भर्खरै :

सन्दर्भ : निलो क्रान्ति – साम्राज्यवादीहरूको ‘छद्म युद्ध’ अध्ययन – २९

सन्दर्भ : निलो क्रान्ति – साम्राज्यवादीहरूको ‘छद्म युद्ध’ अध्ययन – २९
निलो क्रान्ति (Blue Revolution)
समुद्र तथा नदीको रङ्ग निलो हुन्छ । निलो जलभित्र रहने जलीय खाद्य पदार्थको उपयोग गरेर आर्थिक वृद्धि गर्ने लक्ष्यलाई ‘निलो क्रान्ति’ भनियो । माछापालन, जलचरको सुरक्षा, जलस्रोतको दिगो विकास र व्यवस्थापन, तटीय क्षेत्रका मानिसहरूको निम्ति रोजगारीका अवसर सिर्जना गर्ने विषय यसभित्र पर्दछ । यो अवधारणाले विश्वव्यापी रूपमा बढ्दै गरेको जनसङ्ख्यालाई माछा र समुद्री खानाको बढ्दो माग पूरा गर्न नदी, ताल र समुद्रको प्रयोगमा जोड दिन्छ । जलस्रोतको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम राख्न र जलीय स्रोतहरूको दिगो व्यवस्थापन गर्नको निम्ति ‘निलो क्रान्ति’ को अवधारणा अगाडि आएको हो ।
यो अवधारणा एसियाबाट सुरु भएर अहिले विश्वव्यापीजस्तै बन्यो । विश्वव्यापी जलीय खेती उत्पादनमा एसियाले ८९ प्रतिशत ओगटेको छ । जसमध्ये चीनले मात्र विश्वव्यापी उत्पादनको ५८ प्रतिशत ओगटेको छ । भारत पनि विश्वको दोस्रो ठूलो माछा उत्पादक देश हो । भारतीयहरू भारतका हिरालाल चौधरीलाई ‘निलो क्रान्ति’ का पिता मान्दछन् । सन् १९८५ र १९९० को बिचमा भारतले आफ्नो सातौँ पञ्चवर्षीय योजनामा पनि ‘निलो क्रान्ति’ लाई समेटेको थियो ।
‘निलो क्रान्ति’ जस्तै ‘हरित क्रान्ति’ शब्द पनि भारतमा आयो । यो शब्द १९९० को दशकको अन्त्यतिर भारतीय कृषि वैज्ञानिक डा. एमएस स्वामिनाथन (Mankombu Sambasivan Swaminathan) ले प्रयोग गरेका थिए । गहुँ र धानका उच्च उपज दिने जातहरू पहिचान र विकास गर्नमा उनको नेतृत्व र भूमिका रहेको मानिन्छ । यसरी ‘निलो क्रान्ति’ र ‘हरियो क्रान्ति’ शब्द जलीय उपज र कृषिसँग सम्बन्धित छन् ।
रास्वपाले भनेको “निलो क्रान्ति” के हो ?
रास्वपाले आफ्नो स्थापनाकालदेखि नै ‘निलो क्रान्ति’ शब्दलाई प्रचार गरिरहेको देखिन्छ । २०८३ असार ७–९ गते सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा रास्वपाका सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा चितवनलाई ‘निलो क्रान्ति’ को राजनीतिक राजधानी उल्लेख गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डाको रङ्ग ‘निलो’ छ । पार्टीको झन्डाको रङ्गअनुसार रास्वपाले आफ्नो पार्टीको गतिविधिलाई पनि ‘निलो क्रान्ति’ भनेर प्रचार गर्दैछ । रास्वपाको महाधिवेशनमा निलो रङ्गको व्यानर, निलो रङ्गको टिसर्ट, निलो रङ्गको झन्डा, फ्लेक्सले चितवनलाई निलो बनाउने प्रयास गरेको देखियो । रास्वपा नेतृत्वको सरकारले सातै प्रदेशमा महिलाहरूको निम्ति निलो रङ्गको बस सञ्चालन गर्ने तयारी गरेको समाचार पनि छ । संसद्को बैठकमा पनि रास्वपाका सांसदहरू पटक पटक निलो स्कार्फ बाँधेर उपस्थित भएका थिए । यसरी आफ्नो झन्डाको निलो रङ्गलाई रास्वपाले क्रान्तिसँग जोड्ने प्रयास ग¥यो । यथार्थमा यो छलछाम हो ।
रास्वपाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, डिजिटल शासन सञ्चालन, सामाजिक न्याय, सुशासन, पारदर्शितालाई ध्यान दिने भन्दै छ । मतदान प्रक्रियाबाट सरकार परिवर्तन गरेर अवस्था परिवर्तन गर्ने सपनालाई रास्वपाले ‘निलो क्रान्ति’ भन्यो । निर्वाचनमा आफ्नो जितलाई पनि उसले ‘निलो क्रान्ति’ भन्यो । कार्यकर्ता र समर्थक पनि त्यसको लहलहैमा लागे, परख गरेर हेरेनन् । रास्वपाको प्रतिवेदनमा सामाजिक लोकतन्त्रलाई पार्टीको मूल राजनीतिक सिद्धान्तका रूपमा अङ्गीकार गर्ने र प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रलाई अवलम्बन गर्ने निष्कर्ष उल्लेख गरिएको छ । पार्टी स्थापनाको घोषणा गर्दा संवैधानिक समाजवादलाई पार्टीको सिद्धान्त बनाउने उल्लेख गरेको थियो । खासमा रास्वपाको सैद्धान्तिक विषय अझै स्पष्ट छैन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको ‘निलो क्रान्ति’ को लहर लामो समयसम्म नटिक्ने दाबी गरे ।
यथार्थमा रास्वपाले फासीवादी चरित्र अवलम्बन गर्दै छ । एकजना विश्लेषक महादीप पोखरेलले यो पार्टीलाई “आफूलाई सर्वेसर्वा ठान्ने लोकतान्त्रिक आवरणको फासीवादी पार्टी” बताएका छन् । लोकतान्त्रिक निर्वाचनमा जित्ने अनि सत्तामा पुगेपछि विरोधी स्वरलाई दमन गरेर अन्य पार्टीलाई निषेध गर्ने फासीवादी चरित्र यो पार्टीले देखाउँदै छ । यो पार्टी अमेरिकी डिजाइन, बहुराष्ट्रिय कम्पनीका मालिकहरू, पूर्वराजा र नेपाली सेनाको संलग्नतामा अगाडि बढेको देखिँदै छ । अमेरिकी निर्देशनमा नेपाली सेनाले पनि यो पार्टीलाई निर्वाचनमा साथ दियो । यसकारण, शासन सत्तामा विस्तारै सैनिकीकरणको आभाष आउन थालेको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री संसद्प्रति उत्तरदायी देखिन्न । रास्वपाभित्र राजतन्त्र ब्युँताउनुप¥यो भन्ने धार पनि सक्रिय रहेको देखिन्छ । ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेज गरेर स्थानीय तह पनि दलविहीन बनाउने हल्ला चलाउँदै छ । यसरी यो पार्टी क्रमशः निरङ्कुश निर्दलीय व्यवस्थातर्फ अगाडि बढ्दै गएको देखिन्छ ।
पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले चितवनको महाधिवेशनमा “रास्वपा न दक्षिणपन्थी न वामपन्थी, विकास गर्न आएको पार्टी” बताए । यसको निश्चित विचार छैन । यो पार्टी बहुराष्ट्रिय कम्पनीहरूलाई स्रोत–साधन सुम्पिएर नेपालको अर्थतन्त्र कब्जा गर्न लगाउने नवउदारवादी पार्टी हो† गरिब, कामदार वर्गको पार्टी होइन । यो पार्टीको सरकारले भूमिहीन तथा सुकुमवासीहरूलाई थिचोमिचो गर्दै जनताको शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा कर थोपरेर नवधनाढ्यहरूलाई पोस्न खोज्दै छ ।
यो पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूमा ‘अमेरिकी युथ काउन्सिल’, ‘बारबरा फाउन्डेसन’, ‘हामी नेपाली’ संस्था, ‘स्टुडेन्ट्स फर फ्रि तिब्बत’ जस्ता गैरसरकारी संस्थाका मान्छेहरू पनि निर्वाचित भए । यसकारण यो पार्टी प्रतिगमनकारी भएको स्पष्ट हुन्छ । रास्वपाको ‘निलो क्रान्ति’ साम्राज्यवादीहरूको पक्षपोषण गर्ने रङ्गीन क्रान्तिकै सिलसिला अर्थात् ‘छद्म युद्ध’ हो ।
के हो क्रान्ति ?
समाजमा लामो समयदेखि प्रचलनमा रहेका नियम, कानुन, प्रथा, सोच र व्यवस्थामा एकैपल्ट परिवर्तन आउँछ भने त्यो ‘क्रान्ति’ हो । कसैले इच्छा गर्दैमा क्रान्ति भइहाल्छ भन्ने होइन । क्रान्तिको निमित्त निश्चित ऐतिहासिक अवस्थाहरू परिपक्व हुनु जरुरी छ । क्रान्तिको निम्ति वस्तुगत तथा मनोगत पूर्वाधारहरूको आवश्यकता हुन्छ । समाजको राजनीतिक, धार्मिक र वैचारिक जीवनमा आमूल परिवर्तन आउँछ भने त्यो सामाजिक क्रान्ति हो । क्रान्तिले सत्तामा बस्ने वर्गहरू बदलिन्छन्, राज्यको रूपमा परिवर्तन हुन्छ, पुराना उत्पादन सम्बन्धहरू बिलाउँछन् र नयाँ उत्पादन सम्बन्धहरूले तिनको स्थान लिन्छन् । भाद्र २३ र २४ गते जेनजीको नाममा भएको नयाँ पुस्ताको प्रदर्शनले यस्तो परिवर्तन ल्याएको होइन ।
शोषण, उत्पीडन, बेरोजगारी र गरिबीबाट मुक्ति पाउनको लागि सर्वहारा वर्गले पुँजीवादी व्यवस्थाको उन्मूलन गर्नुपर्दछ । समाजवादी क्रान्ति नै यस उद्देश्य प्राप्तिको लागि एक मात्र साधन हो । समाजवादी क्रान्तिभन्दा पहिलेका सबै क्रान्तिहरूले शोषणको अन्त्य गर्ने उद्देश्य राखेका थिएनन् । तिनले शोषणको रूपसम्म बदल्ने काम ग¥यो । समाजवादी क्रान्तिले भने सबै प्रकारको शोषणको अन्त्य गरेर वर्गविहीन समाज स्थापनाको बाटो लिन्छ । समाजवादी क्रान्तिमा सर्वहारावर्गले पुँजीवादविरुद्ध सङ्घर्ष गर्न कामदार वर्गलाई एकजुट पार्दछ । समाजवादी क्रान्तिको मुख्य लक्ष्य समाजवादी अर्थतन्त्रको निर्माण गर्नु हो । यसर्थ समाजवादी क्रान्ति आवश्यक छ ।
प्रतिक्रियावादी र सुधारवादीहरूले सधैँ समाजवादी क्रान्तिको विरोध गर्छन् । उनीहरूले समाजवादी क्रान्तिको माक्र्सवादी–लेनिनवादी सिद्धान्तको खण्डन गर्ने प्रयास गर्छन् । पुँजीवादी व्यवस्थाको रक्षा गर्ने, मजदुरवर्गलाई क्रान्तिकारी सङ्घर्षबाट विचलित पार्ने सुधारवादीहरूको प्रयास रहन्छ । उनीहरू समाजवादी क्रान्तिको कुनै आवश्यकता नरहेको प्रमाणित गर्ने प्रयास गर्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको ‘निलो क्रान्ति’ को उद्देश्य पनि यही हो । जनता भ्रममा पर्नु हुन्न ।
२०८३ असार १४ गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *