भर्खरै :

मध्यपुर थिमि नपाका प्रमुख र आठ वटा नगरपालिका उपप्रमुखहरूद्वारा भक्तपुर महोत्सवको अवलोकन

मध्यपुर थिमि नपाका प्रमुख र आठ वटा नगरपालिका उपप्रमुखहरूद्वारा भक्तपुर महोत्सवको अवलोकन

भक्तपुर, ३० मङ्सिर । मध्यपुर थिमि नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, काठमाडाँै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य, कीर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य, नागार्जुन नपाका उपप्रमुख सुशिला अधिकारी, चन्द्रागिरी नपाका उपप्रमुख वसन्ती श्रेष्ठ, गोदावरी नपाका उपप्रमुख सुनिता महर्जन, साँखु नपाका उपप्रमुख समिता श्रेष्ठ र महाङ्काल गाउँपालिकाका उपाध्यक्ष डोमामाया गोलेले भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर महोत्सवको अवलोकन गर्नुभयो ।
अवलोकनको क्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको बाँसुरी बाजा प्रतियोगितालगायत विभिन्न स्थानहरूमा भइरहेको सांस्कृतिक र परम्परागत जीवनशैलीको बारेमा बताउँदै यो महोत्सवले देश विदेशका पाहुनाहरूले भक्तपुरलाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुर सांस्कृतिक सम्पदाले भरिपूर्ण जीवन्त नगरी भएको हुँदा कला र संस्कृतिको जगेर्ना गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उपप्रमुख डंगोलले भक्तपुर नगरलाई यस महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै यहाँको कला र संस्कृतिले जोसुकैलाई पनि लोभ्याउन सफल भएको उल्लेख गर्नुभयो ।
उपप्रमुखहरूको टोलीले भक्तपुरको प्रशन्नशील महाविहारस्थित कुमारी (जीवित देवी) प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, ख्वप इन्जिनियरिङ कलेज, लिबालीस्थित शैक्षिक प्रदर्शनी र भक्तपुर दरबार क्षेत्र लायकुस्थित परम्परागत पोशाक प्रदर्शनी, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी तथा लाय्कुको सांस्कृतिक कार्यक्रमलगायत विभिन्न स्थानमा भएको घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।
अवलोकनको अन्तमा भक्तपुर नपाका उपप्रमुख जोशीले अतिथि प्रमुख र उपप्रमुखहरूलाई भक्तपुर नपाका विभिन्न प्रकाशन र मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *