भर्खरै :

जेल जीवन र पुस्तक

जेल जीवन र पुस्तक

सामान्यतया जेल भन्नेबित्तिकै हामी अपराधीहरू राख्ने ठाउँ भनेर बुझ्छौँ । हो, जेलमा स–साना पाकेटमारहरू, लागूऔषधका दुव्र्यसनीहरूदेखि ज्यान, डाँका, बलात्कारजस्ता जघन्य अपराध गर्ने अपराधीहरू एकै ठाउँमा राखिन्छन् । त्यहाँ राजकाज मुद्दाका बन्दीहरू वा राजनैतिक बन्दीहरू पनि सँगै राखिन्छन् । त्यसैले जेल राज्यको आँखामा दोषी देखिएकाहरू सबैले सजाय काट्ने ठाउँ हो । अपराध गर्नेलाई समाजमा पुनःस्थापना गर्नको निम्ति पश्चाताप गर्ने अवसरको रूपमा जेलमा राखिने भएको हुँदा जेललाई सुधारगृह पनि भनिन्छ ।
पटक–पटक विद्यार्थी आन्दोलन र शिक्षक आन्दोलनमा प्रहरी हिरासतमा परे पनि २०४५ सालको ‘भक्तपुर काण्ड’ नै मेरो जेल बसेको पहिलो अनुभव हो । पञ्चायती व्यवस्थाको षड्यन्त्रस्वरूप एकजना मान्छे मारिएकोलाई निहुँ बनाई नेमकिपाका सयौँ जना नेता र कार्यकर्ताहरू पक्रिए । हजारौँ जनालाई दुःख दिइएको त्यो काण्डमा मैले २० महिना जेलको अनुभव गरेँ ।
शत्रुहरूले नेमकिपासँग नजिक परिवारहरूलाई धेरै नै दुःख दिएका थिए । पार्टीका जिम्मेवार कामरेडहरू कोही जेलमा, कोही भूमिगत त कोही प्रवासमा जानुपर्ने बाध्यता थियो । नेपाल मजदुर किसान पार्टीलाई दबाउन सिङ्गो पञ्चायती राज्य संयन्त्र नै लागेको थियो । त्यस्तो कठिन स्थितिमा जेलमा बस्नेहरूसँग संयमता र धैर्यताबाहेक अर्को विकल्प थिएन ।
बिनाकाम समय बिताउनु त्यति सहज थिएन । हामी भर्खर कलेज पढ्दै थियौँ । घरबाट पाठ्यपुस्तकहरू झिकाउन थाल्यौँ र नियमित अध्ययनलाई समय दिनथाल्यौँ । जेलभित्रको सानो पुस्तकालयबाट पनि पुस्तकहरू लिएर अध्ययन गर्नथाल्याँै । हरेक दिन एउटा समय नियमित अध्ययनको अघोषित नियम थियो । एकसाथ सबै एउटै कोठामा बसेर अध्ययन गरिरहँदा हामी बसेको कोठा विद्यालय वा कलेजको कक्षाकोठाझैँ लाग्थ्यो । शान्त वातावरणमा आ– आफ्नो रुचिअनुसारको विषय अध्ययन गर्ने त्यो बन्दोबस्त साँच्चै राम्रो थियो र पछिसम्म पनि हामीले त्यसलाई निरन्तरता दियौँ । हामीले आ–आफ्नो कलेजको शिक्षालाई पनि अगाडि बढायौँ ।
नयाँ–नयाँ पुस्तकहरूको अध्ययनले हामी लामो समयसम्म परिवारबाट टाढा रहनु पर्दाको पीडालाई बिर्सन्थ्यौँ । पुस्तक पढुञ्जेल हामी बाह्य संसारमा डुबुल्की माथ्र्यौं । आ–आफूले अध्ययन गरेका पुस्तकको बारे छलफल गथ्र्यौँ र मनलाई हलुका पाथ्र्याैँ । जेलभित्र राजनैतिक बन्दीको लागि नजिकको सहयोगी वा साथी भनेकै पुस्तक हो । पुस्तक अध्ययनले समय बिताउन सहज बनाउनुको साथै धैर्य प्रदान गथ्र्याे, उत्साही बनाउँथ्यो र वर्गशत्रुविरुद्ध लड्न जोस जाँगर थपिदिन्थ्यो ।
जेलभित्रको पुस्तकालयमा थोरै पुस्तकहरू थिए । ती पुस्तकहरू अध्ययन गर्दा सुरुका दिनहरूमा पुस्तकमा भन्दा हाम्रो ध्यान अन्यत्रै गइरहेको हुन्थ्यो । मानसिक तनावका कारण गहिरिएर अध्ययन गर्न सकेका थिएनौँ । शरीर जेलभित्र भए पनि मन जेल बाहिर घुमिरहेको हुन्थ्यो । कति बाहिरबाट ल्याइएका पुस्तकहरू जेल प्रशासनले भित्रै पठाउन्नथ्यो ।
‘फाँसी दे ।’ पुस्तक त्यसको एउटा उदाहरण हो । त्यो पुस्तक पाउन हामी जेलमा बसेकाहरूलाई धेरै गा¥हो भयो । पछि विभिन्न माध्यमबाट भित्र छिराइसकेपछि हामी ‘भक्तपुर काण्ड’ मा परेकाहरूले दोहो¥याई ते¥याई पढ्यौँ । आफू फसेकै काण्डको बारे सरल तरीकाबाट लेखिएको हुँदा त्यतिबेला हाम्रो लागि उत्कृष्ट किताब ‘फाँसी दे’ नै लाग्थ्यो ।
पुस्तक ज्ञानको स्रोत हो । नयाँ–नयाँ पुस्तक अध्ययन वा खोजमूलक अध्ययन र अनुसन्धानबिना नयाँ–नयाँ ज्ञान हासिल गर्न सकिँदैन । कोही पनि मान्छे सर्वज्ञान सम्पन्न हुँदैन । उसले निरन्तर अध्ययन गर्नैपर्छ । अध्ययनबिना कोही पनि मान्छे कुनै पनि क्षेत्रको विशेषज्ञ बन्न सक्दैन । राजनैतिक कार्यकर्ताहरूले समाजको अगुवाइ गर्नुपर्ने भएकोले उनीहरूको सैद्धान्तिकस्तर माथि उठेकै हुनुपर्छ । पुस्तक अध्ययनले मात्रै समाजलाई राम्रोसँग बुझ्न सकिन्छ । जसले समाज बुझेको हुन्छ उसले मात्रै समाजको अगुवाइ गर्न सक्छ । हरेक राजनैतिक कार्यकर्ताले यस कुरालाई ध्यानमा राखेर निरन्तर अध्ययन गर्नु आवश्यक छ ।
एक राजनैतिक कार्यकर्ताले राजनीति, भूगोल इतिहास र विभिन्न देशका आन्दोलनहरूसँग सम्बधित पुस्तकहरू अध्ययन गरी ज्ञान हासिल गर्छ र त्यसको प्रयोग समाजमा गर्छ । विगतमा भएका आन्दोलनहरूको सफलता र असफलताको इतिहास बुझ्नेले मात्रै समाजको सही नेतृत्व गर्न सम्भव हुन्छ । जेल त्यस्तै समाज बुझ्ने र अध्ययन गर्ने एउटा थलो पनि हो जहाँ सबै खालका मानिसहरू रहेका हुन्छन् ।
जेललाई चोर, डाँका, पाकेटमारहरूलाई सुधार गर्ने थलोमात्रै नभई नयाँ–नयाँ ढङ्गले चोरी, डकैती र अपराध कला सिकाउने ठाउँको रूपमा पनि लिन सकिन्छ । जेलमा भर्खर चोरी, डकैती गर्न सिकेकाहरूको भेट पेशेवर डाँका र चोरहरूसित हुन्छ । पेशेवर चोर र डाँकाहरूले नयाँ–नयाँ अपराध कलाहरू सिकाउँछन् । भर्खर अपराधमा संलग्न भएर जेल परेकाहरू नयाँ नयाँ ढङ्गले चोर्ने र डकैती गर्न सिक्छन् । तिनीहरू जेलमा सिकेका अपराध कलालाई बाहिर आइसकेपछि समाजमा प्रयोग गरेर हेर्छन् । त्यसैले जेलबाट छुटेपछि कोही–कोही झन् चर्को अपराधी भएर निस्कन्छन् । राज्य यसबारे गम्भीर देखिँदैन ।
राजनैतिक दलहरू प्रतिबन्धित अवस्थामा राजनैतिक कार्यकर्ताहरू जेल परे पनि त्यहाँ नेताहरूसँग भेटघाट हुन्थ्यो । त्यसले ती कार्यकर्ताहरूमा झन् पञ्चायतविरोधी भावनाको विकास गथ्र्याे । जेलमा परेका अधिकांश राजनैतिक बन्दीहरू प्रजातन्त्रका योद्धा भएर निस्कनुको कारण त्यही थियो । पञ्चायती व्यवस्थाले राजनैतिक व्यक्तिहरूलाई चारैतिर अग्ला पर्खालहरूभित्र लामो समयसम्म थुने पनि उनीहरूले बोकेका प्रगतिशील विचारहरूलाई थुन्न सकेन । परिवर्तनको प्रवाहलाई रोक्न खोज्ने कुनै पनि शक्ति समयको अन्तरालमा आफै समाप्त भएर जान्छ । पञ्चायती व्यवस्था, निरङ्कुश र संवैधानिक राजतन्त्रको अन्त्यबाट यो कुरा प्रस्ट भएको छ ।
अध्ययन समय बिताउन र मनोरञ्जनको लागि नभई नयाँ नयाँ ज्ञान हासिल गर्नको निम्ति हुनुपर्छ । राजनैतिक कार्यकर्ताहरूले त झन् बढी नयाँ–नयाँ पुस्तकहरूको अध्ययन निरन्तर गरी नयाँ–नयाँ ज्ञान हासिल गर्नुपर्छ । जेलभित्र होस् या बाहिर हरेक राजनैतिक कार्यकर्ताले अध्ययनलाई निरन्तर जोड दिनुपर्छ ।

स्रोत : प्रगति स्मारिका, २०६९ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *