भर्खरै :

खुला बाँसुरी बाजा प्रतियोगिता सम्पन्न झिगु नेवा बाँसुरी बाजा खलः प्रथम

खुला बाँसुरी बाजा प्रतियोगिता सम्पन्न झिगु नेवा बाँसुरी बाजा खलः प्रथम

भक्तपुर, ३० मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर महोत्सव २०८१ को अवसरमा आयोजित खुला बाँसुरी बाजा प्रतियोगिता आइतबार सम्पन्न भयो ।
शनिबार र आइतबार भएको उक्त प्रतियोगितामा झिगु नेवा बाँसुरी बाजा खलः चन्द्रागिरी प्रथम, रूद्रायणी बाँसुरी खलः खोकना ललितपुर द्वितीय र श्री नासः हेमा बाँसुरी बाजं खलः भक्तपुर तृतीय, देवी सांस्कृतिक बाजा खलः चाँगुनारायण नपा र निक्वे दाफा खल मध्यपुर थिमिले सान्त्वना स्थान हासिल गर्न सफल भए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विजयी टोलीलाई नगद पुरस्कार र वाद्यवादन सामग्री प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले मौलिक कला, संस्कृति, भाषा, जीवनशैली मात्र नभई बोली, व्यवहार, अतिथि सत्कार आदि पनि सुसंस्कृत हुनुपर्ने र ती सबै संस्कृतिअन्तर्गत पर्ने बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई नेपालभाषा बोल्न र सिक्न अभिप्रेरित गर्नुपर्नेमा जोड दिँदै भक्तपुर महोत्सव आयोजनाले भक्तपुरको मौलिकता प्रदर्शन हुनुका साथै नयाँ पुस्तालाई यसबारे सुसूचित पार्ने अवसर मिलेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले हाम्रो भाषाले हाम्रो पहिचान झल्काउँछ भन्दै विभिन्न भाषा अध्ययन अध्यापनले संस्कृति आदानप्रदानमा समेत टेवा पु¥याउने धारणा राख्नुभयो ।
विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय भाषामा दख्खल भएका नयाँ पुस्ता तयार गर्न सके भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न थप टेवा पुग्ने बताउँदै उहाँले जनताको सांस्कृतिक चेतनास्तर उठाउन सके समाजमा आमूल परिवर्तन हुने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाको नियम र मापदण्डअनुसार नक्सा पास गरी घर बनाउन नगरपालिकालाई सहयोग गर्नुपर्ने बताउँदै उहाँले नगरलाई सभ्य र सुसंस्कृत बनाउने नगरपालिकाको उद्देश्यले विस्तारै मूर्त रूप लिँदै छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले भक्तपुरको सांस्कृतिक एवम् पर्यटकीय धरोहरलाई बचाउन प्रत्येक वर्ष बाजा प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरको परम्परागत सीप नयाँ पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने अभियानमा भक्तपुर नपाले विभिन्न तालिम र प्रतियोगिता आयोजना गर्दै आएको र भक्तपुर अनुपम सम्पदाको धनी सहर भएको बताउनुभयो ।
भक्तपुर नगरका जनप्रतिनिधिले चुनावी घोषणापत्रअनुसार जनताको निःस्वार्थ सेवा दिने उद्देश्यअनुरूप आफ्ना कार्यक्रम र गतिविधिलाई अगाडि सार्दै आएको उल्लेख गर्दै उहाँले भक्तपुर विदेशीको सहयोगमा बनेको सहर होइन, यो जनताको साथ र सहयोगमा बनेको सहर हो भन्नुभयो ।
बाँसुरी बाजा प्रतियोगिताको समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र निर्णायकको तर्फबाट जीवन आलेले पनि बोल्नुभएको थियो । प्रतियोगिताको नतिजा घोषणा निर्णायकमण्डलका सदस्य धर्म मुनिकारले गर्नुभएको थियो ।
प्रतियोगिताका विजेताहरूलाई प्रथमलाई रू. ५० हजार र वाद्यवादनका सामग्री, द्वितीयलाई रू. ४० हजार र वाद्यवादनका सामग्री, तृतीयलाई रू. ३० हजार र वाद्यवादनका सामग्री तथा सान्त्वना दुईवटा समूहलाई रू. २० हजार र वाद्यवादनका सामग्री प्रदान गरिएको थियो । सहभागी ४६ ओटै टोलीलाई खाजा खर्च रू. ५ हजार र मादल एउटा/एउटा प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले निर्णायकहरूलाई धन्यवाद पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुला बाँसुरी बाजा प्रतियोगितामा निर्णायकहरूमा डा. पुष्परत्न शाक्य, धर्म मुनिकार, दीपेन्द्र बज्राचार्य, सीतामैया राजचल, जीवन आले, दशराम त्वाती, राजकुमार मानन्धर, इन्दिरा लाछिमस्यु, रवि कपाली, रत्नसुन्दर जताधारी, देवचन्द्र बज्राचार्य, विष्णुबहादुर मानन्धर, कृष्णसुन्दर प्रजापति, मुक्तिसुन्दर जधारी, आशाराम वैद्य, राजेन्द्र श्रेष्ठ, पञ्चलाल लाछिमस्यु, गोविन्द दुवाल र हेरा ख्याजु रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *