व्यक्तिको पहिचान जन्म वा जातले होइन, उसको योग्यता, क्षमता, इमानदारिता र कर्मले निर्धारण गर्ने
- असार २१, २०८३
चीनमा विद्यावारिधि गर्न गएका साथी महिना दिनको लागि बिदा मनाउन नेपाल फर्केका बेला उनले दुई–तीनवटा चिनियाँ पुस्तक (अङ्ग्रेजी अनुवाद) साथमा लिएर आए । नयाँनयाँ किताबका सौखिन तथा स्वयम् लेखक भएका कारण किताबप्रतिको माया मोहले उनलाई चीनमा पनि तानेकै देखियो । अरू साथीहरू पनि चीनमा पढ्न गएका छन् । तर, उनीहरू आफ्नै विषयमा बढी केन्द्रित भए । साथीहरू पढाइ सिध्याएर देश फर्कने बेलामा चीनबारेको महत्वपूर्ण अनुभवको पोको पाउने आशा गर्नु स्वाभाविक हो ।
साथीबाट प्राप्त पुस्तकको नाम हो । –“माओ जेदोङको परम्परागत पारिवारिक मूल्यमान्यता (Mao Zedong’s Traditional Family Virtues) । पुस्तकका राम्रा पक्षहरूबारे साथीले पहिले नै प्रकाश पारिसकेका थिए । यसले गर्दा पुस्तक छिट्टै पढ्ने मनमा हुतहुती नै जाग्यो । हुन त माओ र चिनियाँसाहित्य पढ्ने लत १५÷१६ वर्षको उमेरदेखि नै बसिसकेको थियो । माओ र चिनियाँ जनक्रान्तिको बारेमा अनभिज्ञ भने म थिइनँ । माओको जीवनी पहिलोपटक लुकीलुकी ‘जनताको साहित्य’ मार्फत पढ्ने मौका गुप्तरूपमा मिलेको थियो । पछि त्यो सिलसिला अन्य चिनियाँ साहित्य किनेर पढ्ने बानीमा परिणत भयो ।
नेकपाका संस्थापक सदस्य निरन्जन गोविन्द वैद्यको निधनपछि उहाँको भोटाहिटीस्थित प्रगतिशील पुस्तक पसल बन्द भयो र चिनियाँसाहित्य किनेर पढ्ने बानी पनि टुट्यो । तर, चिनियाँ साहित्यप्रतिको रूचि भने आजसम्म कायमै छ । माओ जेदोङको बारेमा अहिलेसम्म हामीले पढेका जीवनीहरूमा उहाँको पारिवारिक वा व्यक्तिगत कुराहरू कमै मात्र पढ्न पाइन्थ्यो । उहाँ चीनका सामन्तीहरूको शोषण र जापानी साम्राज्यवादी आक्रमणबाट मुक्तिको लागि भए–गरेका लडाइँहरूको रोमान्चक कथा नै बढी पढ्हुन्थ्यो । तर, साथीबाट यसपटक प्राप्त पुस्तकको विषयवस्तु फरक पाएँ ।
नेपालमा पनि ठुलठुला परिवर्तनहरू भएका छन् । राणा शासन, पञ्चायती शासन, फेरि बहुदलीय प्रजातन्त्र हुँदै सङ्घीय गणतान्त्रिक नेपालसम्मको यात्रा नेपालले तय गरिसकेको छ । सङ्घीय गणतान्त्रिक नेपालको स्थापना भएको पनि २०/२२ वर्ष भइसक्यो । तर, जनताको जीवनस्तरमा आमूल परिवर्तन आएको हामी देख्दैनौँ । सबैजसो शासक पार्टीका नेताहरू कुनै न कुनै भ्रष्टाचारको मुद्दामा फसेको देखिन्छ । उनीहरू मात्र होइन, तिनका परिवारका सदस्यसमेत भ्रष्टाचारमा मुछिएको देखियो । तर, हाम्रा नेताहरू कहाँनिर चुके भन्ने कुरामा नेपालको बहसको विषयवस्तु हुनुपर्दथ्यो । यस्तोमा हामीले हेर्ने, सुन्ने, पढ्ने भनेकै विभिन्न देशविदेशका पार्टी र नेताहरूको जीवनी तथा इतिहास हो । यसको तुलनात्मक अध्ययन गर्ने हो ।
नेपालका कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले पढ्नै पर्ने एउटा पुस्तक हो, माओ जेदोङको परम्परागत पारिवारिक मूल्यमान्यता (Mao Zedong’s Traditional Family Virtues)
नेपालमा अक्सर पार्टीको काम गर्दा परिवारलाई बिर्सने गर्छ । यसले गर्दा नेताका छोरा–छोरीहरू अवान्छित क्रियाकलापमा लागेको प्रशस्तै उदाहरणहरु नेपालमा छन् । पार्टीको कामको साथसाथै श्रीमती, छोराछोरी आदिमा पनि ध्यान दिनुपर्छ भन्ने शिक्षा पुस्तकले दिएको छ ।
पुस्तक चिनियाँ राष्ट्रपति सि चिनफिङको भूमिकाबाट सुरू हुन्छ । सीले माओका परम्परागत पारिवारिक मान्यताहरूबाट सिक्न आह्वान गरेका छन् । पुस्तकमा जम्मा चार अध्याय छन् । परम्परागत चिनियाँ किसान परिवार, नयाँ किसिमको परिवार, क्रान्तिकारी युद्धमा परिवार र शान्तिकालमा परिवार अन्त्यमा पुस्तकको उपसंहार छ । यसमा उहाँका छोराछोरीबाट परम्पराको कदर भएको वर्णन छ ।
सन् २०१६ तिर चीनको जनसङ्ख्या १ अर्ब ३९ करोडको हाराहारीमा थियो । परिवार सङ्ख्याको हिसाबले ३६ करोड ४० लाख परिवार सङ्ख्या थियो । सन् २०२० तिर जनसङ्ख्या १ अर्ब ४० करोड पुग्यो र परिवार ४० करोड पुग्यो । विशाल जनसङ्ख्या भएको देश चीनका राष्ट्रपति सि चिनफिङको काँधमा ठुलै जिम्मेवारी छ । उनी भन्छन्, “चिनियाँहरूले जहिल्यै इमानदारीपूर्वक देशको सेवामा जोड दिनुपर्छ । क्रान्तिकारी युद्धताका चिनियाँआमाहरूले छोरालाई जापानी साम्राज्यवादविरूद्ध लड्न सिकाउँथे र श्रीमतीहरूले लोग्नेहरूलाई युद्धभूमिमा पठाउँथे । समाजवादी निर्माणताका चिनियाँ जनताले मुलुकलाई पहिला र परिवारलाई दोस्रो स्थानमा राख्थे । व्यक्तिले मुलुकको लागि काम गर्नुपर्छ भन्ने विचार हुन्थ्यो । यी भावनाले परिवारको सकारात्मक व्यवहार र मुलुकप्रतिको उच्च भाव प्रतिबिम्बित गर्छ ।”
सिले माओ जेडोङ, चाउ एनलाई, चुतेह र अरू वरिष्ठ क्रान्तिकारीहरूले परम्परागत पारिवारिक मूल्यलाई ठुलो महत्व दिएको उल्लेख गरेका छन् । पुराना क्रान्तिकारी पुस्ताले हाम्रो लागि असल परम्परागत पारिवारिक मूल्यको राम्रो उदाहरहण छोडेको राष्ट्रपति सीको उद्गारसँगै पुस्तक आरम्भ हुन्छ ।
पुस्तकमा एक हिसाबले माओको वंशावली नै खोतल्ने प्रयास भएको देखिन्छ । हुनान प्रान्तको स्याङथान काउन्रिीतमा पर्ने साओसानमा सन् १८९३ मा जन्मेका माओका आमाबुबा, मामा, दाजुभाइ हुँदै उनका परिवारका रूपमा आएका सबै व्यक्तिको पुस्तकमा विस्तृत चर्चा गरिएको छ । उनको बाल्यकाल, विद्यार्थीकाल, युवावस्था, क्रान्तिमा लाग्दाको समय, क्रान्तिमा विजय भएपछिको राजनेताको रूपमा स्थापित भइसकेपछिको लामो कालखण्डमा माओको परिवारबारे व्यवस्थित अध्ययन अनुसन्धानबारे पुस्तकमा गरिएको छ । माओले जीवनमा चार जनासँग विवाह सम्बन्ध जोडे । त्यसमा पहिलो विवाह सानो बेलामा परिवारको जोडबलमा भएको थियो । माओ त्यसका लागि तयार थिएनन् । पहिलो पत्नीसँग माओको कहिल्यै सरोकार राखेनन् । पढाइप्रतिको उनको गहिरो अभिरूचिका कारण त्यसो हुन गएको अनुमान गरिन्छ । दोस्रो विवाह माओले आफ्ना शिक्षककी छोरी याङ काई हुइसँग गरे । दुबैको वैचारिक घनिष्टता र याङको बुबाको मौखिक सहमतिका कारण त्यो विवाह भएको थियो । याङले जीवनभर माओको क्रान्तिकारी कार्यमा साथ दिइन् । कोमिनताङ सरकारले याङको हत्या गर्यो । केही वर्षपछि एक क्रान्तिकारी सहयात्रीसँग माओको तेस्रो विवाह भयो । पत्नीको इष्र्यालु स्वभावका कारण माओको तेस्रो विवाह पनि सफल भएनन् । उनी माओको इच्छाविपरीत सोभियत सङ्घमा गएर बसिन् ।
केही वर्षपछि च्याङ चीनसँग माओको चौथो विवाह भयो । क्रान्तिको कठिन परिस्थितिमा माओले आफ्ना छोरालाई अरूको भरमा छोड्नु परेको थियो । सङ्घर्षको समयमा छोराछोरी हुर्काउन अत्यन्त गाह«ो काम थियो । माओ दम्पतीले आफ्ना सन्तानलाई अरूको जिम्मा लगाएका थिए । पछि परिस्थिति अनुकूल भएपछि फर्काउने सोच थियो । याङ काइहुइको हत्या भएपछि उनका छोराहरूले साह्रै दुःख पाए । उनीहरूले साङ्घाईका सडकमा मागीमागी खानु परेको थियो । पछि पार्टीले तिनलाई सोभियत सङ्घ पढ्न पठायो ।
सन् १९४९ अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीले विजय हासिल गर्यो । जनगणतन्त्र चीनको स्थापना भयो । राज्यसत्ता चिनियाँ जनताको हातमा आयो । यसबीच थुपै्र क्रान्तिकारीले बलिदान गरे । त्यस अर्थमा माओको परिवार वीर परिवार मान्नुपर्छ । माओ परिवारबाट माओ चियान, याङ काइहुइ, माओ चेतान, माओ चमिन, माओ चुछिओन्ग, आनयिङ आदिले क्रान्तिको निम्ति आफ्नो जीवन सुम्पे । यसबाहेक पनि अरू थुप्रै परिवारका सदस्यका साथै माओका पत्नीका माइती परिवारले पनि क्रान्तिको लागि ठुलो योग गरेको पुस्तक पढ्दा थाहा हुन्छ । चिनियाँ जनक्रान्ति विजयी भएपछि माओको काँधमा पार्टी तथा देश सञ्चालनको जिम्मेवारी थपियो । यति हँुदाहँुदै पनि माओले आफ्नो परिवारको बारेमा सोधखोज गर्न र तिनको रेखदेख गर्न कहिल्यै छोडेनन् । आफ्नो क्षमताअनुसार उनी परिवारलाई सहयोग गर्न सधैँ तत्पर रहे । आफूले नभ्याएको अवस्थामा छोरालाई पठाएर भए पनि हालचाल बुझ्ने गरिरहे । उनी आफ्ना पूर्वपत्नीका परिवारलाई पनि आफ्नै परिवारसरह व्यवहार गर्थे ।
माओले सामन्ती प्रणाली सोच तोडे । परिवार, नातागोता, साथीभाइ सबैलाई साधारण नागरिकजस्तै बाँच्न र आफ्नो व्यक्तिगत फाइदा नलिन उनले सुसूचित पारे । माओले आफ्नो पदको दुरूपयोग गरी साथी र नातागोताका व्यक्तिगत आवश्यकता र फाइदा कहिल्यै हेरेनन् । मुलुकको कानुन तोड्ने काम कहिल्यै गरेनन् । आफ्ना छोरा–छोरीलाई माओ जनताका छोराछोरीजस्तै जिउन सिकाउँथे । माओको आफ्नो सरकारी गाडी प्रयोग नगर्न र घरमै पाकेको खानाबाहेक अरू खाना खाने बानी फेर्न आफ्नो छोराछोरीलाई सिकाउँथे ।
पुस्तकको उपसंहारमा बुबाले विरासतमा छोडेर गएका परम्परागत पारिवारिक मूल्यमान्यतालाई माओका छोराछोरीले कतिको पालना गरे त भनी खोजबिन पनि गरिएको छ । माओकी छोरी लि मिन भावुक भएर भन्छिन्, “उहाँले नै मलाई ज्ञान र शक्ति दिनुभयो, अप्ठ्यारो परेको बेला बलियो भएर सामना गर्न सिकाउनुभयो । त्यो मायालु ज्योति मेरा छोराछोरी र मलाई जीवनभर हितकारी भइरह्यो र भइरहनेछ ।”
माओकी अर्की छोरी लि नी पनि माओप्रति अत्यन्त अनुग्रही छिन् । लि नी भन्छिन्, “हाम्रो बुबाले छोराछोरीलाई छोडेर गएको सबैभन्दा मूल्यवान धन भनेकै उहाँको शिक्षा हो भन्ने लाग्छ । उहाँको शिक्षा साह्रै चोखो र चिरस्थायी छ । त्यसबेला उहाँ मसँग कडा व्यवहार गर्नुहुन्थ्यो । त्यो मेरै भलाइका लागि थियो । त्यसो नगरेको भए म मेरा बालबच्चासँग एक्लै बस्न सक्ने थिइनँ। दुःखकष्टका ती दिन काट्न सक्ने थिइनँ। हामीलाई उहाँले बाबुको साँचो माया दिनुभयो ।”
माओकै शिक्षाका साथ पुस्तकको बिट मारिएको छ
– साधारण नागरिक हुनु
– अरूबाट फाइदा लिन मेरो नामको कहिल्यै प्रयोग नगर्नु
अध्यक्ष माओको परिवारप्रतिकेन्द्रित यो पुस्तक निकै सान्दर्भिक देखिन्छ । परिवारप्रति युवाहरूको बदलिँदो सोचमा परिवर्तन ल्याउन यो पुस्तक प्रकाशित भएको हुनुपर्छ । नेपालमा कम्युनिस्ट भनिएका कतिपय नेताका छोराछोरी विभिन्न कुकर्ममा मुछिएका समाचार आइरहेका छन् । उच्च पदमा पुग्नासाथ आफ्ना नातागोतालाई बढी लाभको पदमा जागिर लगाउन शासकहरूको एक किसिमको होडबाजी नै छ । यो प्रवृत्तिले रोगकै रूप लिइसकेको अवस्थामा ‘माओको परम्परागत पारिवारिक मूल्य मान्यता’ पुस्तकले हाम्रा शासकहरूलाई बाटो देखाउने काम गर्ने विश्वास गर्न सकिन्छ । पुस्तक नेपालीको लागि पठनीय छ । पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्न सकेमा नेपाली पाठकहरूको लागि सा¥है जाती हुनेछ ।
Leave a Reply