(‘गुन्द्रिस’ Grundrisse सन् १८५७–५८ को एक वर्षको बिचमा लेखिएको माक्र्सको सातवटा नोटहरूको सङ्कलन मानिन्छ । जर्मन भाषामा गुन्द्रिसको अर्थ ग्राउन्ड वा फाउन्डेसन वा आधार हो र यो वास्तुशास्त्रमा वा आर्किटेक्टचरमा ग्राउन्ड वर्कलाई मानिन्छ । माक्र्सको विश्वविख्यात कृति पुँजी लेखिनुपूर्व त्यसका लागि आवश्यक विभिन्न अवधारणहरू जस्तै पुँजी, मेसिन र यसको स्वचालनको भविष्यवाणी, उत्पादन, वितरण, अतिरिक्त मूल्य, अलगावको सिद्धान्त, बजार इत्यादि बारेमा माक्र्सको लेखन नै गुन्द्रिस हो । रुसी कम्युनिस्टहरूले सन् १९३० पछि मात्र यसको सोधखोज गरी प्रकाशन गरेको विश्वास गरिन्छ । यो आलेख लेखक सत्यजीतको फेसबुकबाट साभार गरिएको हो, लेखकको सम्पूर्ण ब्याख्या (इनटरपिटिसन) सँग हामी सहमत हुनुपर्छ भन्ने छैन । – सम्पादक)
माक्र्सवादी दर्शनको इतिहासमा ‘गुन्द्रिस’ (Grundrisse) एउटा यस्तो वैचारिक महाविस्फोट हो, जसले पँुजीवादी उत्पादन पद्धतिको आलोचनालाई परम्परागत अर्थशास्त्रको घेराबाट निकालेर सिधै २१ औँ शताब्दीको डिजिटल साम्राज्यको ढोकामा पु¥याइदिन्छ । सन् १८५७–५८ को वैश्विक आर्थिक सङ्कटको रापिलो पृष्ठभूमिमा कार्ल माक्र्सले रातभरि जाग्राम बसेर तयार पारेको यो पाण्डुलिपि कुनै तयारी भाषण वा प्रकाशनका लागि लेखिएको दस्ताबेज थिएन । यो त पुँजीवादको भित्री संहारक चरित्र र त्यसको गर्भभित्रै हुर्किरहेको प्रविधिको राक्षसलाई नङ्ग्याउने माक्र्सको बौद्धिक प्रयोगशाला थियो । हिजो औद्योगिक क्रान्तिको प्रारम्भिक चरणमा बहुसङ्ख्यक शास्त्रीय कम्युनिस्टहरूले यसलाई ‘अमूर्त र काल्पनिक’ भन्दै ओझेलमा पारे । तर, आज आर्टिफिसियल इन्टेलिजेन्स (AI), बिग डाटा र स्वचालित यन्त्रहरूको युगमा आइपुग्दा ‘गुन्द्रिस’ माक्र्सवादको सबैभन्दा जीवित, यथार्थपरक र अचुक घोषणापत्र साबित भएको छ ।
यसले पुँजीवादको एउटा यस्तो आन्तरिक अन्तरविरोधलाई उजागर गरेको छ, जहाँ पुँजीपतिले आफ्नो नाफा बढाउन प्रविधिको उच्चतम विकास त गर्छ, तर त्यही प्रविधि नै अन्ततः पुँजीवादी बजार र अतिरिक्त मूल्यको चिहान खन्ने हतियार बन्न पुग्छ । नेपाली कम्युनिस्ट आन्दोलन र समकालीन बौद्धिक विमर्श हिजोका घिसेपिटेका सामन्तवादी परिभाषा र संसदीय संसद्वादको दलदलमा फसिरहेको बेला, ‘गुन्द्रिस’ को पुनरावलोकन अनिवार्य सर्त बनेको छ । यो विश्लेषणले केवल विगतको गौरव गान गर्दैन, बरु आजको साइबर–पुँजीवादले सिर्जना गरेको नव–सर्वहारावर्ग र श्रमको नयाँ रूपलाई जनशास्त्रीय चश्माबाट नियाल्ने जमर्को गर्छ । विज्ञान र प्रविधिलाई पुँजीपतिको कैदबाट मुक्त गरेर सामूहिकताको अधीनमा नल्याएसम्म मानव जातिको वास्तविक मुक्ति असम्भव छ भन्ने सत्यलाई स्थापित गर्नु नै यो विश्लेषणको मुख्य उद्देश्य हो ।
श्रमको विलोपीकरण : ‘गुन्द्रिस’ भित्रको सबैभन्दा क्रान्तिकारी अध्याय, जसलाई इतिहासले ‘मेसिन खण्ड’ (Fragment on Machines) को रूपमा चिन्दछ, माक्र्सवादी अर्थशास्त्रको परम्परागत बुझाइलाई धक्का दिने सबैभन्दा धारिलो अस्त्र हो । माक्र्सले आफ्ना अन्य कृतिहरूमा मेसिनलाई मजदुरको श्रम निचोर्ने र अतिरिक्त मूल्य (Surplus Value) पैदा गर्ने फगत एउटा भौतिक साधनको रूपमा व्याख्या गरेका थिए । तर, यस खण्डमा माक्र्सले प्रविधिको विकासको एउटा यस्तो चरम र काल्पनिक लाग्ने बिन्दुको परिकल्पना गरे, जुन आज हाम्रो आँखा अगाडि अक्षरशः सत्य साबित भइरहेको छ ।
माक्र्सको प्रस्थापना ‘जीवित श्रमको विस्थापन र यन्त्रको स्वायत्तता’ हो । पुँजीवादको नैसर्गिक स्वभाव नै उत्पादन लागत घटाउनु र नाफाको दर बढाउनु हो । यसका लागि उसले लगातार विज्ञान र प्रविधिमा लगानी गर्छ । माक्र्स भन्छन्, “प्रविधिको विकास हुँदै जाँदा एउटा यस्तो बिन्दु आउनेछ जहाँ कारखाना वा उत्पादन प्रक्रियामा ‘जीवित मानव श्रम’ (Living Labor) को भूमिका क्रमशः शून्य हुँदै जानेछ र मेसिनहरू स्वतः सञ्चालित (Automated) हुनेछन् । हिजो मजदुरले मेसिन चलाउँथ्यो, तर आजको उन्नत पुँजीवादी चरणमा मेसिनले आफैंलाई र मानिसलाई समेत नियन्त्रण गर्न थालेको छ ।
यसको सबैभन्दा गहिरो आयाम ‘चेतनशील दर्शक’ (Conscious Watcher) को अवधारणा हो । जब उत्पादनको मुख्य संवाहक शारीरिक श्रम रहँदैन, तब मजदुर उत्पादन प्रक्रियाको ‘केन्द्रीय कर्ता’ बाट च्युत हुन्छ । ऊ त केवल स्वचालित यन्त्र प्रणाली, सफ्टवेयर एल्गोरिदम वा रोबोटिक प्लान्टको छेउमा उभिएर त्यसको सुपरिवेक्षण गर्ने, त्यसलाई नियमन गर्ने एउटा ‘बाह्य दर्शक’ मात्र बन्न पुग्छ । आजको एआई च्याटबोट्स, आईटी सेक्टर र अटोमेसनले मानव श्रमलाई जसरी छेउमा धकेलिदिएको छ, त्यसले माक्र्सको यो भविष्यवाणीलाई इतिहासको सबैभन्दा वस्तुवादी सत्य प्रमाणित गरिदिएको छ ।
यहीँनेर माक्र्सले ‘जनरल इन्टेलेक्ट’ (General Intellect) अर्थात् ‘आम सामाजिक बौद्धिकता’ को सिद्धान्त अघि सार्छन् । पुँजीवादले दाबी गर्छ कि प्रविधि र सफ्टवेयर पुँजीपतिको निजी सम्पत्ति हो । तर, माक्र्स भन्छन्, “विज्ञान, ज्ञान, कोडिङ र प्रविधि कुनै एउटा व्यक्ति वा निगमको निजी पसिनाको उपज होइन । यो त सिङ्गो मानव जातिले इतिहासको कालखण्डदेखि सङ्कलन गरेको सामूहिक सामाजिक ज्ञान (General Intellect) हो । आजका टेक–जायन्ट्स (गुगल, मेटा, माइक्रोसफ्ट) ले यही साझा मानवीय बौद्धिकतामाथि ‘पेटेन्ट’ र ‘बौद्धिक सम्पत्ति अधिकार’ को छद्मभेषी हतियार चलाएर कब्जा जमाएका छन् र यसलाई निजी नाफाको माध्यम बनाएका छन् । यो ज्ञानको निजीकरणविरुद्धको लडाइँ नै २१ औँ शताब्दीको वर्गसङ्घर्ष हो ।
माक्र्सले पुँजीवादको त्यो ऐतिहासिक पासोलाई पनि देखाएका छन्, जसबाट पुँजीवाद कहिल्यै उम्किन सक्दैन । पुँजीवादी अर्थशास्त्रको जग नै मजदुरको श्रम शोषण गरेर नाफा कमाउनु हो । यदि अटोमेसन र एआईले मानव श्रमलाई पूर्ण रूपमा विस्थापित गरिदियो भने, पुँजीपतिले ‘अतिरिक्त मूल्य’ कहाँबाट प्राप्त गर्ने ? मेसिनले सामान उत्पादन त गर्न सक्छ, तर त्यसले अतिरिक्त मूल्य पैदा गर्न सक्दैन र उत्पादित सामान बजारमा किनिदिने उपभोक्ता (बेरोजगार बनिसकेका मानिसहरू) पनि बाँकी रहँदैनन् । यसरी, पुँजीवादले प्रविधिको उच्चतम विकास गरेर आफ्नै चिहान खन्ने वस्तुगत परिस्थिति निर्माण गर्छ ।
अन्ततः, यसले मानव जातिलाई श्रमको दासताबाट मुक्ति र ‘मुक्त समय’ (Disposable Time) को स्वर्णयुगतर्फ दिशानिर्देश गर्छ । साम्यवादको वास्तविक मापन मानिसले कति घण्टा घोटिएर काम गर्यो भन्ने कुराबाट हुँदैन, बरु उसले जीवन जीउनका लागि कति ‘मुक्त समय’ पाइन्छ भन्ने कुराबाट हुन्छ । जब प्रविधिले समाजका लागि आवश्यक भौतिक आवश्यकताहरू केही मिनेटमै पूरा गरिदिन्छ, तब मानिस चौबीसै घण्टा रोटीको लागि भौतारिने दासताबाट मुक्त हुन्छ । त्यो बचेको समयमा मानिसले कला, साहित्य, दर्शन र विज्ञानको विकासमा आफ्नो बहुआयामिक क्षमता उजागर गर्न पाउँछ । तसर्थ, ‘गुन्द्रिस’ को यो खण्डले स्पष्ट पार्छ कि आजको डिजिटल युगमा प्रविधि आफैँमा शत्रु होइन, बरु त्यस प्रविधिमाथिको पुँजीवादी स्वामित्व नै मानवताको सबैभन्दा ठुलो शत्रु हो । यसलाई जनशास्त्रीय स्वामित्वमा ल्याउनु नै आजको क्रान्तिकारी कार्यभार हो ।
Leave a Reply