इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
दिक्करि कुर्म कुलाचल फणिपति विधृतापि चलति वसुधेयम्
प्रतिपन्नम मल मनसां नचलति पुसाँ युगान्तेपि । – खसानी अभिलेख
नेपालमण्डलमा भूकम्पको इतिवृत्त बडो लामोसँग अभिलेखीकृत पाइन्छ । तर, अन्यत्र भने त्यस्तो अभिलेख कतै भेटिएको छैन ।
नेपालको दोस्रो अभिलेख क्षेत्र कर्णाली प्रदेशमा भेटिन्छन् । तेस्रोमा पर्छन् मिथिलाञ्चल । अन्यत्र भने त्यति पुराना अभिलेख कतै भेटिएका छैनन् ।
अब यहाँ प्रस्तुत गर्न खोजिएको विषय भने खस राज्यमा भूकम्प गएपश्चात्को विदीर्ण अवशेष हो । सुर्खेतस्थित काँक्रेविहारले नेपालको इतिहासविद्हरू सबैको ध्यान केन्द्रित गरेको छ । सुर्खेत काँक्रेविहारमा ध्वंशावशेषको चर्चा नेपालमा कहिलेदेखि भयो भनेर खोज्दै गर्दा यसलाई सुरुमा चर्चा गर्ने इतिहासविद् हुन् योगी नरहरिनाथ । उनीभन्दा अगाडि यस क्षेत्रमा अभिलेखहरूको खोजी गर्ने चेतना नै कसैमा देखा पर्दैन, किन ? प्रजातन्त्र अगाडि नेपालको इतिहास खोजी गर्ने कुनै विदेशीको समेत यसतर्फ ध्यानाकृष्ट भएको पाइँदैन ।
खसमण्डलको इतिहास अनुशीलन गर्दा सुर्खेतको पहिलो चर्चा गर्ने अधिराज रिपु मल्ल हुन् । सुरुदेखि नै खसमण्डल बौद्धधर्मानुयायी भएर नेपालको इतिहासमा देखा परेको छ । त्यसैले, नेपालमा बौद्ध धर्मको इतिहास खोतल्दा खसमण्डललाई कतै छुट्टाउन सकिँदैन । अब आउँछ सुर्खेतमा बौद्धविहारको चर्चा गर्ने प्रसङ्ग । सुर्खेतमा महायान बौद्ध धर्मग्रन्थ अभिसमयालङ्कार लेखाउने काम रिपु मल्लले सं १३७० (ने.सं.४३३) मा गरेका रहेछन् । अब यो ग्रन्थ सुर्खेतमा कहाँ बसेर लेखियो भनेर विचार गर्दा निश्चितरूपमा यही विहार नै दृष्टिगोचरमा आउँछ । यसबाट सुर्खेतमा बौद्धविहारको अस्तित्व प्रमाणित गर्ने ऐतिहासिक दस्तावेज नै यस ग्रन्थको पुष्पिका वाक्य देखा पर्छ :
“संवत् १३७० फाल्गुण वदि २ शनिदिने ।
सुर क्षेत्रे (सुर्खेतमा)
राजराजेश्वर लोकेश्वर श्री रिपु मल्ल देव राज्ये ।।”
‘अभिसमयालङ्कार’ बौद्धग्रन्थको प्रस्तुत पुष्पिका वाक्यले सुर्खेतमा बौद्धविहारको अस्तित्वलाई प्रमाणित गरेका छन् । त्यसैले सुर्खेतमा बौद्धविहार थियो भनी निश्चयका साथ भन्न सकिन्छ । यही उद्धरण नै सुर्खेतमा बौद्धविहारको अस्तित्व जनाउने अभिलेख पनि हो ।
उक्त चर्चित ‘अभिसमयालङ्कार’ बौद्धग्रन्थ इतिहासको कुनै कालखण्डमा नेपालबाट पश्चिम तिब्बतको पोस्कान गुम्बा (spos-kian) मा पुगेर सुरक्षित रहेको ऐतिहासिक उद्धरण भेटिएको छ । अब यो ग्रन्थ सुर्खेतको विहारबाट कहिले, कसरी उपर्युक्त तिब्बतको गुम्बामा पुगेको रहेछ, त्यो फेरि नेपालमा अध्ययनको अर्को पाटो रहेको छ । सुर्खेतमा रहेको बौद्धविहार भूकम्पले ध्वस्त पारेको समयबाटै त्यहाँ रहेको यो ग्रन्थ तिब्बतमा पुगेको निष्कर्ष निकाल्न सकिन्छ । यो ग्रन्थ नेपालको इतिहास अध्ययनार्थ खस अभिलेखको रूपमा सुरक्षित राख्नुपर्ने भएकोले त्यसतर्फ नेपाल सरकारको माध्यमले लेखापढी गरी नेपालमा नै फिर्ता ल्याएर सोही सुर्खेतको विहारमा पुनस्र्थापित गर्नुपर्ने दायित्व थपिएको छ ।
उपर्युक्त रिपु मल्लको प्रशस्तिमा ‘राजराजेश्वर, लोकेश्वर’ भनेर जनिएको देखिनाले उनको बौद्ध धर्मप्रतिको आस्थालाई नै व्याख्या गरिरहेको कुरा जनाउँदछ । यतिले मात्र होइन, उनले आफ्नो राजधानी सिँजामा राखेको अर्को अभिलेखद्वारा पनि रिपु मल्लको बौद्धनिष्ठालाई नै व्यक्त गरिराखेको छ :
लोकनाथ पदध्यान लघुरत्न त्रयाभिधा ।
लिखिता रिपु मल्लेन विद्या सवार्थसाधनी ।।
सिँजा चौकीखाडामा रहेको विशाल शिलाखण्डमा यो श्लोक उत्कीर्ण पाइन्छ । मैले आफ्नो सिँजा भ्रमणमा पनि यस अभिलेखलाई प्रत्यक्ष देखेको छु । यसबाट ‘लघुरत्नत्रय’ नामक महायान बौद्ध स्तोत्रको प्रणमन गर्ने काम पनि उनले आफनो राजधानीमा गरेका छन् भन्ने कुरा व्यक्त हुन्छ ।
रिपु मल्लको नेपालमण्डल यात्रा :
अब रिपु मल्लको सम्बन्धमा एउटा अर्को ऐतिहासिक घटना पनि जोडिन आउँछ । उनले सुर्खेतको विहारमा ‘अभिसमयालङ्कार’ लेखाएर राखेको वर्षमा नै उनले नेपालमण्डलको यात्रा पनि गरेको पाइन्छ ।
ने. सं. ४३३ (सं. १३७०) मा सम्पन्न उनको नेपालयात्रा इतिहासमा बडो उच्च मूल्याङ्कनका साथ अङ्कित पाइन्छ । उनले त्यतिखेर पाटन मच्छिन्द्रनाथको मूलघाट बुङ्गमतीमा गएर महास्नानमा सरिक भएर त्यहाँ नाथको लागि आफ्नो तर्फबाट घोडासमेत चढाएका थिए ।
त्यहाँबाट उनी कान्तिपुर स्वयंभू महाचैत्यको दर्शनमा आउँदा यहीँ चूढान (चूडाकर्म) राखेका सबै जवानलाई भोज खुवाए । यहाँ उनको बसाइ १८ दिन रह्यो । यसलाई उनको बौद्ध तीर्थयात्रा भन्न सकिन्छ ।
यसै अवसरमा रिपु मल्लले पशुपतिनाथको पूजा पनि गरे । यस पूजामा उनलाई पशुपति लिङ्ग छोएर पूजा गर्ने विशिष्ट अवसर समेत दिइएको थियो ।
रिपु मल्लको उपर्युक्त नेपालमण्डल यात्रालाई बडो महत्वका साथ नेपालराज वंशावली (गोपालराज वंशावली) मा यसरी अङ्कित गरिएको छ :
“सं. ४३३ फागुन कृष्ण पादो खसिया राजा रिपु मल्लन वुंगस न्हवन याने सरह आदिन दुन्ता ग्वलम् भ्रान्हस प्रसं चोङा, येन्देन्चैत्यस वाह्रसवति भोजयाङा दिन १८ वसरपा लिस ।”
रिपु मल्लको प्रस्तुत नेपालयात्रा विशेष स्मरणीय रहेको छ । यसअघिका खस हमला जसरी यो यात्रा रहेको छैन । यो यात्रालाई खस–नेवार सम्बन्धको नयाँ आयामका रूपमा सम्झिइएको छ ।
रिपु मल्लको लुम्बिनी तथा कपिलवस्तु यात्रा :
रिपु मल्ललाई सम्झनुपर्ने अर्को खण्ड पनि परेको छ । उनी नेपालयात्रामा आउनु अगाडि बुद्धको जन्मस्थल लुम्बिनी तथा प्राचीन शाक्य राजधानी कपिलवस्तुको यात्रा पनि गरेका छन् । त्यतिखेर खस साम्राज्यभित्र यी तीर्थस्थल रहेकाले यहाँ उनको यात्रा चिरस्थायी राख्न सङ्क्षिप्त अभिलेख नै खोपिएका छन् ।
“ॐ मणि पद्मे हुँ”
रिपु मल्ल श्चिरं जयतु, संग्राम मल्ल जय : ।”
लुम्बिनीमा रहेको अशोकस्तम्भमा नै उपर्युक्त अभिलेख अङ्कित छ । त्यतिखेर कपिलवस्तु पनि बौद्ध तीर्थमा समाहित थियो जुन बुद्धकालमा शाक्य राजधानी नै थियो, त्यसैले त्यहाँ पनि रिपु मल्ल पुगे । त्यहाँ रहेको अर्को अशोकस्तम्भमा नै आफ्नो यात्रा पनि भएको अङ्कित गराए
ॐ मणि पद्मे हुँ ।
श्री रिपु मल्ल श्चिरं जयतु १२३४ (ने. सं. ४३२)
रिपु मल्लको यस अभिलेखमा जनिएको १२३४ (ने. सं. ४३२) शक संवत्का रूपमा अङ्कित पाइन्छ । उनी सम्भवतः यस यात्राको लगत्तै नेपालमण्डलको यात्रामा हिँडेका थिए । उनको लुम्बिनी अभिलेखहरूले के के प्रस्ट हुन्छ भने त्यतिखेरसम्म पनि लुम्बिनी र कपिलवस्तुको बौद्ध तीर्थ लुप्त भएका थिएनन् । साथसाथै यी तीर्थस्थल खस साम्राज्यभित्र नै समाहित रहेका थिए । तसर्थ, नेपालको महायान बौद्ध मन्त्र “फ् मणि पद्मे हुँ” लाई लुम्बिनी–कपिलवस्तुसम्मै गुञ्जायमान राख्न पनि उनी सफल भए । यसले त नेपाललाई बौद्ध संस्कृतिमा नै नयाँ आयाम थपिएर रहेको पाइन्छ ।
तसर्थ, नेपालको बौद्ध धर्मकै इतिहासमा खस साम्राज्यको योगदानस्वरूप नयाँ व्याख्या दिनुपर्ने तथ्य देखा पर्छ । साथै यसबाट विश्व बौद्ध इतिहासमा नै नौलो प्रकाश छर्ने अर्को आयाम हुन सक्छ ।
लुम्बिनी अशोकस्तम्भमा रिपु मल्लका साथ उनका छोरा संग्राम मल्लको नाम रहनु पनि अर्थपूर्ण मान्न सकिन्छ । खस साम्राज्यको इतिहासमा अन्त कतै चर्चित नदेखिएको संग्राम मल्ल लुम्बिनी अभिलेखमा अङ्कित पाइनुले इतिहासमै नयाँ व्याख्या दिनुपर्ने अवस्था पर्खिरहेजस्तो लाग्छ ।
सुर्खेतमा महायान बौद्धविहार :
अब सुर्खेतमा निर्मित महायान बौद्धविहारको सम्बन्धमा चर्चा गर्नु अत्यावश्यक हुन्छ । यो विहार त्यहाँ कहिले बन्यो, त्यसको अभिलेख लोप भइसकेको छ । तर, खस साम्राज्यको इतिहास खोतल्दा क्राचल्लदेखि अलि स्पष्ट हुँदैआएको छ । उनका छोरा अशोक चल्लको बौद्ध धर्मकीर्ति आफ्ना साम्राज्यबाहिर समेत विस्तार रहेको पाइन्छ । भारतको बुद्धगयामा रहेका अशोक चल्लका दुइटा अभिलेखहरू सं.१३१२ र १३३२ मा स्थापित पाइन्छन् । करिब २० वर्षको फरकमा यी दुइटा कीर्तिमानको स्थापनाले खस साम्राज्यको विस्तारका धेरै कुरा व्यक्त गर्दछन् । सम्भवत : त्यतिखेर नै सुर्खेतमा पनि नयाँ बौद्धविहार निर्माण भएको हुनसक्छ ।
अशोक चल्लपछि खस सम्राटहरू थर परिवर्तन गरी मल्ल भएका छन् । अशोक चल्लका छोरा जितारी मल्लको समयदेखि उनीहरूले नेपालमण्डलमा आँखा गाडेका हुन् । उनको पहिलो नेपाल आक्रमण सं. १३४४ पुस महिनामा भयो (ने.सं.४०७) । त्यसपछि अर्को वर्ष आक्रमण भयो दोस्रोबाजी । अनि, सं. १३४६ (ने.सं.४१०) मा तेस्रोपटक पनि हमला पनि भयो । यसरी लगातार ३ पटक खस हमला भएपछि नेपालमण्डलको राजनीतिक इतिहासमा खसहरू पनि स्थापित भएको चर्चा पाइन्छ ।
जितारी मल्लपछि उनका भतिजा रिपु मल्लको शासन देखापर्छ । उनको शासनमा खस साम्राज्यको चरित्र केही बदलिएको देखा पर्छ । यसले नेपालमण्डलमाथि आफ्नो सांस्कृतिक प्रभाव देखाउनतर्फ लाग्दछ । सुर्खेतमा स्थापित महायान विहार पहिलोपल्ट खस साम्राज्यमा देखा परेको थियो । त्यसको गतिविधिका सम्बन्धमा खास अध्ययन हुन बाँकी नै छ ।
यसर्थ, नामकै पछि लागेर प्रस्तुत अध्ययनको पहिलो पाटो जोडिन्छ । सुर्खेतमा रहेको भग्नावशेषलाई नजाने कहिलेदेखि खसानी जनजिब्रोमा काँक्रेविहार भनिएको छ । तर, यसको सम्बन्ध तिब्बत अझ पश्चिम तिब्बतको कैलाश–मानसरोवर यात्राका सिलसिलामा नेपालभूमिमा पहिलो मुकाम भएर रहेको छ ।
सायद, स्कन्दपुराणको मानसखण्ड तयार भएपछि नै यस यात्राले गति लिएको मान्न सकिन्छ । अब यो मानसखण्ड पुराण कहिले बन्यो त्यसको अनुशीलन गर्नु अनिवार्य भएको छ । सुरुमा बौद्ध धर्मअन्तर्गत रहेको कैलाश–मानसरोवर तीर्थयात्रा पछिबाट क्रमशः शैव धर्मअन्तर्गत परिचित हुन थालेपछि त्यसमा नौलो आयाम थपिएको मान्न सकिन्छ ।
तैपनि, तिब्बती बौद्ध धर्मको एक शाखा भएर कैलाश–मानसरोवरको यात्रा तय गर्ने पाटो पनि यहाँनिर बिर्सन सकिँदैन । तिब्बती बौद्ध सम्प्रदायअन्तर्गत कैलाश–मानसरोवरको व्याख्या हाम्रा निम्ति अनिवार्य नै छ । त्यसलाई काङ रिम्पोछे अथवा सङ्क्षेपमा काङरि भनेर पनि तिब्बती जनजिब्रोमा सुन्न पाइन्छ । तसर्थ, काङरि गोम्पा (गुम्बा) रहन गएको तिब्बती व्याख्या पाइन्छ । त्यसको छुट्टै अध्ययन तिब्बती भाषामै गर्नुपर्ने हुन्छ । यिनै तिब्बती संस्करणमा काङरि (हिमशिखर) खसानी जिब्रोमा काँक्रेविहार भएर चलनचल्तीमा रह्न गयो । तैपनि, यसले विहारको संज्ञा भने लोप हुन दिएको छैन । यही गनिमत ।
यसरी तिब्बती बौद्ध धर्मको आस्थामा शैव सम्प्रदायको प्रभाव मिसिएर कैलाश–मानसरोवरको यात्रामा पछिल्लो आयाम विस्तार हुँदै गएको पाइन्छ । यसैलाई पछ्याएर सुर्खेतमा रहेको यस मुकामलाई काङरिविहारको संज्ञाले सार्थकता दिन सक्नेछ ।
अब अर्को आयाम, यो विहार कहिले, कसरी भग्नावशेषमा परिणत भयो, यसको लागि पनि नेपालमा भूकम्पकै इतिहास खोतल्नुपर्ने हुन्छ । बेलायतमा नेपालको पश्चिमी भेकमा विगतमा गएका भूकम्पहरूको अनुशीलन गर्ने वैज्ञानिक अध्ययन पनि भएको पाइन्छ । यसमा ई.१५०५ मा नेपालको पश्चिमोत्तर भेक शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज (वर्तमान) लाई केन्द्रबिन्दु पारेर करिब ८.२ देखि ८.८ रिक्टर स्केलको महाभूकम्प गएको ऐतिहासिक तथ्य Current Science को ई.२००५ मे अङ्कमा प्रकाशित रहेछ । यसको भूचालिक पुराअध्ययन (Siesmic History) प्रा. रोजर विलियम तथा प्रा. निकोलस एमनसेमसले (Imprecial College) लण्डनमा गरेका रहेछन् । तर, यसलाई उनीहरूले नेपालको भूकम्पीय इतिहाससित जोडेर देखाउन भने सकेनन् ।
अब सन् सो¥हौँ शताब्दीको प्रारम्भताका नेपालमा गएको यो भूकम्प शे–फोक्सुण्डो ताल केन्द्रबिन्दु पारी ई. १५०५ मा यो भूकम्प गएको कुरामा नेपालकै इतिहासद्वारा पनि प्रमाणित गर्न सकिने देखिएको छ । उपर्युक्त ई.१५०५ भन्नाले तदनुसार ने.सं. ६२५ मा नेपालमा गएको भूकम्प मापन हुन्छ । त्यतिखेर, नेपालको राजधानी कान्तिपुरमा अधिराज रत्न मल्लको शासन रहेको थियो भने पुरानो राजधानी भक्तपुरमा राय मल्लको सीमित सामन्त प्रशासन थियो । तर, त्यतिखेरको स्थानीय राजनीतिमा राय मल्लले नै राजाको रूपमा मान्यता पाइराखेका थिए ।
यहाँनेर, भक्तपुरको सन्दर्भ दिएर उपर्युक्त शे–फोक्सुण्डो केन्द्रबिन्दु रहेको ई.१५०५ (ने.सं.६२५) को भूकम्पबारे ऐतिहासिक चर्चा गर्न खोजिएको छ । त्यतिखेर चाँगुनारायणको मन्दिर भूकम्पले ध्वस्त भयो । त्यसको २ वर्षपछि मन्दिरको पुनर्निर्माण भयो । यसमा मुख्य भूमिका निर्वाह गर्ने राय मल्लकी नातिनी देवकी मल्ल भइन् । राय मल्लको छोरा भुवन मल्लकी छोरी हुनुपर्छ देवकी मल्ल । यो सम्भावित अनुमान हो । अन्य प्रमाणद्वारा यसको पुष्टि गर्नुपर्ने छ ।
यसरी ने.सं. ६२७ मा चाँगुनारायण मन्दिरको पुनरुद्धार गरिएको अभिलेख त्यही भण्डारमा रहेको छ । यसबाट नेपालमा ने. सं. ६२५ तदनुसार ई. सं. १५०५ मा नेपालमण्डलमा भूकम्प गएको तथ्य प्रमाणित गर्ने हुँदा अभिलेखको पूर्णपाठ परिशिष्ट खण्डमा प्रकाशित गरिएको छ ।
ई. १५०५, ने.सं. ६२५ मा नेपालमा गएको भूकम्पको केन्द्रबिन्दु शे–फोक्सुण्डो तालदेखि सुर्खेत उपत्यका निकै नजिक रहेकाले त्यसको असरले सुर्खेतस्थित काङरिविहार ध्वस्त भएको यथार्थ उजागर हुन्छ । अरू त्यतिखेर सुर्खेतमा भूवनोटको प्राकृतिक इतिहासतर्फ केलाउँदा पनि यो विहार एउटा निकै फराकिलो तालको किनारमा अवस्थित रहेको यथार्थ पनि उजागर गर्न सकिन्छ । सायद, भूकम्पले उतिखेर तालको अस्तित्व समेत प्रभावित हुँदा काङरिविहारका ढुङ्गे संरचनाहरू छरपस्ट भएर ध्वंशावशेषमा परिणत भए ।
भक्तपुर
राय मल्ल, ने.सं.६२७
चाँगुनारायणको भण्डारमा रहेको एउटा स्वर्णपत्र
ॐ नमो भगवते वासुदेवाय ।।
यो लीलया विश्व मिदं, सृजत्यवति हन्ति च ।
तस्मै नमोsस्तु देवाय दोलाशिखर वासिने ।।
आसीछ«ी जय राय मल्ल नृपति : सूर्यान्वये धर्मधीस्र्तत्पौत्री कमलोपमा गुणमती श्रीदेवकी विश्रुतां ।
भूकंपेन विदारितं हरिगृहाद्वारं प्रचक्रे तया अव्देsद्रौ युगले रसे सित शुचौमासेम्विकायास्तिधौ ।।
श्रीश्रीश्री गरुड नारायणस देवल, भूमि कंपन स्यङाव, श्री श्री देवकी देवी ठकुरिणीस्यं ल्हंङा जुरो ।। संवत् ६२७ आषाढ शुक्ल तृतीयायां तिथौ, पुष्य नक्षत्रे आदित्यवासरेथ्व कोन्हु देवल सिध्र जुरों शुभ ।।
– मोहन प्र. खनाल
चाँगुनारायणको ऐतिहासिक सामग्री
CNA S त्रि.वि. (२०४०) सङ्ख्या–५२
साभार : अभिलेख, पूर्णाङ्क ४१, २०८०
Leave a Reply