भर्खरै :

दलको सच्चाइको मापदण्ड दल ठुलो र सानो होइन

कुनै पनि दलको सच्चाइको मापदण्ड दल ठुलो र सानो हुनु होइन । दल ठुलो होस् या सानो मुख्य कुरा विचार हो । दल ठुलो भए पनि विचारमा खिया लागेको छ भने ठुलो दलले बहुमत जनताको सेवा गर्छ भन्ने कुरा होइन । दल सानो भए पनि देश र जनताको सेवा गर्ने दलको उद्देश्य हो भने त्यसलाई आत्मसात गर्नुपर्छ । अहिले दुई ठुला दलले सरकार हाँकिरहेका छन् । तर, सरकार हाँकिरहेका दलहरूले देश र जनताको हितमा कुनै उल्लेखनीय काम गर्न सकेका छैनन् । दल ठुलो होस् या सानो सबैले सही विचार लिनुपर्छ । दल ठुलो भए पनि पतन हुनसक्छ । समय क्रममा ठुलो दल सानो र सानो दल ठुलो बन्न सक्छ । तर, विचार कहिले सानो र कहिले ठुलो हुँदैन । यसकारण, हरेक नेपालीले कुन दल ठुलो र सानो हेर्ने होइन । कुन दल देश र जनताको पक्षमा छ, कुन दलको सही विचार हो, त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ† त्यस दलप्रति हाम्रो आकर्षण हुनुपर्छ ।
सत्तासीन दलका नेताहरूको गलत विचारले गर्दा देशको गति अगाडि बढेन । विचार गलत भएकै कारण ठुला ठुला दलहरू पतन भए, संशोधनवादी र अवसरवादी बने । एमाले र माओवादी केन्द्रले नेमकिपाझैँ असल विचार लिएका भए, देश र जनताको सेवा गर्ने बाटो अपनाएका भए देश विकास भइसकेको हुन्थ्यो; भ्रष्टाचार र अनियमितता हुँदैनथ्यो । खराब विचारकै कारण जुन वर्गका जनताको सेवा गर्नुपथ्र्यो उही वर्गका जनतामाथि शोषण भइरह्यो, थिचोमिचो भइरह्यो । गलत विचारकै कारण यहाँ घात, विश्वासघात भइरह्यो; सरकारले स्थिरता दिन सकेन । झूट कुरा फलाक्ने, आश्वासन दिने, लोभलालच देखाउने काम गलत विचारकै परिणाम हो । पञ्चायती व्यवस्थाभन्दा सङ्घीय गणतान्त्रिक व्यवस्था प्रगतिशील कदम मानिन्छ । व्यवस्था बदलियो तर जनताको स्थिति बदलिएन । विचार सही भएको भए नेपाल भ्रष्टाचार बढी हुने देशमा पर्ने थिएन; अपराधीहरूले ठाउँ पाउने थिएनन्; देश गिर्ने स्थितिमा पुग्ने थिएन । व्यवस्था बदल्न ज्यानको बाजी राख्ने, रगतको खोलो बगाउने जनताको निम्ति कुनै राहत भएन । के जनताले रगतको खोलो बगाउनु शासकहरूलाई सुख सुविधा दिन हो ? उनीहरूको दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न हो ?
सिद्धान्त र विचार नमान्ने, मोड्ने अरू कोही होइनन् दलका शीर्ष नेताहरू नै हुन् । नेकासँग एकाएक सत्ता गठबन्धन गर्न अघि सर्ने माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल नै हुन् , बडो क्रान्तिकारी बनेर ‘जनयुद्ध’ छेड्ने र सरकारसामु आत्मसमर्पण गरी झुक्ने या क्रान्तिकारी बाटो छोड्ने नेता पनि उनै हुन् । देशमा थोरै सेना भए पुग्छ भनी उद्घोष गर्ने, नेकासँगको गठबन्धनभन्दा एमालेसँग गठबन्धन ठीक भन्ने पनि उनै हुन् । एक हजारभन्दा बढी केन्द्रीय सदस्य पु¥याएर संसारकै ठुलो कम्युनिस्ट पार्टीमध्ये माओवादी केन्द्र पनि एक हो भन्न भ्याएका नेता दाहाल आफ्नो दलको जनसेनाको गलत सङ्ख्या दिएर देशको राजस्वमा दाइँ गर्ने नेता पनि उनै हुन् । देशको ठुलो दल बनाएर एकाएक झरेको दल माओवादी केन्द्र नै हो । परिवर्तनको सपना बाँडेर, जनताको सेवा गर्छु भनी बाचा गरेर व्यवहारमा लागु नगर्ने दलमध्ये माओवादी केन्द्र पनि हो । सत्ताको निम्ति सिद्धान्त र विचार छोड्नु के सच्चा राजनीति हो ? के यो विचारमा खिया लागेको होइन ?
विचारमा खिया लागेकै कारण सिक्किम भारतमा गाभियो । एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने, नागरिकता विधेयक पारित गर्ने, युक्रेनको पक्षमा नेपाल सरकारले सहमति जनाउने काम सबै गलत विचारको कारण भएको हो । माक्र्सवाद–लेनिनवाद मार्ग निर्देशक सिद्धान्त मान्ने एमालेले वर्गसङ्घर्षको बाटो छोड्नु के गलत विचार होइन ? ‘कम्युनिस्ट’ पार्टीको हवाला दिएर अब सङ्घर्षको आवश्यकता छैन भन्नु र वर्गसङ्घर्ष गर्नेहरू कम्युनिस्ट हुनैसक्दैनन् भन्नु के गलत विचार होइन ? दल र सरकारको नेतृत्व गर्ने दलका नेताहरूले गलत विचार लिएपछि, गलत काम गरेपछि देश र जनताको अहित हुने काममात्र होइन देशै नरहेको दृष्टान्त छ । गलत बाटो लिँदा कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको सरकारको अस्थायी हारमात्र होइन देश टुक्राटुक्रा भएको दृष्टान्त छ । प्रजातन्त्र स्थापना भएको दशकौँ समय बित्दा पनि नेपाल साक्षर देश पनि बनेको छैन† विकासशील देश बनेको छैन । शासकहरू अदूरदर्शी, अवसरवादी र संशोधनवादी भएकाले देश गएगुज्रेको अवस्थामा पुगेको हो ।
सही राजनीति गरेको दलले कुरा र आश्वासनले होइन राम्रो काम गरेरै देखाएको हुन्छ । विज्ञान र प्रविधिको यो युगमा चमत्कारपूर्ण कार्य गरेर देखाउनुपर्नेमा, नयाँ नयाँ कुरा पत्ता लगाएर देश विकास गर्नुपर्ने बेला देश झन्झन् पराधीन बन्दै जानु के दुर्गतिको लक्षण होइन ? काम गरेर देखाउनुपर्ने बेला मति भ्रष्ट हुनु, सत्तामा जान पाएपछि या सरकारको नेतृत्व गर्न पाएपछि देश र जनता भुल्ने शासकहरूको बुद्धि कसरी सही हुन्छ ? सत्तामा रहुञ्जेल जनता, क्रान्ति र समाजवादको वास्ता नगर्ने, सत्ताबाट च्युत भएपछि क्रान्तिकारी बन्ने विचार सही होइन । अतः देश र दलको नेतृत्व गर्ने हरेक दलको विचार सही हुनुपर्छ; सही विचारको सरकारले मात्रै देशको काँचुली फेर्नसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *