जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, १ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर महोत्सव २०८१ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘सहकारी आवाज’ बुलेटिन सोमबार एक कार्यक्रमबिच विमोचन गर्नुभयो ।
सहकारी गतिविधिसम्बन्धी प्रदर्शनीस्थल गोल्मढीमा आयोजित उक्त कार्यक्रममा सांसद सुवालले सहकारी सिद्धान्तअनुसार सहकारीमा स्थानीय जनता सदस्य हुने र कृषि एवम् घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्ने हो भन्नुभयो ।
“सहकारी संस्थाले सदस्यहरूको सांस्कृतिकस्तर ऊँचो पार्नु आवश्यक छ । नयाँ पुस्ताको शिक्षा, स्वास्थ्य, खेलकुद, सीप विकासमा पनि सहकारी संस्थाले योगदान गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
सहकारी संस्था रकम सङ्कलन इकाईको रूपमा नभई सदस्यहरूकै सहभागितामा उत्पादन र विकास गर्ने संस्था हुनुपर्नेमा जोड दिँदै सांसद सुवालले भन्नुभयो, “धेरै पैसा कमाउँदै कोही ठुलो हुने र बुद्धिमान हुने होइन । धन (लक्ष्मी) को बाहन दिउँसो आँखा नदेख्ने उल्लूलाई बनाइएको छ; सरस्वतीको वाहन दूध र पानी छुट्याउने राजहंश राखिएको छ । हामी उल्लु होइन सत्य र असत्य छुट्याउने राजहंशजस्तै हुनु जरूरी छ ।”
उहाँले भन्नुभयो, “२००७, २०४६ र २०६२/६३ सालको आन्दोलन गरेर सरकारमा गएका संसद्वादी दलहरूले नेपालको हरियो वनलाई तस्करको धन बनाए । नेपालबाट भारतमा भइरहेको काठ तस्करी रोकेर नेपालीलाई घर बनाउन सस्तोमा काठ उपलब्ध गराइनुपर्दछ ।”
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा प्रकाशित सहकारीसम्बन्धी बुलेटिनमा सङ्ग्रहित लेखहरूको अध्ययनबाट सहकारी संस्थामा काम गर्ने सञ्चालक र कर्मचारीहरूलाई सहकारीको सिद्धान्त र नीतिबारे ज्ञान दिने उल्लेख गर्दै बुलेटिनले सहकारी संस्थालाई सही दिशामा अघि बढ्न मार्गनिर्देश गर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका सदस्य हरिप्रसाद बासुकलाले पाँचदिने महोत्सव भव्य र सफलरूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै महोत्सवकै अवसरमा भनपाले सहकारी गतिविधिहरू प्रदर्शनमा राखिएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सहकारी गतिविधिलाई उजागर गर्न महोत्सवको अङ्गको रूपमा सहकारी गतिविधि प्रदर्शनीस्थलको व्यवस्था गरिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने भक्तपुर जिल्ला बचत सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी मूल्य र सिद्धान्तबारे सहकारीकर्मी र सदस्यहरू सुसूचित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहकारी समितिका सदस्यद्वय जितेन्द्र मुनंकर्मी र कार्यपालिका सदस्य रञ्जना त्वातीले पनि बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नाचहरू प्रस्तुत गरेका थिए ।
Leave a Reply