भर्खरै :

लामिछानेको सांसद पद निलम्बनमा

काठमाडौँ, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ । आइतबार लामिछानेविरूद्ध जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ मा व्यक्तिविरूद्ध दफा २२ अनुसार मुद्दा दायर भएको अवस्थामा उनको पद स्वतः निलम्बन हुने व्यवस्था छ । त्यसमा भनिएको छ, प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ ।’
प्रतिनिधिसभा नियमावलीअनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी अभियोगमा पुर्पक्ष थुनामा पठाएको अवस्थामा मात्रै सांसदको पद निलम्बन हुने व्यवस्था छ । तर लामिछाने सांसदजस्तो सार्वजनिक पद धारण गरेकाले सम्पत्ति शुद्धीकरण ऐनले नै स्वतः निलम्बन गरेको हो ।
दुई मुद्दामा सभापति लामिछानेसँग रु. ३१ करोड बिगो दाबी
सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका उहाँविरूद्ध सम्पत्ति शुद्धीकरणमा रु. २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु. तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिनुभएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरूद्ध सम्पत्ति शुद्धीकरणमा आइतबार मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु. १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु. ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु. २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिनुभयो । यस्तै सहकारी ठगीमा जोशीविरूद्ध रु. पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु. दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।
सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसहित १९ जनाविरूद्ध सङ्गठित अपराधमा पनि आइतबारै मुद्दा दर्ता भएको छ । सहकारी ठगी मुद्दामा पनि लामिछानेसहित ३१ जनाविरूद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा विभिन्न व्यक्तिविरूद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको बताउनुभयो । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *