणबाट हमला गर्ने दोयहरूको चर्चा धेरैपटक भेटिन्छ । वास्तवमा मिथिलाका कर्णाटवंशी राजाका सैनिक सेवामा रहने जनजाति नै दोय हुन् । हरसिंह देवको मिथिला राज्य टुटेपछि देवलदेवीले यसलाई नेपालमा गाभेकी थिइन् । त्यसबेलादेखि नेपालको तराई क्षेत्रमा मिथिलाको भूभाग गाभिएको थियो । यसलाई नेपाल एकीकरणको प्रारम्भिक स्वरूपमा ऐतिहासिक व्याख्या गर्नुपर्छ, त्यो पक्ष अहिलेसम्म शिथिल पारिएको छ, जानेर होस् वा नजानेर ।
यसरी, हरसिंह देवको मिथिला राज्य नै दोय राज्य हुन् नेपालको ऐतिहासिक परिप्रेक्ष्यमा । यी दोयहरूको चर्चा त्यो राज्य नासिएपछि हुन सकेन । महाभारत पर्वतीय मैदान उपत्यका ‘दुन’ भनेर भौगोलिक संज्ञा दिइएको हो । यसको संस्कृत शब्द ‘द्रोण’ हो । यस्ता पार्वत्य उपत्यका पुरानो भौगोलिक शब्दावलीमा ‘दुन’ भएको छ । यसै ‘दुन’ मा बस्ने बासिन्दा द्रोणवार अथवा दनुवार भएको छ । तिनीहरू नै तराईमा गएर सैनिक सेवामा रहँदा तराईको राज्य नै दोय राज्य कहलिएका हुन् । यसैको परिणाम, नेपालको तराई क्षेत्रमा दनुवारहरू मौलिकरूपमा प्रजा, पछि जनजातिमा परिणत भएर रहेका छन् । त्यही ऐेतिहासिक परिप्रेक्ष्यमा तराईका दनुवारहरूको जातीय पहिचान गर्न सकिन्छ ।
हरसिंह देवको मिथिला राज्यअन्तर्गत सप्तरी सामन्त राज्य भएर रहेको थियो । यही भूमि नेपालको तराई, हालको सप्तरी–महोत्तरीको भूभागमा परेको छ । यसै भौगोलिक क्षेत्रमा अहिले दनुवारहरू रैथाने जनजाति भएर रहेका छन् ।
तिनै दनुवारहरूको नृतत्वशास्त्रीय अध्ययन (Anthropological studies) गर्दा द्रोणवार सामन्त राज्यको चर्चा गर्नुपर्ने हुन्छ । सप्तरीका रामदेव राय दनुवारले ‘दनुवार जातिको ऐतिहासिक रूपरेखा’ भन्ने पुस्तकमा चर्चित खरियानी निवासी उनीहरूका जातीय राजा उतिमसिंहको कथन विचारणीय रहेको पाइन्छ । उनको पुर्खा पुरादित्यसिंह देवका कान्छा छोरा स्थितिदेव सप्तरीका केही तागाधारी दनुवारहरूको एउटा समूह लिएर पहाड ‘खुपु’ देशमा विवाह गर्न गएको गयै, फर्केर आएको छैन । यही अनुश्रुतिलाई प्रमाण मानेर इतिहासको नृतत्वशास्त्रीय व्याख्या गर्नुपर्ने हुन्छ । यहाँ ‘खुपु’ देशको तात्पर्य निःसन्देह नेपालको भक्तपुर नै हो ।
मिथिलाका राजा हरसिंहदेवको राज्य टुटेपछि त्यहाँ ओइनवार ब्राह्मण वंशका शिवसिंहदेव स्थापित भएका थिए । उनी कुनै युद्धमा फसेका बेला उनकी रानी लखिमादेवी सप्तरीका राजा पुरादित्यसिंहको दरबारमा आश्रय लिएर १२ वर्षसम्म बसेकी थिइन् । उनको साथमा मैथिल पण्डित महाकवि विद्यापति यहीँ आश्रित भएर बसेका थिए । यसको चर्चा मैथिली साहित्यमा पाइन्छ । हरसिंह देवका सामन्त राज्यहरूका बारेमा खोजखबर गरिएमा सप्तरीका पुरादित्यसिंहको कान्छा छोरा स्थितिदेव सिंहको अनुश्रुतिका आधारमा ऐतिहासिक खोजी कार्य गर्न सकिने अवस्था देखापर्छ ।
यसको निम्ति भक्तपुर नगरपालिकामार्फत हालको सप्तरी–महोत्तरीमा भगिनी नगरपालिका सम्बन्ध जोडेर त्यसतर्फ ऐतिहासिक खोजी कार्यको अध्ययन अगाडि बढाउन सकिने सुझाउ दिन चाहन्छु ।
धन्यवाद !
(चवालिसौँ नेपालभाषा साहित्य तः मुंज्यामा गत असोज २८ गते प्रस्तुत मन्तव्यको नेपाली अनुवादः वक्ता स्वयम्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *