भर्खरै :

ईट्टा भट्टाका दुई मजदुर

 
हिना सुवाल
भक्तपुर, १६ माघ । सिन्धुलीका रमेश विक इट्टा पार्ने समयतिर गाउँमा बस्न रुचाउँदैनन् । मंसिर भएपछि भक्तपुर पुगिहाल्छन् । उनी यसरी भक्तपुरमा ईट्टा पार्न आउन थालेका तीन वर्ष भइसकेको छ । । मंसिरमा आएका उनी वैशाखको बीचमा घर फर्कने गर्दछन् । मंसिरबाट ईट्टा भट्टामा इट्टा पार्ने काम सुरु हुन्छ, अधिकांश गाउँका मान्छेहरु केही खर्च जुटाउनको लागि भक्तपुर आउने गरेका हुन् । विक पनि यही कामको लागि भक्तपुर पस्ने गर्छन् ।
विकजस्तै धेरै मानिसहरू आफ्नो परिवारसँगै भक्तपुर आउने गरेका छन् । हिउँदमा ईट्टा पार्ने काम सकाएर उनीहरु फेरि वर्खामा गाउँ फर्कन्छन्, बाली लगाउँछन् । विक पनि त्यही गर्छन् । तर ईट्टा पार्न भट्टामा आउनुअघि भने उनी गाउँमा घर बनाउने काम गर्थे । ‘अघिल्लो वर्ष ममात्र होइन, मेरी बूढी र बच्चा पनि सँगै थियौं । तर अहिले भने बूढी बिरामी छे । त्यसैले यो वर्ष म एक्लै आएको हुँ ।’ विक बताउँछन् । “पहिले आउँदा त ईट्टा बनाउनै आएन । साहूको गाली पनि खाएँ । तर बिस्तारै सिकें । यस वर्ष भने राम्रै काम गरिरहेको छु ।” विकले खुसी हुँदै भने । विकलाई एउटा इट्टाको रु. १ दिन्छ । उनी एकदिनमा १५ सयदेखि २ हजारसम्म ईट्टा पार्ने गर्छन् । ‘हप्ताको एकपटक पेश्की दिन्छ । त्यसबाट खानपानकामा अलि खर्च हुन्छ । बाँकी सबै जोगाएर घर लग्छु ।’ विकले भने ।
विक  बिहान २ बजेदेखि बेलुका ११ बजेसम्म ईट्टा पार्ने काममा नै व्यस्त हुन्छन् । उनीमात्र होइन, भट्टामा काम गर्ने धेरैजसो बिहान १–२ बजे नै उठ्छन् । जत्ति बनाउन सक्यो, त्यति नै पैसा आउने भएकोले सबैले धेरै ईट्टा बनाउन खोज्छन् । तर दिउँसो घामले गर्दा ईट्टा पार्ने काम त्यति हुँदैन, शीतल भएको ३ वा ४ बजेदेखि मात्र काम गर्न सजिलो हुन्छ ।’ विक बताउँछन् । ईट्टा पार्ने काममा कुम धेरै दुख्ने गरेको विकको भनाइ छ । साथै अरु खोकी लाग्ने, सास फेर्ने समस्या त छँदै छ ।
‘ईट्टा भट्टाको मुख्य समस्या पानी र शौचालय हुन्’, विकले आफू काम गर्ने भट्टाका समस्याबारे भने । “साहूले खानेपानीको लागि टयाङ्की त छुटाइदिएको छ, तर पानी एकदमै फोहोर छ, त्यसैले हामी पानी भट्टाभन्दा केही टाढा बस्तीतिर लिन जान्छौं ।” विकले भने । बस्तीमा पानी त दिन्छन्, तर शौचालयको प्रयोग गर्न भने दिदैंन । ‘शौचालय भट्टाको मुख्य समस्या हो’, उनले भने, ‘हाम्रो भट्टामा जम्मा दुईवटा मात्र शौचालय छ । त्यो पनि एकदमै दुगन्धित छ । साथै जानको लागि पनि धेरै कुर्नपर्छ । बिहान त लाइन नै लाग्छ । पहिले खेतमै बनाएको थियो, तर जग्गाधनीले आएर बिगारिदिए । त्यसैले अब बनाउने पहल भने गरेका छैनौं । त्यसैको भरमा बसेका छौं ।’ उनले भने । त्यही इट्टा भट्टामा नै काम गर्ने अर्को तेजबहादुर तामाङले ईट्टा पार्ने काम गर्दै आएको वर्षौं भएको सुनाए । उनले हजार ईट्टाको रु. १ सय ३० देखि सुरु गरेका थिए ।
‘समयको बद्लावसँगै ईट्टाको मूल्यवृद्धि भएकोमा खुसी छु । पहिलोको वर्ष एउटाको रु. १ दिएको थियो, हजारको हजार तर अहिले भने हजारको रु. ११ सय दिन्छ कि भनेर आशा गरेको छु । तर शौचालयको अवस्था त उस्तै हो, पहिले पनि यस्तै अहिले पनि उस्तै, त्यसैमा नै सम्झौता गरेर बसेका छौं ।’, रामेछापका तामाङले भने ।
विक र तामाङलाई जस्तै भट्टाका अरु मजदुरहरुको पनि कथाव्यथा उस्तै छ । धेरैजसो ईट्टा भट्टामा काम गर्नेहरुलाई शौच बस्नको लागि शौचालयभन्दा पनि खुल्ला ठाउँ खोज्नु पर्ने बाध्यता छ । मजदुरको सङ्ख्याको अनुपातमा शौचालय कम हुँदा मजदुरहरु निकै समस्यामा परेका छन् । यो समस्याबाट पुरुषभन्दा बढी महिला समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *