इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
मिति : मङ्सिर १३, २०८१
साथी कुबेर,
सर्वप्रथम, पत्रको प्रारम्भमै म खुसी व्यक्त गर्न चाहन्छु । खेल्दा, रूँदा, डुल्दा, पढ्दा सधैँ सँगसँगै हुने मेरो मित्र आज एक सफल उद्योगी तथा व्यवसायी बनेको देख्दा मेरो मन हर्षित हुन नपर्ने कुनै कारण छैन । सुकिलो पोशाक र कालो चस्मामा ठाँटिएर चिल्लो गाडीमा सयर गरिरहेको तिमीलाई कहिलेकाहीँ टाढैबाट भए पनि म देख्छु, त्यतिखेर मलाई अचम्मभन्दा बढ्ता खुसी नै लाग्छ । सामाजिक सञ्जालमा दैनिकजसो छापिने तिम्रा रङ्गीन तस्बिर देख्दा समाज कति द्रुतगतिमा परिवर्तन हुँदै छ भन्ने बताइरहेको अनुभूत हुन्छ । तिम्रो र परिवारको बरोबर सार्वजनिक हुने टिकटक भिडियोले त मेरोभन्दा पनि धेरैको ध्यान खिच्न सफल भएको जगजाहेर भइसकेको छ । हिजोआज चियापसल र खाजाघरतिर चर्चाको एउटा विषय नै बन्दै छ । यही सेरोफेरोमा विगत मेरो आँखा अगाडि समुद्री छालसरि आइपुग्छ । यद्यपि, ममा तिमीप्रति कहिल्यै द्वेषभाव, इष्र्याभाव पलाएन र पलाउँदैन पनि ! सदा भलो चिताउने एक मित्रको नाताले आफ्नो क्षेत्रमा तिमीलाई अझ बढी सफलता मिलोस् भन्ने कामना व्यक्त गर्दछु ।
हामी आ–आफ्नो क्षेत्रमा क्रमशः माथि उक्लनै पर्छ । प्रगति र उन्नतिका निम्ति निरन्तर प्रयास गर्नैपर्छ । त्यस क्रममा पछाडि फर्किने अर्थात् बरोबर अतीततिर नजर डुलाउने काम गर्न पनि छुटाउनु हुँदैन । जिन्दगीको प्रस्थानबिन्दु भुल्नु हुँदैन । आफ्नो जरो, भू–धरातल या जन्मथलो बिर्सनु हुँदैन । जरा अझ बलियो बनाउने र धरातलमा अझ बलियो ढङ्गमा टेक्ने कोसिस ग¥यौँ भने हामी निष्फल बन्ने छैनौँ । अझ, मूलजरो जुनसुकै मूल्यमा जोगाउनु सबैभन्दा ठुलो बुद्धिमानी हुनेछ । केही माथि पुगेपछि जमिन बिर्सने या जमिनतिर फर्केर नहेर्ने र जमिनमा रहँदा माथितिर हेर्ने आँटसम्म पनि नगर्ने, दुईवटै सोच अति खालका छन् । यो समस्याबाट हामी जोगिन सक्यौँ भने भोलि निराश हुनुपर्ने स्थितिमा पुग्ने छैनौँ र समाजले नकारात्मक नजर लगाउने छैन ।
साथै, शिखर चुम्दा समेत एक्लो प¥यौँ भने कुनै आनन्द मिल्दैन । त्यस बखत कोही साथमा भए या साथीसङ्गीहरू भए कमसेकम खुसीयाली मनाउने अवसर प्राप्त हुन्छ । एक्लैको खुसीले उत्सव ल्याउन सक्दैन । एउटा फूल फुल्दैमा वसन्त आएको मान्न सकिन्न । त्यसका निम्ति त डाँडाकाँडा, गाउँबेँसी र बगैँचाहरूमा हरियाली छाउनुपर्छ र फूलहरूको सुवास यत्रतत्र पुग्नुपर्छ । एक्लो बृहस्पति झूटा भनेझैँ हाम्रो नितान्त व्यक्तिगत लाभ, प्राप्ति, सफलता निरर्थक बन्न पुग्छ र जीवन रसविहीन बन्छ ! एक्लै र केबल एउटा परिवार होइन धेरैभन्दा धेरैलाई सक्षम, सवल, सम्पन्न एवम् असल बनाउने भावना तथा उद्देश्यका साथ अगाडि बढ्यौँ भने हामी सुरक्षित हुनेछौँ । अन्यथा, समाजलाई अशान्ति, असुरक्षा र आतङ्कले कहिल्यै छोड्ने छैन ।
आज हामी भुइँबाट उठेर एक खालको आर्थिक उचाइमा पुग्यौँ । विभिन्न हिसाबले सवल तथा सक्षम भयौँ । के यो स्थान तथा उचाइमा हामी एक्लैको प्रयासबाट पुगेका हौँ ? फल्चाहरूमा हामी दिनभरि तास–चक्की खेलेर बस्दा कान निमोठेर पढाइमा लगाउनुभएको हाम्रै सङ्गठनका अग्रज काकाहरूले होइन ? उहाँहरूले नै आफ्नै सन्तानलाई झैँ घर–घर आई केही गरी खान बारम्बार सम्झाउँदै व्यापारको अक्कल दिनुभएको होइन ? उहाँहरूसँग बीउ–पुँजी लिएर हामीले सानो व्यापारको थालनी गरेको होइन ? आज यहाँसम्म पुग्न हामीलाई क–कसले काँधमा बोके ? कति जनाले हात समाई समाई डो¥याए ? हामीलाई सम्झाइ—बुझाइ गर्न समाजका अग्रजहरू खाई–नखाई कति पटक हाम्रो घरमा आउनुभयो र टोल–टोलमा बैठक–भेला राख्नुभयो ? हाम्रो जग्गाको स्वामित्व हामीलाई नै दिलाउन कति किसान कार्यकर्ताहरूले रक्त–पसिना बगाए ? हाम्रा कति किसान कार्यकर्ताहरूले जेलनेल भोगे ? आफूले आफ्नो खेतमा लगाएको बालीसमेत भित्याउन असमर्थ हुँदा क्रान्तिकारी किसान सङ्घले कति ठुलो सङ्घर्ष ग¥यो ? हामीमाथि अनेक खालका हमला, दमन हुँदा टोलका दाजुभाइ–दिदीबहिनीहरू कतिजनाले साथ–सहयोग दिन आउनुभयो ? अरु कुरा त एक छिनलाई छोडौँ, तिमी बालक छँदा सिकिस्त बिरामी पर्दा एक शिक्षक कार्यकर्ताले हत्त न पत्त अस्पतालसम्म आफैँले बोकेर नलगेको भए प्राणपखेरू त्यतिखेर नै उडिसक्ने घटना त याद पक्कै हुनुपर्छ ! निःसन्देह हाम्रो रगतका थोपा–थोपामा हाम्रो सङ्गठन र हाम्रा पार्टी कार्यकर्ताहरूको देन छ । हाम्रो गाँस–गाँसमा हाम्रो पार्टीको योगदान छ ।
यी सबै गुण हामीले बिस्र्यौँ भने हामीले आर्जन गरेको सम्पत्ति हाम्रै निम्ति गलपासो बन्ने निश्चित छ । हाम्रा यी ठुलठुला घर हाम्रै चिहान सरह हुनेछन् । हाम्रो बैङ्क ब्यालेन्स पापको घडाझैँ हुनेछ ।
हिजो हामी आर्थिकरूपमा अत्यन्त कमजोर अवस्थामा थियौँ । समाजले हामीलाई अगाडि बढायो । आज सम्पन्न बनेपछि दुर्बललाई हेप्न थाल्यौँ, गरीबलाई नै चुस्न थाल्यौँ, धनको तुजुक देखाउन थाल्यौँ र दुष्ट प्रवृत्ति देखाउन थाल्यौँ भने समाजले हिजो सर्पलाई दूध खुवायो भनी पश्चाताप गर्नेेछ । समाजको नजरमा हामी कदापि सर्प साबित हुनुहुँदैन । हामी जरुर हिजो बेइमानी गर्ने मौका नपाएर मात्र सोझा तथा इमानदार बनेका थिएनाँै । व्यवहारमा त्यो देखाउनु या साबित गर्नु बुद्धिमानी हुनेछ । सोचौँ, मेरो मित्र !
अब हाम्रो कर्तव्य भनेको त पछाडि परेकालाई अगाडि बढाउने, आपत्–विपद्मा परेकाको निःस्वार्थपूर्वक सेवा गर्ने र समाजलाई थप बलियो र राम्रो बनाउने कार्यमा योगदान पु¥याउने हो । त्यसमा केही आर्थिक फाइदा हुन्न भन्ने सोचले काम ग¥यौँ भने हामी कृतघ्न पुस्ता बन्ने छौँ । कृतघ्नता अक्षम्य हुन्छ । एकपटक ऐना अगाडि उभिएर सोचौँ र सोधौँ, “हिजोका हाम्रा अग्रज किसान कार्यकर्ताहरूले पनि यी पटमूर्खहरूलाई अक्षर पढाएर, व्यापार सिकाएर, सहयोग गरेर के फाइदा भनेका भए ……… ? हिजोका किसान कार्यकर्ताहरूले पनि आफ्नै परिवारको कामलाई नै सबथोक ठानेर बसेका भए……?”
आज हामी अरुका निम्ति केही गर्न सक्ने स्थितिमा पुगिसकेका छौँ । सामाजिक कार्यका निम्ति केही आर्थिक–भौतिक योगदान गर्न सक्ने भएका छौँ । तर, आज आएर हामीले हात उठायौँ भने हामी समाजको नजरमा समेत कर्तव्यच्युत बन्ने छौँ । आज हामीले निश्चित समय, सहयोग हाम्रो समाज, सङ्गठन, गतिविधि र आन्दोलनलाई दिएनौँ भने हामी जति स्वार्थी संसारमा अरु को होला ? समाजलाई त्यो ठुलो धोखा साबित हुनेछ । धोखेबाजको जिन्दगी बाँचेर व्यापार–व्यवसाय चम्काउँदैमा हामीलाई आखिर के मिल्छ ? समाजको निम्ति पटक्कै काम नलाग्ने धनसम्पत्तिको के अर्थ ? बच्चा बेला चुरोट बट्टाको चक्की धेरै भएको, कोकाकोलाको बिर्को धेरै भएको र गुच्चा धेरै भएको केटोले अति फूर्ति देखाउनु र यसमा के तात्विक भिन्नता छ ?
आफ्नो भएको थोरै व्यक्तिगत इज्जतसमेत मिल्काएर तथा सामाजिक प्रतिष्ठा भत्काएर केबल घरपरिवार, सन्तान–दरसन्तानका निम्ति धन–सम्पत्ति थुपारिरहँदा एकपटक सोचौँ, “कतै हाम्रै सन्तानले समेत हामीलाई धिक्कार भनेको खण्डमा के गर्ने ? तिनले सारा कुरा बुझिसकेपछि त्यस्तो कालो धन चाहिँदैन भनेर घर छोडी हिँडे के गर्ने ? जुन सन्तानको निम्ति समाज छोडियो ती नै सन्तानले हामीलाई छोडी गए हालत के होला ? हामीले समाजप्रति गरेको अन्याय थाहा पाउँदा हिनताबोध तथा अपराधबोधले हाम्रा सन्तानले आत्महत्या गरे दोषी को हुन्छ ? के हाम्रा सन्तानले केबल हामीले आर्जन गरेको सम्पत्ति पर्खी बस्लान् ? सारा चिज सन्तानको निम्ति थुपारेर हामीले हाम्रा सन्तानलाई कस्ता मानिस बनाउन खोज्दै छौँ ? के तिनीहरूसँग हात—खुट्टा छैनन् ? के तिनीहरू त्यति धेरै कमजोर छन् ?”
सन्तानसँगै समाज र समाजसँगै सन्तानप्रति जिम्मेवार बन्यौँ र समाजका धेरै धेरै सन्तानहरूलाई आफ्नै ठान्ने फराकिलो भावनाको विकास गर्न सक्यौँ अर्थात् समाजको साझा भविष्य निर्माणको उच्च दृष्टिकोण हुर्काउन सकेमा मात्र जीवनमा आत्मसन्तुष्टि मिल्नेछ, मनमा शान्ति छाउने छ, दुःख पर पर भाग्नेछ र सामाजिक प्रतिष्ठासमेत हासिल हुनेछ । अन्यथा, हामी जस्ता कमाएर मोटाएका, खाएर नअघाएकाहरू र जति थुपार्दा पनि अभैm नपुगेकाहरूको जीवन र मृत्यु समाजको निम्ति हर्ष न विस्मात्झैँ हुने निश्चित छ । सोचौँ ! सङ्गठनले सुरु–सुरुतिर हामीलाई सिकाएको पनि त यही थियो । हिजो हामीले पाएको जीवन दर्शन फेरि याद गरौँ ! यतिखेर फेरि स्मृतिपटलमा नाचिरहेको हुनाले मित्रसमक्ष जस्ताको त्यस्तै राख्ने चेष्टा गरेको हुँ ।
हाम्रो राजनीतिक सङ्घर्ष र सङ्गठनको महत्व र आवश्यकताबारे हामी भ्रममा छैनौँ । केही अल्मल भयो होला दोबाटाहरूमा उभिँदा ! तर, ढिला घर पुग्दैमा हराएको भन्न मिल्दैन । धन देख्दा महादेवको त तीन नेत्र भन्छन् ! हो, सधैँ तीन नेत्र नै भइरहेमा समाजले हामीलाई द्रव्यपिशाच भन्ला ! लक्ष्मीको वाहन उल्लु त्यतिकै राखिएको कहाँ हो र ! धन—सम्पत्ति बढेसँगै त्यही मात्रामा होस पु¥याइएन र विवेक अपनाइएन भने उल्लुले जस्तै दिउँसै आँखा नदेख्ने स्थितिमा पुगिएला भनेर प्रतिकात्मक रूपमा हाम्रा पुर्खाले हामीलाई बेलैमा सजग गराएको हो । वास्तविकता ओखतीझैँ तीतो हुनुमा के आश्चर्य ?
हिजोआज फुर्सदमा मेरो मनमा त यस्तै यस्तो मात्र कुरा खेलिरहन्छ । मनका कुरा लुकाउन पनि सक्दिनँ । मनको कुरा मनमै मात्र राखेँ भने मनोरोगी बनुँला भन्ने चिन्ता लाग्छ । पुराना मित्रहरूलाई पत्र कोरेर मनको वह पोख्ने काम गर्दै छु । त्यही क्रममा एक पुरानो मित्र भएको नाताले तिमीलाई यो पत्र लेख्ने आँट गरेको हुँ । यस क्रममा कसैको चित्त दुखे माफी चाहन्छु । कसैलाई ठेस पु¥याउने मेरो मनसाय या उद्देश्य पटक्कै नभएको दोहो¥याउँदै निकट भविष्यमै अर्को चिठी लेख्ने वाचा गर्दछु । फुर्सदको समयमा एक्लै बस्दा तिम्रो मनमा हिजोआज के—कस्तो कुरा खेल्छ, जान्न पाए आभारी हुन्थेँ । अहिलेलाई बिदा !
अँ…, बिदा मागेँ तर भन्नैपर्ने कुरा छुट्यो ! हिजोआज यो समस्या अलि बल्झिँदै छ ! विदेशमा गएकी छोरी ‘डिभोर्स’ गरेर फर्किन् भन्ने सुनेँ । अहिले के गर्दै छिन् ? उनलाई केही समय परिवारको राम्रो साथ आवश्यक हुनेछ । उनको खुसीमा ध्यान दिनुपर्ला र उनको छोरोको विशेष हेरचाह गर्नुपर्ला ! साँच्चि, छोरोलाई सुधारगृहबाट फर्काएपश्चात् कति सुधार देखियो ? पत्रमा ती सबै कुरा खुलाएर लेखेमा आभारी हुन्थेँ ! मेरो मनलाई पनि सान्त्वना मिल्ने थियो । तिमी मान्छौ या मान्दैनौ, मलाई त लाग्छ धन नहुँदा एउटा दुःख भएपछि हजार दुःख ! धन—सम्पत्ति ‘ओभर डोज’ हुँदा त झन् दुःख पनि ‘ओभर डोज’ नै !
उही तिम्रो पुरानो मित्र
गुलाब
Leave a Reply