भर्खरै :

विखण्डनवादी दलहरूदेखि सावधान !

देश जोगाउनु, बनाउनु र कामदार जनताको हित गर्नु नै राजनीतिक दलको उद्देश्य हो । देश र जनताप्रति समर्पित कुनै पनि दलहरू कहिले पनि सङ्कीर्णवादी र विखण्डनकारी हुँदैनन् । सङ्कीर्णवादी र विखण्डनकारी दलहरू कहिले पनि देशभक्त हुनसक्दैनन् । देशको विरोधमा बोल्ने, देश टुक्रा गर्न चेतावनी दिने, देशघाती सन्धि सम्झौता गर्ने दलहरूले देश विकास गर्न चाहँदैनन् । विखण्डनकारी दल देशको निम्ति आवश्यक छैन । त्यस्तो शक्तिको विरोधमा अरु सबै दल र जनता लाग्नुपर्छ । विदेशी शक्ति राष्ट्रहरूको उठबसमा चल्ने, दबाबमा बस्ने दलले खालि विदेशीहरूकै हितमा कुरा उठाउँछ, उठाइरहेको छ । नेपाल–भारतबिच भएका धेरै सन्धि–सम्झौता देशको हितमा छैन । देशको अहितमा सन्धि सम्झौता गर्नेहरू सबै देशविरोधी शासकहरू हुन्; देशविरोधी दलहरू हुन् । आत्मनिर्णयको अधिकारसहितको एक मधेस एक प्रदेशको त्यसबेलाको माग देशलाई विखण्डनको स्थितिमा पु¥याउने र देशको प्राकृतिक स्रोत साधन विदेशीको हातमा पु¥याउने षड्यन्त्र हो ।
संविधानसभाको निर्वाचनताका भूगोल र प्राकृतिक स्रोत र साधनको आधारमा जनताको इच्छाअनुसार देशको छिटो विकास गर्ने, हरेक प्रदेशले हिमाल, पहाड र तराई पाउने व्यवस्था गर्नुपर्ने कुरा उठाइएको थियो । सन्तुलित विकास गर्न अवसर मिल्ने त्यो अवधारणाविपरीत ‘एक प्रदेश एक मधेश’ नभए देशै नरहने, तराई टुक्रा गर्ने र काठमाडौँ उपत्यकालाई आर्थिक नाकाबन्दी गर्न चेतावनी दिने दलका नेताहरू अहिले सरकारमा छन्† सरकारमा जान आतुर छन् । देशलाई विखण्डनको स्थितिमा पु¥याउन बाटो खनेका या पूर्वाभ्यास गरेका दलका नेताहरूले के नेपाल र नेपाली जनताको भलो गर्लान् ? विदेशीलाई पनि वंशजको आधारमा नेपाली नागरिकता दिने बन्दोबस्त के नेपालीलाई अल्पमतमा पार्ने मन्दविष होइन ? नेपालीभन्दा बढी भारतीय नागरिकहरूले नेपाली नागरिकता लिए भने भोलि नेपालको स्थिति के होला ? भारतीय नागरिकहरू नै नेपाली भएर मन्त्री, सांसद, जनप्रतिनिधि निर्वाचित भए के उनीहरूले नेपाल र नेपाली जनताको सेवा गर्लान् ?
जाति, धर्म, भाषाको आधारमा राजनीति भएमा या गरिएमा त्यहाँ जातीय द्वन्द्व हुन्छ; धार्मिक द्वन्द्व हुन्छ । जातीय र धार्मिक द्वन्द्वले हिंसा निम्तिन्छ । हिंसात्मक गतिविधि बढ्दै गएमा शान्ति बिथोलिन्छ । जातीय र धार्मिक हिंसाको कारण देशको स्वाधीनता र सार्वभौमिकतामा खतरा हुनसक्छ । यसकारण, देशको भूअखण्डता, सीमा र सम्पत्ति सुरक्षाको निम्ति हरेक नागरिक सजग र सचेत हुनुपर्छ । आवश्यक परेमा देश जोगाउन आम जनता उठ्नुपर्ने हुन्छ र सङ्घर्षमा उत्रनुपर्ने हुन्छ ।
हरेक नेपालीले देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतालाई आँखाको नानीजस्तै जोगाउनुपर्छ, जोगाउन तयार हुनुपर्छ । आफ्नो देशको हितको विरोधमा लाग्ने, विदेशीलाई गोप्य सूचना दिने र जनताको हितविपरीत काम गर्ने देशद्रोही र जनद्रोहीबारे राज्यलाई सूचना दिने नागरिकहरू असल चरित्रका होइनन् । स्वदेश या विदेशमा रहेका हरेक नागरिक आफ्नो देश र जनताको निम्ति जहिल्यै खटिरहनुपर्छ, आ–आफ्नो बुद्धि र विवेकअनुसार योगदान गरिरहनुपर्छ । सरकारको काम देश बचाउन हो, देश बनाउन हो । सरकार देश जोगाउनेतर्फ नलागी खालि सत्तामा टाँसिरह्यो, सत्तामा भुलिरह्यो भने भोलि देशको स्थिति के होला ?
जातीय द्वन्द्व निम्त्याउने, शान्ति भड्काउने, द्वन्द्व चर्काएर जनता–जनताबिच जुधाउने काम सच्चा राजनीति होइन । समाज भड्काउने यस्तो राजनीतिले समतामूलक समाज बन्ने छैन । नेपाल भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादबाट आर्थिक र राजनीतिकरूपले ग्रस्त छ । नेपाली सीमामा थिचोमिचो बढ्दै छ । खुला सीमाका कारण भारतीय अपराधीहरूमार्फत नेपालमा हत्या, हिंसा, अपहरण, लुटपाट, तस्करीका घटनाहरू दोहोरिरहेका छन् । खुला सीमालाई नियमन गर्न लामो समयदेखि जोड दिँदै आए पनि सरकारले चासो राखेको छैन । नेपालमा विदेशी हस्तक्षेप र दबाब पनि बढ्दो छ । यही कारण नेपाली भूमि साँगुरिँदै छ । सरकारले नेपालको भूमि या सम्पत्ति पनि जोगाउन सकेन । देशको सम्पत्ति जोगाउनुको सट्टा आफ्नो भूमि अरुलाई छोड्दै जाने शासकहरू कसरी देशभक्त हुन्छन् ? सरकारले देशको आफ्नो भूमि कायम गर्नुपर्छ या जोगाउनुपर्छ; जोगाउन पहल गर्नुपर्छ । तर, शासकहरूलाई नेपाली भूमि कायम गर्ने, नेपाली भूमि कालापानीमा रहेका भारतीय सेनालाई फर्काउनेतर्फ कुनै चासो छैन ।
विदेशी शक्ति राष्ट्रप्रमुखहरू चिढिएला भनेर देशमाथि भइरहेको थिचोमिचोको विरोध नगर्नुको अर्थ देशमा सङ्कट निम्त्याउनु हो । देशमा फेरि थिचोमिचो गर्ने अवसर दिनु हो । सरकारले देशको भूमि जोगाउनुपर्छ; अतिक्रमित भूमि फिर्ता लिनुपर्छ । खुला सीमा व्यवस्था गर्नुपर्छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा एकतर्फीरूपमा बनाइएका बाँध तथा पुल भत्काइनुपर्छ । अनि बल्ल सरकारले देश र जनताको निम्ति काम गरेको हुन्छ । त्यो काम इतिहासमा कोरिरहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *