भर्खरै :

काठमाडौँमा प्रशिक्षण

काठमाडौँ, ६ पुस । सर्वहारावर्गका महान् नेता स्तालिनको १४५ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी, काठमाडाँै जिल्ला समितिले प्रशिक्षण कार्यक्रम गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले लेनिनको निधनपछि सोभियत रुसको समाजवादी क्रान्ति र निर्माणलाई अगाडि बढाउने कामको नेतृत्व स्तालिनले गरेको उल्लेख गर्नुभयो । उहाँले उतिबेला विश्व कम्युनिस्ट क्रान्तिको केन्द्र – सोभियत सङ्घ थियो भन्दै देशको क्रान्ति जोगाउने जिम्मेवारी स्तालिनको काँधमा आएको भनाइ राख्नुभयो ।
उहाँले स्तालिनले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक भण्डारलाई समृद्ध बनाउनुभएको भन्दै स्तालिनले सोभियत कम्युनिस्ट पार्टीको इतिहास, द्वन्द्वात्मक र ऐतिहासक भौतिकवाद, सोभियत सङ्घमा समाजवादका आर्थिक समस्याहरूजस्ता सैद्धान्तिक पुस्तकहरू लेख्नुभएको बताउनुभयो ।
स्तालिनले नै जनताको प्रजातन्त्रको अवधारणा अघि सार्नुभएको भनाइ राख्दै केन्द्रीय सदस्य गोसाईले पुँजीवादको राम्ररी विकास भइनसकेको समाजमा पुँजीवादी क्रान्तिको अभिभारा पूरा गर्न, सर्वहारावर्गको नेतृत्वमा जनवादी क्रान्ति गर्नुपर्ने तर्क स्तालिनको थियो भन्नुभयो ।
सोभियत समाजवादले उत्पादनका साधनको सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्क, पानी, बिजुली, यातायात करिब निःशुल्क, बेरोजगारी समस्या समाधान, वेश्यावृत्तिको अन्त गरेको भन्दै केन्द्रीय सदस्य गोसाईले सोभियत सङ्घ शोषण, दमन र उत्पीदनविरुद्ध विश्वभर लडिरहेका जनताको अजस्र स्रोत थियो भन्नुभयो ।
नेमकिपा, काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा पार्टी केन्द्रीय सदस्य राजवीर डंगोल, जिल्ला समिति सदस्यहरू विन्द्र महर्जन, श्यामकुमार महर्जन, विश्वक डंगोल, रमेश महर्जनलगायतले स्तालिनबारेका लेखरचनाबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *