भर्खरै :

“पुँजीवादी व्यवस्थामा कामदार जनताको भविष्य अनिश्चित हुन्छ”

“पुँजीवादी व्यवस्थामा कामदार जनताको भविष्य अनिश्चित हुन्छ”

उदयपुर, ५ पुस । नेपाल मजदुर किसान पार्टी उदयपुर जिल्लाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उकेश कवांले मानव समाज विकासबारे प्रशिक्षण दिँदै मानव समाज जङ्गली युग, दास युग, भूदास तथा सामन्तवाद र पुँजीवादी समाजको विकास चरणबारे स्पष्ट पार्नुभयो ।
“पुँजीवादी बन्दोबस्तमा सीमित पुँजीपति वर्गको हित हुने र कामदार जनताको भविष्य अनिश्चित हुने भएकोले कामदार जनताको भविष्य सुनिश्चित हुने समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य छ । कामदार जनताको नेतृत्वमा हुने क्रान्तिले पुँजीवादको पतन र समाजवादी व्यवस्था स्थापना हुनेछ, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य कवांले भन्नुभयो, “नेपाली जनता र नेपालको माटो सुहाउँदो समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा सङ्घर्षरत छ । देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नेबाहेक नेमकिपाको अरू कुनै स्वार्थ छैन ।”
कामदारवर्गको जीवन उकास्न कार्यकर्ताहरू इमानदार र निःस्वार्थी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
रूस–युक्रेन युद्ध र प्यालेस्टिनमथि इजरायलको आक्रमणबारे स्पष्ट पार्दै उहाँले ती दुवै द्वन्द्वमा संरा अमेरिकी साम्राज्यवादको हात रहेको र संरा अमेरिकी साम्राज्यवाद संसारमा आतङ्क फैलाएर हतियारको व्यापार गर्न चाहन्छ भन्नुभयो ।
नेमकिपा कोसी प्रदेशका सदस्य महेन्द्र बखुन्छेँले नेमकिपा किसान आन्दोलनको जगमा स्थापना भएको पार्टी भएको स्पष्ट पार्दै पार्टीले स्थापनाकालदेखि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
“शासक पार्टीको अकर्मण्यताकै कारण देश युवाविहीन हुन पुगेको र वैदेशिक रोजगारीको नाममा नेपालीहरू साम्राज्यवादीहरूको सस्तो ज्यामी बन्न बाध्य बनाइएको छ”, उहाँले भन्नुभयो ।
नेमकिपा उदयपुरका संयोजक विष्णुबहादुर खत्रीको सभातित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका आशाकाजी बनमाला, लक्ष्मी झा, दलबहादुर बुढाथोकी, चन्द्रबहादुर कार्की र विष्णु दनुवारले पनि बोल्नुभएको थियो ।
भेलाले विष्णुबहादुर खत्रीको अध्यक्षतामा नेमकिपा उदयपुर जिल्ला समिति, पद्मबहादुर तामाङको अध्यक्षतामा नेक्राकिसङ्घ उदयपुर जिल्ला समिति, टुकुनबहादुर बस्नेतको अध्यक्षतामा नेक्रायुसङ्घ जिल्ला समिति र लक्ष्मीदेवी झाको अध्यक्षतामा नेक्रामहिला सङ्घ जिल्ला समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *