भर्खरै :

स्थानीय बीउ संरक्षणमा सरकारको उदासिनता किन ?

स्थानीय बीउ संरक्षणमा सरकारको उदासिनता किन ?
आव २०८१/८२ मा कृषिप्रधान देश नेपालको लागि करिब १ लाख मेट्रिक टन कृषि बीउ आयात गर्न १५ अर्ब १० करोड ५१ लाख रुपैयाँ खर्च भएको समाचार छ । हाल देशभर ३ लाख ३२ हजार १३० हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । नेपाललाई वार्षिक करिब २ हजार ९ सय ८० टन तरकारी बीउ आवश्यक पर्छ । सोमध्ये स्वदेशी बीउले २३.५ प्रतिशत मात्रै माग धान्ने गरेको छ । नेपाललाई चाहिने अधिकांश बीउ भारतसहित अन्य देशबाट आयात हुन्छ ।
दाङको स्थानीय धानको चामल ‘तिल्की’ प्रतिक्विन्टल १६ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । हाइब्रीड धानको चामल करिब पाँच हजार चारसय रुपैयाँमा पाइन्छ । हाइब्रीडभन्दा स्थानीय चामल तीनगुणा बढी मूल्य पाइए पनि किसानहरूले हाइब्रीड बीउ नै रोज्छन् । किनभने, स्थानीय धानको उत्पादन कम हुने गर्दछ । यसकारण, स्थानीय धानको बीउ जोगाउन मुस्किल हुँदै छ । कृषिविज्ञका अनुसार सरकारी नीतिगत कमजोरी, सहरीकरण, बसाइँसराइ, जलवायु परिवर्तन तथा आधुनिक कृषि प्रविधिको विस्तारका कारण स्थानीय बीउ लोप हुँदै गएको हो ।
हाइब्रिड बीउले सामान्यतया स्थानीय जातको तुलनामा २० देखि ३० प्रतिशतसम्म बढी उत्पादन दिन्छ । केही तरकारी बालीमा उत्पादन दोब्बर वा तेब्बरसम्म हुने गर्दछ । हाइब्रिड प्रयोग बढेपछि किसानहरू हरेक वर्ष महँगोमा नयाँ बीउ किन्न बाध्य छन् । हाइब्रिडसँगै रोग, किराको प्रकोपसमेत बढिरहेको छ । यसले किसानलाई विषादी पसल र विदेशी कम्पनीमाथिको निर्भरता बढाएको छ ।
सन् १९८९ मा गरिएको एक सर्वेक्षणले नेपालमा दुई हजारभन्दा बढी स्थानीय जातका धान खेती हुने तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) मा विभिन्न बालीका करिब १३ हजार जात तथा फिल्ड जिन बैङ्कमा १८ हजारभन्दा बढी जात संरक्षण गरिएको छ ।
सरकारले कृषकको खेतबारीमै स्थानीय बीउको संरक्षण र उपयोगमा विस्तार गर्न सकेन । दीर्घकालीन रूपमा संरक्षण गरिए एकसय वर्षसम्म र मध्यकालीन रूपमा संरक्षण गरिए पन्ध्र वर्षसम्म स्थानीय बीउ टिक्ने विज्ञहरूको मत छ । किसानलाई स्थानीय बीउ उपलब्ध गराउने र उत्पादनपछि सोही परिमाणको बीउ फिर्ता लिने अभियान सञ्चालन गर्न सके स्थानीय बीउ संरक्षणमा सहयोग पुग्ने विज्ञहरूको मत छ ।
स्थानीय जातको धानका बोट अग्लो हुने भएकोले त्यसको परालबाट गुन्द्री, सुकुल बुन्ने, पिर्का बनाउने तथा घरको छाना छाउन प्रयोग गर्न सकिन्छ । हाइब्रिड धानको बोट छोटो हुने भएकोले पशुलाई खुवाउन वा कम्पोस्ट मल बनाउन मात्र प्रयोग हुन्छ । किसानहरूको दैनिक जनजीविकामा स्थानीय धानको बोटबाट आयआर्जन गर्न सकिने भएकोले स्थानीय जातको बीउ संरक्षणमा सरकार लाग्नु जरुरी छ ।
नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) लगायतका निकायलाई परिचालन गरी स्थानीय बीउको बिज वृद्धि गर्न सके वर्षको अर्बाँैै रुपैयाँ बिदेसिने क्रम रोकिने भएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *