भर्खरै :

कामदार महिला संगठित

काभ्रे, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रेद्वारा महिला भेला सम्पन्न भयो । भेलामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले राजनीति जनताको निःस्वार्थ सेवाको निम्ति हुनु पर्ने हुनाले नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि कामदार जनताको सेवा गर्दै आएको बताउनुभयो । महिला उच्च पदमा पुग्नु नै मुख्य होइन जनताको हितमा काम गर्नु प्रमुख कुरा भएको हुँदा महिलाहरु राजनीतिक रुपमा शिक्षित, संगठित र सचेतहुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजूले नेपाल मजदुर किसान पार्टी स्थापना हुनुको आधारहरु प्रष्ट पार्नु हुँदै संशोधनवादीहरुलाई नङ्याउँदै जानुपर्ने बताउनु भयो । नेपाल मजदुर किसान पार्टी काभ्रेका सदस्य पूर्णशिं वाइवाले पार्टी कार्यकर्ताहरुमा राजनीतिक इमान्दारिता र अनुशासनको आवश्यकता औँल्याउनु भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रेका अध्यक्ष कान्ती अवाको सभापतित्वमा भएको उक्त भेलामा पुण्यशोभा श्रेष्ठ र तारा न्यौपानेले पनि बोल्नु भएको थियो ।
यसैबीच नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर वडा नं १० को आयोजनामा मङ्गलबार महिला भेला सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा आयोजित भेलामा नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष कमलमैंया सुवालले कामदार वर्गका महिलाहरुको मुक्ति समाजवादी व्यवस्थामा मात्र सम्भव हुने भएकाले कामदार महिला आन्दोलन समाजवादी सङ्घर्षको हिस्सा हुनुपर्ने विचार राख्नुभयो ।
भेलामा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलक, नेक्रामसङ्घ भक्तपुर नगर समिति अध्यक्ष कृष्णप्यारी जधारीलगायतले बोल्नुभएको थियो ।
भेलाले कृष्णश्वरी सुवालको अध्यक्षतामा नयाँ महिला समिति गठन गरेको छ ।
महिला भेलामा महिला कानुनका आधारभूत पक्षबारे अधिवक्ता लक्ष्मी बखाद्यो र पाठेघर क्यान्सरबारे नर्स देविका दनेखूले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *