भर्खरै :

दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित

दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित

सियोल, २९ मङ्सिर (एएफपी) । दक्षिण कोरियाको संसद्ले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ ।
महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेको छ ।
डिसेम्बर ३ मा सैनिक शासन लागु गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढी राजनीतिक तनाव निम्त्याएको थियो ।
राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसद्बाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौँको सङ्ख्यामा ¥याली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागु गर्ने असफल प्रयासको लागि माफी नमाग्ने बताउनुभएको छ ।
कुल ३०० संसद् सदस्य रहेको कोरियाली संसद्मा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् ।
मतदानमा तीन सांसद अनुपस्थित रहेको र आठ मत बदर भएको छ ।
महाभियोगसँगै युनलाई पदबाट निलम्बित गरिएको छ भने दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल सुरू गरेको छ ।
अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि उहाँलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नुहुनेछ ।
प्रधानमन्त्री हान डक सोले राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव पारित भएसँगै पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “दक्षिण कोरियाली प्रधानमन्त्रीको रूपमा मेरो सम्पूर्ण शक्ति र प्रयास स्थिर शासन सुनिश्चित गर्न समर्पित हुनेछ ।”
महाभियोग पारित हुन दुई सय मत आवश्यक थियो र विपक्षी सांसदहरूले युनको कन्जरभेटिभ पिपुल पावर पार्टी (पीपीपी) का कम्तीमा आठ जना सांसदलाई दल बदल्न राजी गराउन आवश्यक थियो ।
“आजको महाभियोग जनताको ठुलो जीत हो,” विपक्षी डेमोक्रेयाटिक पार्टीका नेता पार्क चान–डेले मतदानपछि भन्नुभयो ।
उहाँले अबको १८० दिनभित्र आउने अदालतको फैसलाले कोरियाली जनतालाई प्रजातन्त्र र स्वतन्त्रताप्रतिको आत्म सम्मानलाई प्रकट गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *