भर्खरै :

कला–संस्कृति भक्तपुरको परिचयमात्र होइन प्राण नै हो

कला–संस्कृति भक्तपुरको परिचयमात्र होइन प्राण नै हो

भक्तपुर महोत्सवको सबैमा हार्दिक शुभकामना ! भक्तपुर नगरपालिकाप्रति हार्दिक आभार । यस महोत्सवको भव्य सफलताको कामना गर्दछु । पाँच दिनसम्म चल्ने यो महोत्सव सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिकलगायतका क्षेत्रको थप प्रगतिका निम्ति राम्रो सुरुआत साबित होस् । राम्रो सुरुआत राम्रो यात्रा आरम्भका निम्ति र गन्तव्य चुम्नका निम्ति अत्यन्त महत्वपूर्ण हुने गर्दछ । राम्रो सुरुआत सम्भावनाका नयाँनयाँ ढोका खोल्नका निम्ति अपरिहार्य हुन्छ । जीवनका विविध क्षेत्रमा सकारात्मक परिवर्तनका निम्ति निरन्तर चालिएका पाइलाहरूमध्ये यो महोत्सव एउटा दरिलो पाइला साबित होस्, शुभकामना !
भक्तपुर विभिन्न क्षेत्रमा पायोनियर अर्थात् अग्रदूत बनेको चर्चा धेरैबाट सुनिन्छ । मौलिक शैलीको महोत्सव आयोजनामा पनि भक्तपुरको अगुवाइको सराहना सुनिने र अनुकरण गर्न लायक बन्ने विश्वास व्यक्त गर्दछु । भक्तपुरले देशका निम्ति अनेक सुन्दर उदाहरण तथा उपहारहरू दियो । यो महोत्सव अर्को एउटा मोडल या उल्लेख्य उदाहरण बनोस् ।
भक्तपुर चाडपर्व नै चाडपर्वको सहर हो । कला–संस्कृति भक्तपुरको परिचयमात्र होइन प्राण हो । भक्तपुरका जनताका निम्ति यो महोत्सव एउटा अर्को रचनात्मक एवम् उदाहरणीय चाड सिद्ध होस् । प्राचीनताको सौन्दर्यसहितको आधुनिक जीवनको पर्व बनोस् । यो महोत्सव हरेक पाहुनाका निम्ति र सबैका निम्ति अविस्मरणीय बनोस् । पुरानो युगले नयाँ युगको सेवा गर्ने उद्देश्य हासिल गर्न व्यावहारिक पाइला निरन्तर चाल्दै जान सकौँ, शुभकामना छ ।
भक्तपुर कलाकार, कलाप्रेमी तथा सम्पदाप्रेमीहरूको सहर हो । यहाँका कृषक, सिंकःमी, ल्वहँकःमी, डकर्मी, चित्रकार, प्रजापतिलगायत सम्पूर्ण श्रमशीलहरूको अभिनन्दन समारोह सिद्ध होस्, यो महोत्सव । श्रमवीरहरूको सम्मान निरन्तर चलिरहोस् । नयाँनयाँ श्रमवीरहरू समाजमा जन्माउने अभियान चालु होस् । श्रम–पसिनाले नै नयाँ समाज निर्माण सम्भव हुने भावना जगाउँदै जान सकियोस् । हरेक सम्पदाको जगमा असङ्ख्य ज्यामी, कालिगडहरूको हाडखोर, रक्तपसिना लुकेको हुने वास्तविक इतिहास नयाँ पुस्तालाई पढाउँदै जान सकियोस् । शुभकामना छ ।
भक्तपुर संसारकै एउटा जीवन्त सहरको रूपमा सुपरिचत भइसकेको छ । यो जीवन्त सहरमा जीवन र जीवन्तता थप्न हाम्रा पूर्खाले अनेक प्रयास तथा सङ्घर्ष गरे । हाम्रा अग्रजहरूले त्याग—तपस्या गर्नुभयो । भक्तपुरलाई भक्तपुर नै कायम राख्न र यो भक्तपुरलाई भक्तपुरकै रूपमा सदियौँसम्मका पुस्तालाई हस्तान्तरण गर्न आज पनि सत्प्रयास जारी छ । भक्तपुरले देशकै शान बढाउन योगदान गर्दै छ । भक्तपुरले विश्वकै सम्पत्ति जोगाएर, चम्काएर ठुलो गुण लगाउँदै छ । फलस्वरूप, आज भक्तपुरको गरिमा निकै टाढा टाढासम्म पैmलिँदै छ । भक्तपुरप्रतिको आस्था र विश्वास बढ्दो छ । धेरै–धेरैले यसको बढ्दो ओज—तेज अनुभव गर्दै छन् । यो आत्मश्लाघा होइन, यो आत्मगौरव भने जरुर हो ।
सांस्कृतिक–पुरातात्विक आँखाले हेर्दा मात्र होइन राजनीतिक कोणबाट नियाल्दासमेत आज भक्तपुरले बेग्लै प्रतिष्ठा प्राप्त गरेको धेरैले अनुभव गर्दै छन् । अत्यन्त कठिन एवम् असम्भव ठानिएका कतिपय कार्य यहाँ इमानदार नेतृत्व, जनपरिचालन तथा जनसमर्थनमार्पmत सम्पन्न भइरहेको देख्दा आश्चर्य मान्नेहरू पनि नभएका होइनन् । भक्तपुरले इज्जत र विश्वास एकसाथ कमाएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट पाहुनाहरू, संवेदनशील पर्यवेक्षकहरू गौरबीवोध गर्दै छन् ।
जन्मदेखि मृत्युसम्म मानिसका अनिवार्य आवश्यकता क्रमशः परिपूर्ति गर्ने उद्देश्यका साथ जनतासँगै कदममा कदम मिलाउँदै भक्तपुर अगाडि बढिरहेको देख्दा एक प्रसिद्ध भारतीय विद्वान् लेखकले हर्षआँसु बगाउनुभयो र आफू सारा उपलब्धि हासिल गरेर पनि ती सबै गुमाउनु पर्दाको पीडा सँगालेको एक राजनीतिक व्यक्तित्वसमेत भएको नाताले निःस्वार्थ सेवाभाव, इमानदारी र प्रतिबद्धताको अपरिहार्यताबारे सदा स्पष्ट रहन आत्मीय सुझाव दिनुभयो ।
हालै एक चिनियाँ विशिष्ट अतिथिले भक्तपुर घुमिसकेपछि मनको कुरा खोल्नुभयो, असल नेतृत्वले असल समाज र सुन्दर सम्पदा निर्माण एवम् संरक्षण गर्छ जुन भक्तपुरमा आफ्नै आँखाले प्रत्यक्ष अनुभव गर्न पाएँ । जनताको मुहारमा मुस्कान ल्याउनु सजिलो कार्य होइन भन्ने आफूले अनुभव गरेरै बुझेको हुँ । भक्तपुर र यहाँका जनताले मनमा गहिरो छाप छोडेकोमा खुसी छु ।
एक क्युवाली कूटनीतिज्ञले यी सबै धरोहरहरू जोगाउन आजको विषम् परिस्थितिमा कति लामो सङ्घर्ष आवश्यक भयो होला भनी एक आर्थिक युद्ध सामना गर्दै गरेको देशको प्रतिनिधिको नाताले अनुभूत गर्न सकिने बताउनुभयो ।
पान्डोराको बाकस खोल्दा अन्तिममा बाँकी भएको विश्वास आजको नेपालको सन्दर्भमा भक्तपुर हो र यसले चारैतिर आशाको आभा पैmलाइरहेको छ भन्दै एक नेपाली कवि एवम् प्राज्ञले मुक्तकण्ठले प्रशन्नता अभिव्यक्त गरे । यी भर्खर भर्खरैका अभिव्यक्तिबाट आत्मवञ्चना होइन हामी सबैलाई अभिप्रेरणा मिल्नेछ ।
नेपालभाषामा एउटा ऐतिहासिक, मार्मिक तथा विरहले भरिएको गीत छ, अन्तिम मल्ल राजा रणजीत मल्लले लेखेको— “थ्व थेँ जगु रस गबलेसं दइमखु, जि गना वाने । गना वाने गना च्वने । सुया भरे च्वने ।……..।” यस्तो ठाउँ छोडेर कहाँ जाऊँ, कता जाऊँ र कसको भरमा बाचूँ बोलको यो गीत दाफा भजनमा अद्यापि अत्यन्त प्रचलित छ । गीतमा भनिएझैँ अहिलेको तःपुखु, नःपुखु हेर्न माछा जन्म लिए कति चञ्चल चञ्चल हुँदो हो त्यो माछा ! गीतमा झैँ अहिलेको ङातापोल्हँ हेर्न परेवा जन्म लिए, त्यो परेवाले कति स्वच्छन्दपूर्वक आकाशमा कावा खाँदो हो ! अहिलेको भैरवनाथको दर्शन पाउँदो हो त कति मन खुसी हुँदो हो ! अनि, जन्म हुँदो हो एउटा अर्को नयाँ उमङ्ग र उत्सवको गीत !
नवजीवन पाएका हाम्रा यी सम्पदा, देगः, हिटी, फल्चाले बोल्न सक्दा हुन् त सबैसबैले भन्ने थिए संसारले सुन्ने गरी, “जनता नै संस्कृतिका निर्माता हुन् । जनता नै सम्पदाका संरक्षक हुन् । जनता नै सुन्दर समाजका रचनाकार हुन् । हाम्रो अभिवादन मेहनती, इमानदार, सङ्घर्षशील जनतालाई !”
अन्त्यमा, पुनः यो भक्तपुर महोत्सव भव्यरूपमा सफल पार्न सबैमा आह्वान गर्छु ।

(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले गत मङ्सिर २८ गते भक्तपुर महोत्सवको उद्घाटन समारोहमा व्यक्त गर्नुभएको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *